• २५ भदौ २०८२, बुधबार

अस्पतालमा घाइतेको भिड

blog

काठमाडौँ, भदौ २५ गते । ‘जेनजी आन्दोलन’ का क्रममा मङ्गलबार काठमाडौँका दुई अस्पतालमा थप चार जनाको निधन भएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा तीन जना र तारकेश्वर सिटी अस्पतालमा एक जनाको निधन भएको हो । 

सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले दिनुभएको जानकारी अनुसार मङ्गलबार दिउँसो उपचारमा आएका प्रदर्शनकारीमध्ये तीन जनाको निधन भएको हो । कार्यकारी निर्देशक डा. रेग्मीले दिनुभएको जानकारी अनुसार मङ्गलबार ११५ जना घाइते अस्पतालमा उपचारका लागि आएको जानकारी गराउनुभयो । उहाँले तीन जना घाइतेको निधन भएको जानकारी दिँदै उनीहरू सबै पुरुष रहेको बताउनुभयो । “उहाँहरूको पहिचान हुन सकेको छैन, डा. रेग्मीले भन्नुभयो, आकस्मिक कक्षमा कतिले उपचार गराइरहेका छन् भन्ने लेखाजोखा गर्न सकिएको छैन ।” अघिल्लो दिन अस्पतालमा आएका २७ जनाको शल्यक्रिया गरिएको छ । 

सिभिल अस्पतालले मङ्गलबार ओपिडी (बहिरङ्ग) सेवा बन्द गरेर आन्दोलनमा घाइते भएका व्यक्तिको मात्र उपचार गरेको छ । डा. रेग्मीले अस्पताल आएका २२७ को उपचार भइरहेको बताउनुभयो । डा. रेग्मीका अनुसार दिउँसो १२ बजेसम्मको तथ्याङ्क अनुसार ४२ जना रेफर गरिएको, १५५ जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । यता तारकेश्वर सिटी अस्पतालमा एक जना घाइतको निधन भएको छ । अस्पतालका अध्यक्ष डा. ऋषिकुमार कार्कीले उपचारमा आएका १५ भन्दा बढी घाइतेमध्ये एक जनाको निधन भएको बताउनुभयो । निधन हुनेमा २५ वर्षीय धीरज श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठको घाँटीमा गोली लागेको थियो । 

अन्य दुई जना घाइतेको शल्यक्रिया गरेर गोली निकालिएको छ र उनीहरूको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ ।

यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेहरूको अघिल्लो दिनदेखि निरन्तर शल्यक्रिया भइरहेको छ । अस्पतालका प्रमुख डा. बद्री रिजालले आज २६ जना घाइते आएको बताउनुभयो । दुई जनाको शल्यक्रिया भइरहेको जानकारी दिनुभयो । अघिल्लो दिन राति मात्र २३ जनाको शल्यक्रिया गरेको जानकारी दिनुभयो । उहाँले मङ्गलबार दिउँसो थप सात जनाको शल्यक्रिया गरिएको बताउनुभयो । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुनै तथ्याङ्क दिन सकेको छैन ।  

स्वास्थ्य मन्त्रालयका डा. नवराज जोशीले दिनुभएको जानकारी अनुसार स्वास्थ्य मन्त्रालयमा समेत प्रदर्शनकारीले आगजनी गरेका कारण देशभरको तथ्याङ्क सङ्कलन गर्न कठिन भएको छ । “जोगिएर घर आउनै नसक्ने अवस्था आयो,” डा. जोशीले भन्नुभयो, “मन्त्रालयले मातहतका अस्पताललाई घाइतेको उपचार निःशुल्क गर्नका लागि निर्देशन दिइसकेको र त्यही अनुसार घाइतेको उपचार भइरहेको छ ।” 

यस्तै वीर अस्पतालमा १० जना घाइतेको उपचार भइरहेको छ । यता त्रिवि शिक्षण अस्पतालमा २२ जना घाइते उपचारका लागि आएका छन् । अस्पतालका कार्यकारी निर्देशक प्राडा सुभाष आचार्यले घाइतेहरूको उपचार भइरहेको जानकारी दिँदै तीन जनाको शल्यक्रिया गरिएको बताउनुभयो । यसै गरी काठमाडाँै मेडिकल कलेजमा मङ्गलबार १६ जना घाइतेको उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।