विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ७ गते । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा खाँडो खोलाको पानी बाँध बाँधेर खेतमा पुर्याइएको छ । गाउँपालिकाको वडा नम्बर १ तिलाठी र वडा नम्बर २ लौनियाँका सयौँ विघा खेतमा यसरी सिंचाइ पुगेको हो ।
गाउँपालिकाको विपद् व्यवस्थापन शाखा र सम्बन्धित वडाको संयुक्त पहलमा खाँडो खोलामा अस्थायी बाँध निर्माण गरी खेतमा पानी पुर्याइएको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार करिब पाँच सय विघा खेतमा लगाइएको धानबालीलाई यसबाट प्रत्यक्ष लाभ पुगेको छ । “खोलामा खेर गइरहेको पानीलाई नियन्त्रण गरी खेतमा पुर्याउँदा किसानले राहत अनुभव गरेका छन्,’’ उहाँले भन्नुभयो ।
यसअघि लामो समयसम्म वर्षा नहुँदा खेत सुक्न थालेका थिए । सिंचाइका लागि प्रयोग हुने ट्युबवेल र बोरिङमासमेत पानी नआएपछि किसान गम्भीर संकटमा परेका थिए ।
यस्तो अवस्थामा खोलाको पानी खेतमा पुगेपछि धानबालीले नयाँ जिवन पाएको वडा नम्बर २ का वडाअध्यक्ष कमल मंडलले बताउनुभयो । अब यो दुइटा वडामा खडेरीको प्रभाव पर्ने छैन, वडाध्यक्ष मंडलले भन्नुभयो ।
उहाँकाअनुसार खडेरीका कारण पीडित किसान अहिले हर्षित भएका छन् । धान रोपाइँ भइसकेको तर पानी अभावले मर्न थालेको बालीलाई खोलाबाट आएको पानीले जोगाएको स्थानीय किसानले बताएका छन् । बाँध निर्माणपछि त्यसको संरक्षण गर्न त्यहाँका किसानहरुले पालो लगाएको छ ।