• ७ भदौ २०८२, शनिबार

जयपृथ्वीबहादुर सिंहका विचार र योगदानमाथि केन्द्रित दुई कृति विमोचन

blog

सुरेश धामी 

बझाङ, भदौ ७ गते । राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९औँ जन्मजयन्तीको अवसरमा बझाङमा दुई महत्वपूर्ण पुस्तक विमोचन गरिएको छ । 

शनिबार जयपृथ्वी नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले डा. स्टेफन लुइडद्वारा लिखित ‘विश्वबौद्धिक इतिहासमा जयपृथ्वीबहादुर सिंह’ र जयपृथ्वीबहादुर सिंहकै कृति ‘श्रेस्तादर्पण’ सार्वजनिक गर्नुभयो ।

डा. स्टेफन लुइडले लेखेर मिनबहादुर सिंहद्वारा प्रकाशित विश्वबौद्धिक इतिहासमा जयपृथ्वीबहादुर सिंह पुस्तकमा राजा सिंहको जीवन परिचय, निर्वासनमा बिताएका कठिन दिनहरू, शिक्षा, मानवतावादी दृष्टिकोण र सभ्यतागत योगदानलाई विश्व बौद्धिक इतिहाससँग जोड्ने प्रयास गरिएको छ ।

त्यस्तै, श्रेस्तादर्पण पुस्तकमा तत्कालीन श्री ३ र श्री ५ सरकारका प्रशस्तिपत्र, चौतरिया र रजौटाका लिखत, पत्राचार शैली, तथा जयपृथ्वीबहादुर सिंहले आफैंले तयार पारेका ऐतिहासिक दस्तावेज संकलन गरिएको छ ।

पुस्तक विमोचनपछि बोल्दै पूर्वमन्त्री जोशीले यी दुवै कृतिहरू इतिहासको अभिलेख मात्र नभई हालको राजनीतिक, सामाजिक र शैक्षिक परिवेशमा पनि महत्वपूर्ण हुने टिप्पणी गर्नुभयो । 

उहाँले जयपृथ्वीबहादुर सिंहका विचार र योगदानलाई भावी पुस्ताले अध्ययन र आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विमोचन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, साहित्यकार, शिक्षक, पत्रकार, विद्यार्थीलगायतको उत्साहजनक सहभागिता रहेको थियो । 

गोरखापत्रकर्मी रोकाया ‘जयपृथ्वी पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित

यसैबिच मानवतावादी राजा तथा राष्ट्रिय विभूति जयपृथ्वी बहादुर सिंहको १४९औँ जन्मजयन्तीको अवसरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले गोरखापत्र दैनिकका जिल्ला समाचारदाता तथा महासंघका निवर्तमान अध्यक्ष शैलेन्द्र रोकायालाई ‘जयपृथ्वी बहादुर सिंह लेखनवृत्ति पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरेको छ ।

उहाँसंगै नरेश स्मिृती पत्रकारीता पुरस्कार राससमा कार्यरत पत्रकार रमेश केसी र जनमुखी एफएममा कार्यरत पत्रकार अञ्जु खड्कालाई दिइएको प्रदान गरिएको छ ।

प्रत्येक वर्ष जयपृथ्वी जयन्तीका अवसरमा वितरण गरिने यो पुरस्कार यस वर्ष रोकायालाई प्रदान गरिएको हो । १९ वर्षदेखि बझाङमै रहेर पत्रकारिता गर्दै आएका रोकायाले यस सम्मानलाई आफ्नो लागि ठूलो प्रेरणाका रूपमा लिएको बताएका छन् ।

सम्मानपछि प्रतिक्रिया दिँदै रोकायाले भन्नुभयो, “यो पुरस्कार पाउनु मेरा लागि गौरवको विषय हो । यसले मलाई अझ बढी जिम्मेवार, अनुशासित र जनपक्षीय पत्रकारितामा समर्पित रहन हौसला दिएको छ ।”