ढाका, भदौ ७ गते । पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा जानु भएको छ । सन् १९७१ मा पृथक भएका दुई राष्ट्रबिच सम्बन्ध सुधार्ने प्रयास स्वरूप भएको यो भ्रमण विगत दशकमा उच्चस्तरीय पहिलो भेटवार्ता हो ।
इस्लामाबादले यस भ्रमणलाई ‘पाकिस्तान-बंगलादेश सम्बन्धमा एक महत्वपूर्ण उपलब्धि’ भएको बताएको छ । दुई देशबिच व्यापार लगायत विभिन्न क्षेत्रमा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डारले बंगलादेशका वर्तमान कार्यवाहक नेता, नोबेल शान्ति पुरस्कार विजेता डा. मोहम्मद युनुससँग भेटवार्ता गर्नु हुने छ ।
भारतको दृष्टिकोण
यस्तो पृष्ठभूमिमा छिमेकी राष्ट्र भारतले यस भ्रमणलाई विशेष ध्यानका साथ हेरिरहेको विश्लेषकले बताउनु भएका छन् । गत वर्षको मे महिनामा भारत र पाकिस्तानबिच छोटो अवधिको सशस्त्र संघर्ष भएको थियो । साथै, सन् २०२४ को जुलाई महिनामा बंगलादेशमा भएको व्यापक जनआन्दोलनले प्रधानमन्त्री शेख हसिनाको शासन अन्त्य भएपछि, उहाँ भारततर्फ प्रस्थान गर्नुभएपछि, ढाका-नयाँ दिल्ली सम्बन्धमा चिसोपन देखिएको हो ।
“बंगलादेश अतीतमा भारतको सबैभन्दा नजिकको साझेदार रहँदै आएको थियो, तर अहिले भारतको मुख्य प्रतिद्वन्द्वी मुलुकसँग सुमधुर सम्बन्ध बनाउने प्रयासमा रहेको देखिन्छ,” अमेरिकी विश्लेषक माइकल कुगेलम्यानले बताउनुभयो ।
व्यापार र सुरक्षा क्षेत्रको सहकार्य
पाकिस्तान र बंगलादेशले विगत वर्ष समुद्री मार्ग हुँदै व्यापार प्रारम्भ गरेका थिए । यस वर्षको मार्च सरकारी तहमा व्यापार विस्तार सम्बन्धी सम्झौता गरिएको थियो । पाकिस्तानका वाणिज्य मन्त्री जाम कमाल खान हालै ढाका पुग्नुभएको थियो, जहाँ उहाँले बंगलादेशी अधिकारीसँग व्यापार र लगानी प्रवद्र्धनका लागि संयुक्त आयोग गठन गर्ने सहमति जनाउनुभयो । त्यसै गरी, शुक्रबार दुबै मुलुकका उच्च सैनिक अधिकारीहरूबिच पाकिस्तानमा भेटवार्ता सम्पन्न भएको थियो ।
ऐतिहासिक पृष्ठभूमि
सन् १९७१ मा पूर्वी पाकिस्तान अलग भई बंगलादेशको स्थापना भएपछि, ती दुबै देशबीचको सम्बन्ध निकै संवेदनशील रहँदै आएको छ । सो युद्धको क्रममा पाकिस्तानी सेनामाथि व्यापक हिंसा र अत्याचारको आरोप लाग्दै आएको छ । बंगलादेशका अनुसार लाखौं नागरिकले ज्यान गुमाएका थिए । धेरै नागरिकहरूले आज पनि पाकिस्तानबाट औपचारिक माफीको अपेक्षा राखेका छन् ।
स्वतन्त्रता पछि बंगलादेशले भारतसँग नजिकको सम्बन्ध राख्दै आएको थियो । भारतले चारैतिरबाट घेरेको बंगलादेश हाल झण्डै १७ करोड जनसंख्या भएको मुलुक हो । तर वर्तमानमा कार्यरत अन्तरिम सरकारले भारतको भूमिमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई संरक्षण दिइएकोप्रति असन्तुष्टि जनाउँदै आएको छ । हसिनामाथि मानवता विरोधी अपराधको आरोपमा मुद्दा चलिरहेको भए पनि उहाँ अदालतमा हाजिर हुन अस्वीकार गर्दै भारतमै बस्नु भएको छ ।
“शेख हसिनाको सत्ताच्युत हुनु भारतका लागि रणनीतिक दृष्टिले ठूलो धक्का थियो । यसपछि पाकिस्तान-बंगलादेश सम्बन्धमा देखिएको सुधार त्यसको प्रत्यक्ष परिणाम हो,” अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक थोमस कीनले भन्नुभयो ।
हालै ढाकाले भारतमाथि निषेधित घोषित अवामी लिग पार्टीलाई समर्थन गरेको आरोप लगाएको थियो । भारतले भने यस्तो आरोप अस्वीकार गर्दै आफ्नो भूमिबाट अरू देशविरुद्ध राजनीतिक गतिविधि हुन नदिने स्पष्ट पारेको छ । रासस/एएफपी