• ३ साउन २०८२, शनिबार

खाडीको ज्ञान, सुरक्षित उद्धार अभियान

blog

काठमाडौँ, साउन ३ गते । भाषिक समस्या, मौसमी प्रतिकूलताका कारण खाडी मुलुकको श्रमबजार कठिनपूर्ण मानिन्छ । यी अनेक समस्यालाई चिर्दै केही नेपाली ती मुलुकमा बसेर व्यावसायिक तथा आर्थिक सफलता मात्र हासिल गरेका छैनन्, आफूले सिकेको ज्ञान र सिप नेपालमा निःशुल्क रूपमा उपलब्ध गराउन खटिरहेका छन् । 

वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेट्स (युएई) मा सिकेको अनुभव (सुरक्षित उद्धार) ‘योगदान राष्ट्रका लागि’ अभियान देशभर सञ्चालन गरिएको यस अभियानका संयोजक ओम उप्रेतीले जानकारी दिनुभयो । अभियानमार्फत खोला तथा पोखरीमा डुबेरका व्यक्तिको सुरक्षित उद्धार गरी अकाल मृत्युबाट कसरी जोगाउने ?

करेन्ट लागे के गर्ने ? सर्पलगायत विषालु जीवजन्तुले टोके कसरी बच्ने, आगलागीमा परेकालाई कसरी सुरक्षित उद्धार गर्ने, दुर्घटनामा परी वा अन्य कारणले बेहोस व्यक्तिको कसरी सुरक्षित उद्धार गर्नेलगायत प्रयोगात्मक तथा सचेतना अभिवृद्धि भइरहेको छ ।

प्राकृतिक तथा दैवी प्रकोपमा परी अकाल मृत्युवरण हुने अवस्था अन्त्य गर्न उप्रेतीले सन् २०१८ मा दुबईबाट थालेको ‘योगदान राष्ट्रका लागि’ अभियान ६० भन्दा बढी जिल्लामा विस्तार भइसकेको छ । अभियानमार्फत विज्ञहरूबाट स्थानीयस्तरमा दक्ष उद्धारकहरू तयार गर्ने अभियान थालिएको छ । उहाँका अनुसार अमेरिका, क्यानडा, बेलायत, दक्षिण कोरियाले अपनाउँदै आएको उद्धार तथा प्राथमिक उपचार तालिम निःशुल्क प्रदान गरिँदै आएको छ । उहाँले भन्नुभयो, “हाम्रोमा अझै पनि परम्परागत शैलीमा उद्धार गरी अस्पतालसम्म पु¥याउने चलन छ । यसले अकाल मृत्यु रोक्न सकिँदैन । सुरक्षित उद्धारमार्फत उपयुक्त प्राथमिक उपचार विधिबाट अकाल मृत्यु रोक्ने हाम्रो प्रयास हो ।” 

उप्रेती आफैँ पनि अन्तर्राष्ट्रिय तालिम प्राप्त दक्ष प्रशिक्षक रहेकाले दुबईमा ‘लाइफ गार्ड कम्पनी’ सञ्चालन गर्दै आएको बताउनुहुन्छ । उहाँका अनुसार यो कम्पनीले युएईलगायतका खाडी मुलुकमा नदी तथा पोखरीमा उद्धारक (सुरक्षा गार्ड) तयार गर्ने र परिचालन गर्ने काम गर्दै आएको छ । बेलायतबाट उद्धारसम्बन्धी विशेष तालिम लिएपछि २०७४ चैत १ गते चितवनबाट यो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । पहिलो चरणमा चितवन र धादिङबाट सुरु गरिएको अभियान स्थानीय तहसम्म फैलिने क्रममा रहेको छ ।

तालिम उपयोगी, सान्दर्भिक 

सोलुखुम्बु महाकुलुङ गाउँपालिका प्रमुख सूर्य कुलुङ अभियानमार्फत प्रदान गरिएको तालिम अत्यन्तै उपयोगी र समयसान्दर्भिक रहेको बताउनुभयो । उहाँले यस्तो तालिम देशभर पु¥याउन सके धेरै मानिसलाई मृत्युको मुखबाट बचाउन सकिने उल्लेख गर्नुभयो ।

अभियानमार्फत विभिन्न दुर्घटना, आत्महत्या प्रयास, छारेरोगलगायतका समस्याका कारण बेहोस बनेका बिरामीको सुरक्षित उद्धारसँगै प्राथमिक उपचार विधि उपयोगी रहेको धादिङ बेनीघाट गाउँपालिका प्रमुख विवेश थपलिया बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले भदौदेखि पालिकाका सबै नागरिकलाई यो तालिम दिने तयारी गरेका छौँ ।” 

विदेशमा रहेका नेपालीले नेपालमा केही गरौँ भनी ‘योगदान राष्ट्रका लागि’ सुरु गरेको अभियान देशप्रतिको प्रेमभाव र मातृभूमिप्रतिको अगाध प्रेमको रहेकाले यसलाई सकारात्मक लिनुपर्ने राष्ट्रिय सेवा दलका पूर्वकार्यकारी महानिर्देशक पूर्वउपरथी सुरेशकुमार कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस संस्थाले गरेका विभिन्न तालिममा म आफैँ सहभागी बनेँ, यो तालिम विशिष्टीकृत र अत्यन्तै उपयोगी छ ।” नेपालमा निःशुल्क सेवाभावका साथ थालिएको यस अभियानलाई सबैले साथ दिनुपर्ने उहाँले बताउनुभयो । ‘योगदान राष्ट्रका लागि’ मार्फत विभिन्न तालिम र उद्धार सामग्री वितरणका लागि संस्थापक अध्यक्ष उप्रेतीले हालसम्म व्यक्तिगत रूपमा १० करोड रुपियाँभन्दा बढी खर्च गरेको जानकारी दिनुभयो । अभियान देशव्यापी बनाउने र उपकरणसहित कार्यालय नै स्थापना गर्न सुरु भएकाले अभियानमा जोडिएका सदस्यद्वारा इच्छादानमार्फत स्रोत व्यवस्थापन गरी अभियानलाई थप विस्तार गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।