• २९ वैशाख २०८१, शनिबार

मोरङमा निरन्तर वर्षाः उद्धारमा सुरक्षा संयन्त्र परिचालन

blog

नवराज कट्टेल

विराटनगर, असार १५ गते । मोरङमा लगातारको वर्षाका कारण ३६७ घरधुरीका एकहजार ३६८ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठका अनुसार जिल्लाका धेरै क्षेत्रमा वर्षाका कारण डुबान र कटानको जोखिम देखिएको छ । मङ्गलबारदेखि लगातार परेको वर्षा बुधबार पनि जारी छ । 

जोखिममा परेका नागरिकको उद्धारमा नेपाल प्रहरीले सहयोग गर्दै आएको छ । हालसम्म विराटनगर महानगरपालिका ८ का २५ घरपरिवारका ९५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यसैगरी, विराटनगर–७ का ३८ घरधुरीका १४५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापितमध्ये १७ घरपरिवारलाई गायत्री माविमा र बाँकी आफन्तकोमा बसेका छन् । 

बेलबारी नगरपालिका–६ को बाहुनी खैटे खहरे खोला गाउँ पसेको छ । खोलाले ८ घर डुबान हुँदा ३३ जना विस्थापित भएका छन् । कटहरी गाउँपालिका–१ का १५० परिवार विस्थापित भएका छन् । टाईगर टोलका ८० घरधुरीका २८०, हनुमान मन्दिर क्षेत्रका ४० घरधुरीका १७० जना र नारी विकास टोलका ३० घरपरिवारका एकसय जना विस्थापित भएका छन् ।

यो बस्तीमा सिंघिया खोलाको बाढी पसेको छ । विस्थापितलाई नारी विकासको भवन, एकीकृत कृषि थोक बजार र सुरक्षित स्थानमा पाल टाँगेर राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।यसैगरी, मोरङको बुढीगङ्गा गाउँपालिका १ खापटोलमा सिंघिया खोलाको बाढी गाउँमा पसेको छ । २६ घरधुरीका एक हजार २५५ जनालाई वडा कार्यालयको भवनमा सारिएको छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नजिकैको प्रहरी युनिटलाई सक्रिय बनाएर उद्धारमा परिचालन गरिएको जानकारी दिनुभयो । नागरिकलाई सचेत रहन आग्रह गर्दै जोखिम भए सुरक्षा लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई तैनाथ राखिएको उहाँले जानकारी दिनुभयो । जिल्लाभरमा तीनवटा बोटमार्फत आवश्यक पर्दा उद्धार गर्ने गरी तयारी गरिएको छ । दुईहजार ५०० जना सुरक्षाकर्मी एकसाथ परिचालन हुने अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।