पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेँसीमा रहेको पुल २०५१ साल साउनमा आएको बाढीले बगायो । राजधानीसँग जोड्ने मुख्य राजमार्ग नै ठप्प हुँदा आवतजावतसँगै अत्यावश्यक वस्तुको ढुवानीमा ठूलो समस्या भयो । निरन्तरको वर्षा र पहिरोले वैकल्पिक सडक तयार गरी सडक सुचारु गर्ने अवस्था भएन ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अवरुद्ध राजमार्ग खुलाउन अनेक प्रयास ग-यो । कमजोर भूबनोटको कारण पहिरो झन् थपिन थाल्यो । नेपाली सेनाले भारतबाट बेलिब्रिज मगाएर हप्ता दिनपछि राजमार्ग सञ्चालनमा ल्यायो ।
गत वर्ष सिन्धुपाल्चोकको भेमाथानमा गएको पहिरोसँगैको बाढीले हेलम्बु–मेलम्ची क्षेत्रका दर्जनौँ पुल बगे । मेलम्ची र हेलम्बु तथा राष्ट्रिय गौरवको खानेपानी आयोजना मेलम्चीको मुहानसम्म पुग्ने चनौटे बजारको रातोपुल बगाउँदा महिनौँसम्म आवतजावत अवरुद्ध भयो । गत वर्ष नै वर्षाको बाढीले बगाएका पूर्व–पश्चिम राजमार्गको दर्जनौँ ठाउँ अवरुद्ध भए । राष्ट्रिय महत्त्वका कालिगण्डकी करिडोर, कर्णाली राजमार्ग पनि लामो समय अवरुद्ध भयो ।
प्रत्येक वर्ष यस्ता प्राकृतिक विपत्ति भोग्दै आएका छौँ । राजमार्ग अवरुद्ध भए वा कुनै सङ्कट आए तत्काल समाधान गर्न केही संरचना पनि तयार छन् । प्राकृतिक प्रकोप वा कुनै दुर्घटनाका कारण पुल भत्किएर राजमार्ग बन्द हुनसक्ने जोखिमयुक्त स्थानहरूमा बेलिब्रिज तयारी अवस्थामा राखिएका छन् । उद्धार तथा राहतका लागि परिचालन हुने गरी हरेक प्रदेशमा सुरक्षा निकायसहित विपत् व्यवस्थापनसँग सरोकार राख्ने विभिन्न निकाय पनि तयारी अवस्थामा छन् ।
हिन्द महासागरबाट बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने मनसुनी वायुले नेपालमा वर्षा गराउँछ । यो वर्षाको कारण नेपालमा बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ । जेठदेखि असोजसम्म सक्रिय रहने यो मनसुनी वायुले ८० प्रतिशत वर्षा गराउँछ । यही वर्षाका कारण नेपालका साना ठूला गरी छ हजार नदीनालामा पानीको सतह र बहाव बढ्छ ।
तटीय क्षेत्र कटानसँगै कैयाैँ बस्तीमा बाढीले वितण्डा मच्चाउँछ । पछिल्ला दुई दशकका घटना हेर्ने हो भने बाढी, पहिरो, डुबानबाट ८६ प्रतिशत घरधुरीका करिब डेढ करोडभन्दा बढी जनसङ्ख्या प्रभावित बनेका छन् ।
पछिल्ला १० वर्षको तथ्याङ्क हेर्ने हो भने बाढीपहिरो र डुबानका मात्र पाँच हजार ८२५ वटा घटना भए । मनसुनजन्य घटनाबाट मात्र दुई हजार ३६२ जनाले अकालमा ज्यान गुमाए । ८८० जना बेपत्ता भए । मुलुकले ती विभिन्न घटनामा १९ अर्ब आठ करोड ३७ लाख ९७ हजार रुपियाँ बराबरको क्षति भोग्नु प-यो । हवाई तथा सडक दुर्घटना, आगलागीलगायतका घटनाको तथ्याङ्क पनि जोड्ने हो भने जनधनको क्षतिको आँकडा दोब्बरभन्दा बढी हुन्छ ।
प्रत्येक वर्ष बाढीले पु-याएको क्षति पुनर्भरण गर्न सरकारलाई पनि हम्मेहम्मे पर्ने गरेको छ । बढ्दो प्राकृतिक प्रकोपका घटनासँगै यसको न्यूनीकरणका लागि विशेष अध्ययन गर्न अब राज्यको ध्यान जानुपर्ने देखिन्छ ।
भूगर्भविद् तथा त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डा. सुवोध ढकालका अनुसार अधिकांश प्राकृतिक प्रकोपका घटना हामी आफैँले निम्त्याइरहेका छौँ । भौगोलिक अवस्थाको अध्ययन नगरी निर्माण भइरहेका सडक, बाटो, संरचना तथा अव्यवस्थित सहरीकरण नै विपत्तिको मुख्य कारण हो । समथर जमिन र खोला छेउमा खाली जग्गा पायो कि घर बनाइहाल्ने तथा स्थानीय जनप्रतिनिधिबीच डोजर किन्ने र जथाभावी सडक खन्ने प्रतिस्पर्धाले भविष्यमा यस्ता घटना अझै बढ्न सक्छ । एक अध्ययनले नेपालको भौगोलिक अवस्था आफैँमा संवेदनशील रहेको देखाएको छ । भारतीय र तिब्बतीय प्लेटको बीचमा अवस्थित नेपालको माथिल्लो जमिन पनि चलायमान रहेको बताइन्छ । प्लेटहरू क्रमशः उत्तरतर्फ सर्दै जाँदा उत्पन्न हुने कम्पनले जमिन कमजोर बनेको छ ।
भूकम्पले क्षति पु-याएका जमिन र बाढी पहिरोले समथर बनेका भूभागमा अन्धाधुन्ध बस्ती बस्ने क्रम तीव्र छ । जमिनको बाहिरी चट्टान वर्षा र पानीले माटोमा परिणत भई बाढीपहिरोको रूपमा समथर भूभागमा थुप्रिनाले खोलानालाको सतह माथि आइरहेको छ । यसले पानीको बहाव बस्तीतर्फ जान थालेको छ । चुरे क्षेत्रको जमिन झनै कमजोर मानिन्छ । यो जमिन रुखविरुवा रोपेर संरक्षण गर्नुपर्नेमा उल्टै दोहन भइरहेको छ जसका कारण प्रत्येक वर्ष बाढीपहिरोले थप विनाश गरिरहेको छ ।
न्यूनीकरण नीतिमै सीमित
झन्डै दुई दशकदेखि विपत्तिबाट बच्न विभिन्न प्रयास भए तर ती कागजमा सीमित रहे । मनसुनी वर्षाबाट हुने विपत्ति, रोकथाम, न्यूनीकरण गर्न वि.सं. २०६० मा गृह मन्त्रालयले २६ बुँदे प्रतिकार्य योजना सार्वजनिक ग-यो । वि.सं. २०६६ मा प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति ल्याइयो । वि.सं. २०६७ मा थप परिमार्जनसहित विपत् पूर्वतयारी तथा प्रतिकार्य मार्गदर्शन जारी भयो तर कार्यान्वयन भएनन् ।
गत हप्ता गृहमन्त्रालयले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९’ सार्वजनिक गरेको छ । सम्भावित विपत्तिबाट जनधनको सुरक्षा गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत १४ वटा संस्थालाई संयुक्त रूपमा परिचालन गर्ने तयारी छ । मनसुन सुरु हुनपूर्व गरिएका पूर्वतयारी अभ्यासले योजनाबद्ध रूपमा प्रतिकार्य तथा उद्धारका कामलाई सघाउने नै छ । सरकारले झन्डै सात अर्ब रुपियाँ निकासा गरी आवश्यक स्रोतसाधन केन्द्र, प्रदेश र स्थानीय निकायसम्म परिचालन गर्न निर्देशन पनि दिइसकेको छ ।
सेना, प्रहरी र सशस्त्रसँगै सङ्घीय तथा प्रदेश मन्त्रालयहरू, जिल्ला तथा स्थानीय विपत् व्यवस्थापन टोली तयारी अवस्थामा छन् । केन्द्रीय विषयगत क्षेत्र, (सेन्ट्रल क्लष्टर), विपत् व्यवस्थापन तथा आपत्कालीन कार्य सञ्चालनमार्फत विवरण सङ्कलन, जनचेतनासँगै आवश्यक पहल गरिरहेका छन् ।
जल तथा मौसम विज्ञान विभागबाट सम्भावित घटनाको पूर्वानुमान गरी विशेष बुलेटिनसहित सूचना सम्प्रेषण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका विभागले आफ्नो जिम्मेवारी अनुरूप तयारी पूरा गरेका छन् ।खानेपानी मन्त्रालय, खाद्य तथा पोषणसम्बन्धी सरोकारवाल निकायहरूले आवास, खाद्यान्नलगायत शुद्ध पानीको व्यवस्थापन गरी प्रभावित हुनसक्ने जनसङ्ख्या र क्षतिको पूर्वानुमान अनुरूप तयारी अवस्थामा राखिएको छ ।
मनसुनजन्य वर्षाका कारण यसवर्ष चार लाख २१ हजार घर तथा २० लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । विपत्को व्यवस्थापन तथा उद्धारमा
पूर्वतयारीसहित तालिम प्राप्त जनशक्ति परिचालन गरिएन भने उद्धार टोली नै थप जोखिममा पर्न सक्छ । घटनाको प्रकृतिअनुसार उद्धार तथा खोजमा परिचालन हुने टोलीलाई
‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) भौगोलिक अवस्थाअनुसार सुरक्षाका उपाय अवलम्बन गरी माथिल्लो निकायबाट जारी नीति/निर्देशन /परिपत्र पालना गर्न लगाइन्छ ।
नेपाली सेनाले सम्भावित विपत् र दुर्घटनाको उद्धार तथा खोजका लागि विशेष तालिम प्राप्त टोली परिचालन गर्दै आएको छ । यसका लागि सेनाले विपत् व्यवस्थापन निर्देशनालय र राष्ट्रिय विपत् व्यवस्थापन शिक्षालय नै स्थापना गरी पूर्वतयारीसहित तैनाथी अवस्थामा राखेको छ । देशका ७७ वटै जिल्लाका गण तथा पल्टुनबाट एक हजार २७६ जना तालिम प्राप्त सैनिक जुनसुकै विपत्को खोज तथा उद्धार परिचालन हुने गरी तयारी अवस्थामा राखिएको छ । चार कमाण्ड हेटक्वाटरबाट हेलिकप्टर, जहाजसहित फायर फाइटिङ, वाटरमेनसिप, रोप रेस्क्यु, सीएसएसआर, एमएफआरसहितका आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको छ ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जस्तोसुकै विपत्ति र दुर्घटनाको खोज तथा उद्धारका लागि सेना तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले सुरक्षाका हरेक विषयलाई सूक्ष्म रूपले अध्ययन, विश्लेषण गरी त्यही अनुरूप रणनीति तयार गरिनेसमेत जानकारी दिनुभयो ।
सेनाले बाढी तथा डुबान क्षेत्रको पहिचान गरी सम्भावित स्थानमा ७१ वटा मोटरबोट, ८० रबरबोटसहित १८० जना स्विफ्ट वाटर सर्च एन्ड रेस्क्यु (एसडब्ल्युएसआर) तथा ९३ जना स्कुबा डाइभिङ टोली तयारी अवस्थामा राखेको छ । बाढी पहिरोबाट देशका मुख्य राजमार्ग अवरुद्ध भए तुरुन्तै सञ्चालन गर्ने गरी सेना तयारी अवस्थामा छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जीतपुर, चितवनको नारायणघाट तथा राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी र काठमाडौँको नागढुङ्गामा चार वटा आकस्मिक पुल (एक्रोब्रिज) तत्काल जोड्न सक्ने गरी तयारी अवस्थामा राखिएका छन् । नौ हजार ७१६ जना तालिम प्राप्त थप सैनिकलाई जस्तोसुकै अवस्थामा परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएका छन् ।
समथर जमिन र खोला छेउमा खाली जग्गा पायो कि घर बनाइहाल्ने तथा स्थानीय जनप्रतिनिधिबीच डोजर किन्ने र जथाभावी सडक खन्ने प्रतिस्पर्धाले भविष्यमा यस्ता घटना अझै बढ्न सक्छ ।
‘सामुदायिक विपत् प्रतिकार्य’ अन्तर्गत २० हजार ३६३ जना स्थानीयलाई सेनाले सचेतना तालिम प्रदान गरेको छ । सङ्घीय तथा प्रदेश सरकार तथा जिल्ला सुरक्षा समिति मातहत रही नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल पूर्वतयारी सँगै खोज तथा उद्धारका लागि स्थानीयलाई पनि तयारी अवस्थामा राखिएको हो ।विपत् व्यवस्थापनसम्बन्धी निर्देशिका अनुसार तीन वटै सुरक्षा निकाय आगलागी, भूकम्प, बाढी, पहिरो, खोज तथा उद्धार कार्य र अन्य विपत्मा परिचालन हुने गरेका छन् । समयमै परिचालन भएका कारण २०७२ सालको विनाशकारी भूकम्पमा सेनाले भग्नावशेषमा पुरिएका एक हजार ३३६ जनाको जीवितै उद्धार गरी २३ हजार ५९४ जनालाई सुरक्षित स्थानमा सार्न सफल भएको थियो । विभिन्न हिमाल आरोहणका क्रममा रहेका ९९९ जना आरोहीसहित दुई हजार ९२८ जनालाई उद्धार गरिएको थियो ।
उद्धार पूर्वतयारी
प्राकृतिक विपत्तिलगायत विभिन्न दुर्घटनामा उद्धार गर्न जानुपूर्व तालिम प्राप्त जनशक्ति, उद्धारका सामग्री तयारी अवस्थामा राखिएका छन् । सरोकारवाला निकायसँग समय–समयमा विपत् प्रतिकार्यसम्बन्धी संयुक्त अभ्यासहरू समेत सञ्चालन हुँदै आएका छन् । घटनास्थलमा छिटोभन्दा छिटो पुग्न समय समयमा सुरक्षा फौजलाई यससम्बन्धी तालिम दिने काम पनि भइरहेको छ । घटनाको प्रकृतिअनुसार उद्धार विधिका लागि उपलब्ध स्रोत/साधनहरूको प्रयोग गर्ने गरिएको छ ।
बाढी, पहिरो, डुबान, आगलागी वा दुर्घटनाको उद्धारमा परिचालन हुनपूर्व बाढी, पहिरो र डुबानका लागि वाटरमेनसिप, आगलागी नियन्त्रणका लागि फायर फाइटिङसम्बन्धी तालिम÷अभ्यास सञ्चालन गर्ने, घटनाको प्रकृतिअनुसार उद्धार विधिका लागि उपलब्ध स्रोत/साधनहरूको पहिचान गरी सोहीअनुसार परिचालनका लागि तयारी अवस्थामा राखिएको छ ।
सम्भावित विपत्को क्षेत्रहरूको पहिचान, उच्च जोखिममा रहेका गाउँबस्तीहरू सुरक्षित स्थानमा स्थानन्तरण, बाढीको जोखिममा रहेको खोला तथा नदीहरूमा तटबन्ध निर्माण, विपत्मा परेकालाई आवश्यक पर्ने खाद्यान्न भण्डारण तथा शुद्ध पानीको स्रोत संरक्षण, औषधि र स्वास्थ्य केन्द्रको व्यवस्था तथा उद्धार/राहत सामग्रीहरूको बन्दोबस्ती तयारी अवस्थामा राख्ने काम भइरहेको छ ।
यसबाहेक आपत्कालीन योजना निर्माण र पूर्वचेतावनी प्रणालीको स्थापना, पहिरो जानसक्ने स्थानमा वृक्षरोपण, तटबन्ध निर्माण, शुद्ध पानीको स्रोत संरक्षणलाई प्राथमिकता दिनुपर्छ । डुबान प्रभावित क्षेत्रको पहिचान, बस्ती स्थानान्तरण, आगलागी हुनसक्ने स्थानको पहिचान गरी उपलब्ध फायर फाइटिङका सामान तयारी अवस्थामा राखी आगलागीको खबर प्राप्त हुना साथ फायर फाइटिङ टोलीलाई पूर्वनिर्धारित अवस्थामा पुग्ने गरी तयारी अवस्थामा राखिएको छ ।
अति संवेदनशील स्थान जस्तै : पेट्रोल पम्प, विष्फोटक पदार्थ भण्डार कक्षमा कारणवश आगलागी हुन गएमा तुरुन्त रोकथाम हुनबाट जोगाउन सर्वप्रथम पेरिमिटर स्ट्यान्ड टु मा गई थप जनशक्ति परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको हुन्छ ।
चुनौती
खोज तथा उद्धारमा खटिने टोलीसँग आवश्यक उपकरण तथा साधनस्रोतको अभाव रहेको गुनासो पटक पटक सुनिने गरेको छ । प्रभावित दुर्गम तथा विकट स्थानमा हवाई साधनबाट पुग्नुपर्ने अवस्था छ तर हेलिप्याड सीमित स्थानमा छन् । दुर्गम स्थानमा राज्यका अन्य निकायको उपस्थिति नहुँदा आवश्यक स्रोतसाधन परिचालन गर्न समस्या उत्पन्न हुने गरेको छ ।
कठिन भौगोलिक बनावटका स्थानमा ‘ट्याक्टिकल लेभल सर्च एण्ड रेस्क्यू’ द्वारा खोज तथा उद्धार कार्य गर्न आधुनिक उपकरण नहुँदा उद्धार टोली नै जोखिममा पर्ने अवस्था छ । आवश्यक उपकरण उपलब्ध नहुँदा उद्धार तथा खोजमा विलम्ब हुनसक्ने अवस्था छ । तराई, पहाड र हिमाली भेगमा गरिने उद्धार तथा खोजमा अत्यावश्यक पर्ने विशेष उपकरण उपलब्ध छैनन् ।
गाडी तथा बारुणयन्त्र जान नसक्ने स्थानमा हाते उद्धार सामग्री बोकेर उद्धारकर्मीले आगलागी नियन्त्रण गर्न सक्छन् । थोरै पानी तथा केमिकलको प्रयोग गरेर पनि आगलागी नियन्त्रण गर्न सक्छन् तर यस्ता सामग्री उद्धारकर्मीलाई दिन सकिएको छैन । फेरि विपत्को समयमा दूरसञ्चारका सेवा अवरुद्ध हुँदा समन्वयमा कठिन पर्ने गरेको छ । उद्धार तथा राहत कार्यमा प्रदेश सरकार तथा स्थानीय निकायले स्थानीय तहबाट नै गर्न सकिने उद्धार कार्यमा जाँगर देखाउन सकेका छैनन् ।
विपत्तिबाट बच्न जनचेतना र पूर्व सर्तकता नै महत्त्वपूर्ण मानिन्छ । घटना हुनुभन्दा पहिले गरिएका पूर्वतयारीबाट ठूलो जनधनको क्षति कम हुनसक्छ । यसको उदाहरणका रूपमा गत वर्षको असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा आएको बाढीलाई नै लिन सकिन्छ । स्थानीय रेडियो मेलम्चीले खोेलामा बाढी आउँदै गरेको सूचना समयमा नै प्रवाह गरेका कारण तटीय क्षेत्रका धेरै बासिन्दा भाग्न सफल भए । यद्यपि पाँचजनाले ज्यान गुमाउनु प-यो भने २१ जना बेपत्ता भए ।
पूर्वसर्तकता र जनचेताको कमीका कारण १९९० साल माघ २ को भूकम्पमा झन्डै ३० हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाउनु प-यो । २०४५ साल भदौ ५ गते र २०७२ साल वैशाख १२ को भूकम्पमा पनि यही नियति दोहोरियो । त्यसैले पूर्वतयारी अवस्थामा बस्ने हो भने यस्ता विपत्तिमा पनि जनधनको क्षति कम हुन्छ ।