- रचनात्मक रूपमा संवादमार्फत समाधान खोजियोस् : महासचिव गुटेरेस
- संयम अपनाउने र शान्तिपूर्ण माध्यम तथा संवादमार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गर्छौं : भारत
- समस्याको सही तरिकाले समाधान गर्दै छिटोभन्दा छिटो आफैँले शान्ति र स्थिरता कायम गर्ने विश्वास छ : चीन
काठमाडौँ, भदौ २७ गते। नेपालमा पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय मित्र तथा समुदायले शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रचनात्मक रूपमा संवादमार्फत समाधान खोज्न आग्रह गर्नुभएको छ । अघिल्ला दिनहरूमा भएको हिंसात्मक प्रदर्शनका क्रममा नेपाली नागरिकले ज्यान गुमाउनु दुःखद रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको उहाँले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको वक्तव्य जारी गर्नुभएको छ ।
उहाँले वक्तव्यमा उल्लेख गर्नुभएको छ, “म नेपालको परिस्थितिलाई नजिकबाट नियालिरहेको छु, नागरिकको जिउज्यानको क्षतिले अत्यन्त दुःखी तुल्याएको छ । निष्पक्ष र गहन छानबिनको आह्वान पनि गर्छु ।” साथै हिंसा थप बढ्न नदिन संयम अपनाउन आग्रह गर्दै संवादको माध्यमबाट रचनात्मक मार्गप्रशस्त गर्न पनि महासचिव गुटेरेसले आग्रह गर्नुभएको छ ।
उहाँले नेपाल सरकार तथा सम्बन्धित निकायलाई मानव अधिकार कानुनको पूर्ण पालना गर्न सुझाउनुभएको छ । त्यसका लागि आन्दोलन र प्रदर्शन शान्तिपूर्ण तरिकाले गर्दै मानिसको जिउधन र सम्पत्तिको सुरक्षामा कटिबद्ध हुन गुटेरेसले अपिल गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घले सोमबार भएको हिंसात्मक घटनामा केही युवाको ज्यान गएलगत्तै उक्त घटनाले स्तब्ध बनाएको प्रतिक्रिया दिएको थियो । नेपालमा मानव अधिकार हननका त्यस्ता घटना हुनु दुःखद रहेको भन्दै निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन अपिल गरेको थियो ।
संवादको विकल्प छैन
घनिष्ठ दुई छिमेकी भारत र चीनले नेपालमा उत्पन्न परिस्थितिप्रति दुःख प्रकट गर्दै शान्तिपूर्ण प्रदर्शन र संवादको विकल्प नभएको प्रस्ट पारेका छन् । भारत सरकारको तर्फबाट विदेशमन्त्रीद्वारा जारी वक्तव्यमा सोमबारदेखि नेपालमा भइरहेको घटनाक्रमलाई भारतले नजिकबाट नियालिरहेको प्रस्ट पारेको छ । हिंसात्मक प्रदर्शनमा धेरै युवाको ज्यान गएकोमा भारत सरकार अत्यन्तै दुःखी रहेको विदेश मन्त्रालयले जनाएको छ ।
वक्तव्यमा भनिएको छ, “घनिष्ठ मित्र र छिमेकीका रूपमा हामी सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम तथा संवादमार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गर्छौं ।” भारतीय विदेश मन्त्रालयले नेपालमा रहेका भारतीय नागरिकलाई सावधानी अपनाउन र नेपाली अधिकारीले जारी गरेका कदम र निर्देशन पालना गर्न सुझाव दिइएको छ ।
आफैँले समाधान गर्ने विश्वास
चीन सरकारले पनि नेपाल र चीन दुई अभिन्न मित्र रहेको उल्लेख गर्दै यहाँ उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयले वक्तव्यमार्फत नेपाल र चीन दुई मुलुक एक अर्काका परम्पराकालदेखिको छिमेकी मित्र रहेको भन्दै सद्भाव व्यक्त गरेको छ । नेपालमा उत्पन्न यस घरेलु समस्याको सही तरिकाले समाधान गर्दै छिटोभन्दा छिटो आफैँले शान्ति र स्थिरता कायम गर्ने विश्वास चीनले लिएको वक्तव्यमार्फत जनाइएको छ । त्यसै गरी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा उत्पन्न स्थितिप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रदर्शनका क्रममा युवकहरू मारिनु दुःखद रहेको उल्लेख गर्दै उहाँले नेपालको साथमा अमेरिकी सरकार सदैव रहेको सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ । यसै बिच नेपालस्थित विभिन्न मुलुकका दूतावासले पछिल्लो हिंसात्मक घटना र प्रदर्शनले निम्त्याएको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।
सामूहिक वक्तव्य जारी गर्दै दूतावासहरूले भनेका छन्, “हामी काठमाडौँ तथा नेपालका अन्य स्थानमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्छौं । यी घटनाका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौँ घाइते भएकोमा हामी संवेदनशील भएका छौँ ।”
पीडित परिवारजन तथा प्रभावित व्यक्तिप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना वक्तव्यमार्फत गरिएको छ ।
अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, स्विट्जरल्यान्ड तथा संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा आफ्ना सरकारको शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको उल्लेख छ । सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा नागरिकका मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न दूतावासले अपिल गरेका छन् । त्यस्तै युरोपेली सङ्घले पनि नेपालमा उत्पन्न हिंसात्मक प्रदर्शनीपछिको अवस्थालाई साम्य बनाउन संयम राख्न भनेको छ । वक्तव्यमा भनिएको छ, “नेपालमा भइरहेको प्रदर्शनमा भएको मृत्यु र हिंसाप्रति युरोपेली सङ्घ गहिरो दुःख व्यक्त गर्छ । ती घटनाको स्वतन्त्र रूपमा अनुसन्धान गरिनु पर्छ ।
अधिकतम संयम अपनाउन र सुरक्षा अधिकारीलाई जीवन रक्षाका लागि आवश्यक सबै उपाय अपनाउन युरोपेली सङ्घले आह्वान गरेको छ । उत्पन्न मतभेद समाधान गर्न र सबै मौलिक अधिकार कायम राख्ने अवस्था सुनिश्चित गर्न सबै पक्षबिचको संवादलाई जोड दिन वक्तव्यमा भनिएको छ ।