• २८ वैशाख २०८१, शुक्रबार

सामुदायिक वन महासङ्घद्वारा जनप्रतिनिधिलाई सम्मान

blog

जनप्रतिनिधिलाई सम्मानपत्र प्रदान गरिँदै । तस्बिर - चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १५ गते । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ ताप्लेजुङले स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ । जिल्ला महासङ्घले सामुदायिक वन क्षेत्रमा क्रियाशील रही वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विभिन्न पदमा निर्वाचित हुने जनप्रतिनिधिलाई सम्मान गरेको हो । 

सदरमुकाम फुङ्लिङस्थित जिल्ला महासङ्घको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुखमा निर्वाचित कृष्णप्रसाद लिङ्खिमलाई सम्मान गरिएको छ । यस्तै, सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष डण्डु लामा पनि सम्मानित हुनुभएको छ । 

यस्तै,फुङ्लिङ नगरपालिका–७ का वडाध्यक्ष योगेन्द्र निरौला, आठराई त्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष अर्जुन आङ्बुहाङ, मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पा सम्मानित हुनुभएको छ । सामुदायिक वनसँग सम्बन्धित संस्थामा आबद्ध रहेर स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको जिल्ला महासङ्घका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । 

सम्मानित हुने जनप्रतिनिधिलाई सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद ओझा, प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, डिभिजनल वन अधिकृत वीरेन्द्र शाहलगायतले सम्मानपत्र वितरण गर्नुभएको थियो । सम्मानित हुनुहुने केही जनप्रतिनिधि कार्यक्रममा अनुपस्थित रहनुभएको जिल्ला महासङ्घका अध्यक्ष ओझाले जानकारी दिनुभयो । 

यस्तै, जनप्रतिनिधिलाई सम्मान कार्यक्रमसँगै सामुदायिक वनमा सुशासन सुदृढीकरण विषयक अन्तक्र्रिया  वन संरक्षण, ऐन, नीति, नियमावली र वन व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो ।