• १७ मङ्सिर २०८२, बुधबार

पाँचौँ बुद्धभूमि महोत्सव सम्पन्न

blog

डान्स आइडियलको उपाधि जितेपछि खुसीयाली मनाउँदै । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, मङ्सिर १७ गते । कपिलवस्तुको बुद्धभूमिमा सञ्चालित पाँचौँ बुद्धभूमि महोत्सव सम्पन्न भएको छ । मङ्सिर ४ गतेदेखि सञ्चालनमा आएको महोत्सवमा लुम्बिनी प्रदेशसभा सदस्य नवराज लामिछानेले समापन गर्नुभयो ।

समापनमा बोल्दै सदस्य लामिछानेले मेला महोत्सवले स्थानीयरुपमा उत्पादन भएका सामग्रीको प्रचार प्रसारमा भूमिका खेल्ने बताउनुभयो । महोत्सव अन्तर्गत सञ्चालन भएको बुद्धभूमि डान्स आइडियल प्रतियोगिताको उपाधि एलीसा थारुले जित्नुभएको छ । 

उहाँले उपहार स्वरूप चाँदीको ताज, ट्रफिसहित २ लाख १५ हजार मूल्यको इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नुभयो । दोस्रो हुने समिरा कुँवरले ५० हजार, तेस्रो हुने विदुषी घिमिरेले २५ हजार रुपियाँ पुरस्कार स्वरूप प्राप्त गर्नुभएको महोत्सवका व्यवस्थापक यमप्रताप थापाले जानकारी दिनुभयो ।

यसैगरी पहिलो पटक आयोजित मम्मी डान्स आइडियल मा रन्जिता खनाल विजेता हुनुभयो । उहाँले ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । दोस्रो स्थान प्राप्त गर्ने गीता कार्कीले २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । 

दुवै प्रतियोगितामा विजयी तथा पुरस्कृत प्रतिभालाई बुद्धभूमि उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष विष्णु पौडेलले बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गर्नुभएको थियो ।