• २ असोज २०८२, बिहिबार

जेनजी आन्दोलन

नागरिकका चाहना पूरा गर्ने अवसर

blog

जेनजी आन्दोलनले ल्याएको परिवर्तनलाई देश बनाउने, भ्रष्टाचार अन्त्य गर्ने र जनचाहना पूरा गर्ने अवसरमा बदल्नु पर्छ । 

काठमाडौँ, असोज २ गते । राष्ट्रमा आउने कुनै पनि सङ्कटले नवीन र सुन्दर भविष्यको मार्गचित्र कोर्न सक्छ तर यसका लागि नेतृत्वले रूपान्तरणकारी सोच र जनविश्वासको आधार तयार गर्नु पर्छ । 

नेपाल पनि अहिले समग्र रूपान्तरणको नवीन घडीमा आइपुगेको छ । राजनीतिशास्त्री, विकास तथा योजना क्षेत्रका विज्ञ, प्रशासक एवं विश्लेषकहरूले जेनजी आन्दोलनले ल्याएको परिवर्तनलाई देश बनाउने, भ्रष्टाचार अन्त्य गर्ने र जनचाहना पूरा गर्ने अवसरमा बदल्नुपर्ने बताउनुभएको छ । 

पूर्वराजदूत प्राडा लोकराज बराल, त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका पूर्वविभागीय प्रमुख प्राडा मीना वैद्य मल्ल, सार्वजनिक नीति तथा पूर्वाधार विकासविज्ञ डा. सूर्यराज आचार्य, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा गान्धी पण्डित र पूर्वसचिव किशोर थापाले नागरिकको चाहनाबमोजिम शासकीय र राज्य प्रणालीमा सुधार गर्ने अवसर देशले पाएको बताउनुभयो । 

प्राडा बरालले निरन्तर खबरदारी गरिरहेको स्मरण गर्दै नेताहरू अप्रिय हुनु, जनमुखी कार्यक्रमबाट विमुख हुनु, सत्तालिप्सा र कुर्सीको लेनदेनमा व्यस्त रहनुले जनता आक्रोशित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले कतिबेला विस्फोट हुन्छ, थाहा छैन भनेकै हो । अलिकति जनमुखी कार्यक्रममा लाग्न, भ्रष्टाचारको ढाकछोप नगर्न पनि भनेकै हो । कुनै दिन यस्तो सङ्कट आउँछ भन्ने पूर्वानुमान थियो । अहिले जेनजी पुस्ताले आन्दोलनको अगुवाइ ग¥यो ।”

उहाँका अनुसार भ्रष्टाचार, राजनीतीकरण, गरिबी, शिक्षामै निजी र सामुदायिकको फरक अभ्यासले बनाएको खाडलसँगै नेताहरूको गलत प्रवृत्तिले सामाजिक विषमता बढ्दै गएको हो । उहाँले भन्नुभयो, “अन्तिममा सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जनआक्रोश विस्फोट भयो । जेनजीका मुद्दा राम्रा छन् । सकारात्मक बनाउनु पर्छ । चुनौती धेरै छन् । यसलाई पार लगाउनु पर्छ ।”

प्राडा बरालले राष्ट्रपति रामचन्द्र पौडेलले सकारात्मक समन्वय गरेको बताउँदै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचनको तयारीमा जुट्दै अब देशको अहिलेको विषमतालाई विस्तारै लयमा फर्काउनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनपछि आएको नयाँ संसद्ले संविधान संशोधन गरी स्थिरताको यात्रा तय गर्नेतर्फ लाने बताउनुभयो । प्राडा बरालले प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच बिहीबार संवाद हुने तय भएको बताउँदै छिमेकीलाई पनि विश्वासमा लिएर देशलाई नयाँ जनादेशतर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समग्रमा आन्दोलनले नवीन रूपान्तरणको जग निर्माण गरेको छ । यसलाई सकारात्मक दिशामा अघि बढाउनु पर्छ ।”

त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्रका पूर्वविभागीय प्रमुख प्राडा मीना वैद्य मल्लले अन्तरिम सरकारसँगै नागरिक, दलहरू र गतिशील युवाको सामूहिक प्रयासबाट देशले अग्रगति प्राप्त गर्ने बताउनुभयो । उहाँले जनहित र राष्ट्रहितलाई सर्वोपरि मानेर राजनीतिक स्वार्थभन्दा धेरैमाथि उठेर काम गर्नुपर्ने बेला आएको बताउनुभयो । 

वरिष्ठ अधिवक्ता प्राडा गान्धी पण्डित, डा. सूर्यराज आचार्य र पूर्वसचिव किशोर थापाले प्रणालीगत सुधारमार्फत देशलाई समुन्नत बनाउन सकिने बताउनुभयो । प्राडा पण्डितले जेनजी आन्दोलनले भ्रष्टाचारविरुद्ध राज्य निर्मम हुनुपर्ने सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वको अकर्मन्यताका कारण युवा सडकमा आए । राष्ट्रलाई परिवर्तन गर्नुपर्ने सन्देश दिए । वास्तवमै सबैले आफूलाई रूपान्तरित गर्नुपर्ने समय आयो । संविधानदेखि राज्यको सेवाप्रणालीमा सुधार आवश्यक देखियो ।”

डा. आचार्यले प्रणालीको असफलता र पात्रको असफलताले देशमा युवाले क्रान्ति गर्नु परेको बताउनुभयो । उहाँले पात्र ठिक हुनुपर्ने तर प्रणाली असल नभएमा पात्र पनि बदमास हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेता मात्रै होइन, प्रणालीमा पनि केही न केही खोट छ । प्रणालीगत कमजोरी रहेसम्म एउटा असल मान्छेले पनि काम गर्न सक्दैन ।  

संसदीय निर्वाचन करोड खर्च नगरी जित्न सकिँदैन । मन्त्री भएपछि त्यो खर्च असुलउपर गर्नु प¥यो । त्यसैले प्रणालीभित्र बसेर एउटा नेपालीले समाज सेवा गर्न सकोस् । संविधानमा, राज्य प्रणालीमा, निर्वाचन प्रणालीमा समग्र सुधार र रूपान्तरण गर्नु पर्छ ।”

पूर्वसचिव थापाले जेनजी पुस्ताको आन्दोलनको मर्म र भावना अनुरूप सरकारले काम अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनको तयारीसँगै क्षतिग्रस्त भवन र भौतिक संरचनाको पुनर्निर्माण गर्ने, जेनजी आन्दोलनका सन्दर्भमा न्यायिक छानबिन गर्ने र राजनीतिक दलहरूलाई पनि विश्वासमा लिएर निर्वाचनमा जानुपर्ने बताउनुभयो ।