• १३ साउन २०८१, आइतबार

रेसुङ्गा नगरपालिकाद्वारा २० जना कृषक सम्मानित

blog

रमेश विश्वकर्मा

गुल्मी, असार १३ गते । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्दै व्यावसायिक र कृषि पेशामा कटिबद्ध भएर लाग्नको लागि सम्मान गरेको छ । कृषि शाखाको आयोजनामा आ.व.०७८/७९ को नीति तथा कार्यक्रम अनुसार नगरपालिकाभित्रका उत्कृष्ट बीस जना कृषकलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो । 

नगरभित्र व्यावसायिक कृषिमा उल्लेखनीय काम गरेको भन्दै कृषकहरुको मनोबल बढाउन नगरपालिकाले बीस जना कृषकहरुलाई सम्मान गरेको हो । आगामी दिनमा पनि उत्कृष्ट कृषकहरुलाई यस्तै सम्मान गर्ने कृषि शाखाले जनाएको छ । नगरप्रमुख खिलध्वज पन्थीले किसानलाई हौसला दिन तथा व्यवसायिक रुपमा खेती गरिरहेका ती किसानलाई प्रेरणा मिलोस् भनेर उत्कृष्ट कृषकलाई कृषि औजार, दोसल्ला र सम्मान–पत्रले सम्मान गर्नुभयो । 

कृषकलाई सम्मान गर्दै नगरप्रमुख पन्थीले कृषि पनि समुन्नत नगर निर्माणको एउटा आधार भएको हुनाले आ.व.०७९÷८० को नीति तथा कार्यक्रममा कृषि पेशामा कृषकको रुचि बढाउने विभिन्न खालका कार्यक्रम समावेश गरिएको बताउनुभयो । “नगरपालिकाले कृषकलाई विशेष प्राथमिकताको आधारमा राखेको छ,” उहाँले भन्नुभयो, “कृषि, पर्यटन, शिक्षा, रोजगारलगायतमा रेसुङ्गा नगरपालिकालाई अब्बल बनाउन लागि परेका छौँ । कृषकका समस्याहरु समाधान गर्न हामी निरन्तर लाग्ने छौँ ।”

रेसुङ्गा नगरपालिका–१०, का वडा अध्यक्ष एवम् आर्थिक विकास समिति संयोजक रामबहादुर बस्नेतले सम्मानित कृषकलाई बधाई दिँदै आफ्नो व्यवसायलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 

नगरपालिकाले वास्तविक कृषकहरुलाई यसरी सम्मान गरेको प्रति धन्यवाद दिँदै सम्मानित कृषकहरुले भन्नुभयो, “नगरपालिकाले सञ्चालन गरेको हाटबजार अहिले बन्द हुँदा हामी मर्कामा परेका छौँ । छिटोभन्दा छिटो हाटबजार सञ्चालन गर्नुस् । त्यस्तै, हामीलाई समय–समयमा तालिमको पनि आवश्यकता छ ।”