• १० कात्तिक २०८२, सोमबार

प्रभावकारी बन्दै ‘प्यालिएटिभ केयर’

blog

काठमाडौँ, कात्तिक १० गते । क्यान्सर बिरामीका लागि ‘प्यालिएटिभ केयर’ उपचार (अन्तिम चरणको उपचारमा रहेकालाई सान्त्वनासहितको सेवा) प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको भक्तपुर क्यान्सर अस्पतालमा स्थापना भएको ‘प्यालिएटिभ केयर’ बाट धेरै क्यान्सरका बिरामीले ‘प्यालिएटिभ केयर’ सेवा पाइरहेका छन् । 

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले प्यालिएटिभ केयरबाट क्यान्सरको जटिल स्थितिमा पुगेका बिरामीका लागि ठुलो राहत हुने जानकारी गराउनुभयो । उहाँले प्यालिएटिभ केयर उपचारले क्यान्सरका बिरामीलाई हुने असजिलोपना, दुखाइ तथा पीडाबाट कम गराउनुका साथै बिरामीको रोगसँगै आउने समस्यालाई कम गराउँदै लैजाने बताउनुभयो । 

डा. चालिसेका अनुसार क्यान्सरका बिरामीको उपचार सुरु भएदेखि नै प्यालिएटिभ केयरको आवश्यकता पर्छ । रोगले थलिएर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि प्यालिएटिभ केयर अनिवार्य हो । “क्यान्सरको उपचारमा दिइने केमोथेरापी, रेडियोथेरापीका कारण ‘साइड इफेक्ट’ का रूपमा थुप्रै समस्या आउन सक्छन्,” डा. चालिसेले भन्नुभयो, “यसलाई कम गर्न सहज बनाउन पनि प्यालिएटिभ केयर अत्यावश्यक पर्छ ।”

बिरामीलाई अनेक किसिमका मानसिक तनावदेखि शारीरिक, आर्थिकलगायतका तनावले सताउने भन्दै उहाँले प्यालिएटिभ केयरमा बिरामीलाई मनोसामाजिक परामर्शदेखि सहज उपचारको व्यवस्थापन हुन्छ ।”

“क्यान्सर जस्तो दीर्घरोग लाग्यो, अब सक्कियो भन्ने सोचेर बिरामी झनै कमजोर बन्न पुग्छन् । यो अवस्थामा उनीहरूलाई मनोसामाजिक परामर्शसमेत आवश्यकता पर्छ,” डा. चालिसेले भन्नुभयो, “प्यालिएटिभ केयरमा बिरामीलाई उपचार मात्र नभई परामर्शसमेत दिने गरिन्छ ।”

क्यान्सर जटिल अवस्थामा पुग्दा बिरामीमा दुखाइ, पीडा, तनाव, चिन्ता, थकाइ जस्ता समस्याले सताउने गर्छ । उनीहरूलाई लक्षणका आधारमा औषधी दिने र जीवन सहज बनाउने काम प्यालिएटिभ केयरमा गरिन्छ ।

प्यालिएटिभ केयरमा कार्यरत नर्स राधिका मकाजूले प्यालिएटिभ केयर उपचारमा बिरामीको इच्छालाई प्राथमिकता दिने गरेको जानकारी दिनुभयो । उहाँले बिरामीसँग एक परिवारमा जसरी मिलेर बसिन्छ, त्यसै गरी बस्ने गरेको बताउनुभयो । उहाँले भक्तपुर क्यान्सर अस्पतालको प्यालिएटिभ केयरमा उपचार गर्ने बिरामीको जन्मदिन मनाइदिनेदेखि विभिन्न चाडबाडमा बिरामीसँग मनाउने गरेको बताउनुभयो । “प्यालिएटिभ केयरमा उपचार गर्न आउने बिरामी एउटै परिवार जस्तो लाग्छ,” मकाजूले भन्नुभयो, “बिरामीलाई उहाँहरूको इच्छाबमोजिम सहज तरिकाले उपचार गरिन्छ ।”

“प्यालिएटिभ केयर उपचार बिरामीको मृत्यु भए पनि सकिँदैन,” मकाजूले भन्नुभयो, “बिरामीको आफन्तलाई पनि उपचार गरिन्छ ।” प्यालिएटिभ केयरमा भोलि हेरिँदैन, आजलाई मात्र हेर्ने गरिन्छ ।  रोगसँगसँगै क्युरेटिभ उपचार पनि दिइन्छ ।” डा. चालिसेले क्यान्सर बिरामीका असहजता र अप्ठ्याराको उपचार गर्ने विधि नै प्यालिएटिभ केयर रहेको बताउनुभयो । 

सेवा विस्तार गरिँदै 

भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालिएटिभ सेवाको सशक्त विस्तार गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले प्यालिएटिभ सेवा विस्तार गर्ने योजना रहेको बताउनुभयो । “हामीले अस्पतालमा प्याभिएटिभ केयर कोष (फन्ड) समेत स्थापना गरेका छौँ,” डा. चालिसेले भन्नुभयो, “फन्डबाट जम्मा भएको रकम आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क सेवा प्रदान गर्न प्रयोग गरिने छ ।” 

उहाँले भक्तपुर क्यान्सर अस्पतालले अहिले नै देशकै एक सशक्त प्यालिएटिभ केयर युनिट सञ्चालन गरिरहेको र यसलाई थप सुदृढ बनाउने योजनामा रहेको बताउनुभयो । उहाँले अस्पतालले सर्जरी, रेडियसन, केमोथेरापी, इम्युनोथेरापी, ल्याब सेवा, सिटी स्क्यानलगायतका उपचारका सुविधा उपलब्ध गराइरहेको जानकारी दिनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपाल सरकारले हालै २०२५–२०३५ को राष्ट्रिय प्यालिएटिभ केयर रणनीति स्वीकृत गरिसकेको जानकारी दिनुभयो । उहाँले उक्त रणनीतिले देशभर प्यालिएटिभ सेवा विस्तारमा ठुलो भूमिका खेल्ने बताउनुभयो । 

डा. चालिसेका अनुसार लायन्स क्लब अफ बागमती क्यान्सर केयरले एक लाख, डिके मेडिसेल्सले पाँच लाख रुपियाँ बराबरको सहयोग, इस्ट वेस्ट कन्सर्नले दुई लाख र श्रीमती उषा दीक्षितले एक लाख रुपियाँ भक्तपुर क्यान्सर अस्पताल प्यालिएटिभ केयर फन्डमा जम्मा गर्नुभएको छ । 


Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।