• २३ असार २०८१, आइतबार

भूकम्पपीडितलाई अनुदान रकम लिन सकस

blog

अनुदान रकम माग गर्दै फारम बुझाउन शहरी विकास तथा भवन डिभिजन कार्यालयमा लाभग्राहीको भीड । तस्बिर - बाबुराम देवकोटा, सिन्धुली

बाबुराम देवकोटा

सिन्धुलीमाढी, असार १४ गते । सिन्धुली जिल्लामा बजेट अभावमा भूकम्पपीडित लाभग्राहीले निजी आवास निर्माण तथा मर्मतको अनुदान रकम पाउन कठिन भएको छ ।बजेट अभावमा निजी आवास निर्माण तथा मर्मत गरेका लाभग्राहीलाई उक्त अनुदान रकम दिन नसकेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार निजी आवास निर्माण तथा मर्मत गरेका लाभग्राहीलाई अनुदान दिन अझै ३४ करोड रुपियाँको अभाव छ । केन्द्र समक्ष ४० करोड रुपियाँ माग गरिएकोमा छ करोड रुपियाँ मात्रै आएपछि यो समस्या भएको हो ।

उक्त कार्यालयका इन्जिनियर राहुल मिश्रले भूकम्पपीडितलाई किस्ताको रकम दिन गत फागुनमा ४० करोड रुपियाँ माग गरिएको भए पनि करिब डेढ महिना अघि मात्रै छ करोड रुपियाँ आएकाे बताउनुभयो । 

‘लाभग्राहीले फागुन महिनामा नै अन्तिम किस्ता माग गरेको रकम नौ करोड रुपियाँ पुगेको थिएन,’ उहाँले भन्नुभयो, ‘निजी आवास पुननिर्माणतर्फ अन्तिम तथा तेस्रो किस्ता माग गर्ने लाभग्राहीको सङ्ख्या फागुनमा एक हजार ७४१ थियो, सरकारले असार १५ गतेसम्म किस्ता माग गर्ने समय सीमा तोकेको छ ।’

उहाँका अनुसार निजी आवास निर्माण गर्ने लाभग्राहीले पहिलो किस्ता बापत ५० हजार, दोस्रो किस्ता बापत एक लाख ५० हजार र तेस्रो किस्ता बापत एक लाख गरी तीन लाख रुपियाँ अनुदान पाउँछन् । त्यस्तै, निजी आवास मर्मत गर्न लाभग्राहीले पहिलो किस्ता बापत ५० हजार र अन्तिम किस्ता बापत ५० हजार गरी एक लाख रुपियाँ पाउँछन् ।

सिन्धुली जिल्लामा पुनर्निर्माणतर्फ ४० हजार ३०८ जना र प्रबलीकरणतर्फका १२ हजार लाभग्राही छन् ।