• २९ भदौ २०८२, आइतबार

अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय स्वागत

blog

  • हामी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालमा अन्तरिम सरकार गठनको स्वागत गर्छौं– भारत
  • लोकतन्त्र, स्थिरता र मेलमिलाप सुनिश्चित गर्नका लागि गरिएका सबै प्रयासहरूलाई समर्थन गर्छौं– युरोपेली सङ्घ
  • उत्पन्न परिस्थिति सल्ट्याउन अन्तरिम सरकारको गठन हुनु एउटा महत्वपूर्ण कदम– बेलायत
  • नेपालले सकेसम्म चाँडो सङ्क्रमणकाल अन्त्य गर्ने दृढ विश्वास छ– जापान 

काठमाडौँ, भदौ २९ गते । नेपालको सङ्क्रमणकालीन राजनीतिक अवस्थालाई चिर्दै अन्तरिम सरकारको गठन भएकोमा अन्तर्राष्ट्रिय समुदाय तथा मित्रराष्ट्र मुलुकहरूले स्वागत गरेका छन् । नवगठित सरकारले नेपालको वर्तमान अवस्थामा सुधार गर्दै छिटोभन्दा छिटो शान्ति र स्थिर सरकार स्थापना गर्न आफ्ना कदम अघि बढाउने विश्वास अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको छ ।

आगामी दिनमा नेपाल सरकारलाई आफ्नो समर्थनसँगै विकास सहयोग प्रदान गर्ने कार्यलाई निरन्तरता दिन पनि अन्तर्राष्ट्रिय समुदायले प्रतिबद्धता जनाएको छ । सङक्रमणकालीन अवस्थाको क्रममा लोकतन्त्रको रक्षा गर्दै शीघ्र निर्णय गर्न राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको पहलको पनि अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको छ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नियुक्त हुनुभएकोमा अन्तर्राष्ट्रिय समुदाय तथा मित्रराष्ट्रहरूले बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् । सोही क्रममा छिमेकी मुलुक भारत सरकारले वक्तव्यमार्फत भनेको छ, “हामी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालमा अन्तरिम सरकार गठनको स्वागत गर्छौं । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्धन गर्न मद्दत गर्ने छ ।”

साथै भारत सरकारले निकटको छिमेकीका साथै नेपालको लोकतान्त्रिक यात्राको मित्र र दीर्घकालीन विकास साझेदारका रूपमा दुई देशका जनता र देशको कल्याण तथा समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गर्ने प्रतिबद्धता वक्तव्यमार्फत व्यक्त गरेको छ ।  भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले सामाजिक सञ्जालमार्फत अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिनुभएको छ । उहाँले भन्नुभएको छ, “नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।” 

युरोपेली सङ्घले पनि नेपालमा अन्तरिम सरकार गठनको स्वागत गरेको छ । सङ्घको तर्फबाट विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि र युरोपेली आयोगका उपाध्यक्ष काजा कालासले वक्तव्यमार्फत भन्नुभएको छ, “नेपालको अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिको म स्वागत गर्दछु ।” लामो समयदेखि नेपालको विकास साझेदारको रूपमा युरोपेली सङ्घ नेपाली जनता र यहाँको लोकतन्त्र, स्थिरता र मेलमिलाप सुनिश्चित गर्नका लागि गरिएका सबै प्रयासलाई समर्थन गर्दै आएको र अहिले पनि समर्थन गरेको उहाँले प्रस्ट पार्नुभएको छ ।  

नेपालको सबैभन्दा पुरानो मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायतले पनि नवगठित अन्तरिम सरकारको स्वागत गरेको छ । नेपालस्थित बेलायती दूतावासले सरकारका तर्फबाट वक्तव्य जारी गर्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएकोमा बधाई दिएको छ । 

गत हप्ताका हृदयविदारक घटनाहरू, जसमा जीवन गुमाउने, घाइते हुने र सम्पत्तिको क्षति भए पनि त्यसपछि उत्पन्न परिस्थिति सल्ट्याउन अन्तरिम सरकारको गठन हुनु एउटा महत्वपूर्ण कदम भएको भन्दै उसले प्रशंसा गरेको छ । 

वक्तव्यमा भनिएको छ, “नेपालको सबैभन्दा पुरानो मित्रका रूपमा, हामी अगाडि रहेका चुनौतीहरूलाई स्वीकार गर्छौं र जवाफदेहिता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने हाम्रो प्रतिबद्धता पुष्टि गर्छौं ।”

यसैबिच जापान सरकारले पनि अन्तरिम सरकार गठनको स्वागत गर्दै नेपालले सकेसम्म चाँडो  सङ्क्रमणकाल अन्त्य गर्ने दृढ विश्वास व्यक्त गरेको छ । 

जापान र नेपालबिचको लामो समयदेखिको सौहार्दपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन जापानी सरकारले नेपालको विकास र समृद्धिका लागि आफ्नो समर्थन र सहयोग जारी राख्ने प्रतिबद्धता पनि जापान सरकारले जनाएको छ ।