• १५ असार २०८१, शनिबार

अन्तर्घात गर्ने १०४ जना नेता कार्यकर्तासँग बाँके काँग्रेसले स्पष्टीकरण सोध्ने निर्णय

blog

नेपाली काँग्रेसको बाँके पार्टी कार्यालय । तस्विर - सिराज खान, नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, असार १२ गते । हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको ठर गरेर नेपाली कांग्रेस बाँकेले १०४ जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाँकेको बैठकले पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै १०४ जना नेता कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

अनुशासन समितिका संयोजक टझ्कप्रसाद काफ्ले आशिषले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको निवेदन सिफारिसका आधारमा स्पष्टीकरण सोध्ने निर्णय भएको बताउनुभयो । 

उहाँले अनुशासन समितिमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार, वडा कार्यसमिति तथा क्षेत्रबाट निवेदन सिफारिस भएका आधारमा कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४(४)(ङ) बमोजिम ७ दिने स्पष्टीकरण माग गरिने जानकारी दिनुभयो ।

स्पष्टीकरण सोधिनेमा सबैभन्दा बढी डुडुवाका ४७ जना छन् । यस्तै नेपालगञ्जका १६ जना, नरैनापुरका १४ जना, राप्तीसोनारीका ८ जना, खजुराका ७ जना, कोहलपुरका ६ जना र बैजनाथका ६ जना छन् । संयोजक काफ्लेका अनुसार नेपाली कांग्रेस बाँकेको सहसचिव विनोदकुमार थारुलाई पनि स्पष्टीकरण सोधिने भएको छ । उहाँविरुद्ध पनि निवेदन परेको छ ।

जिल्ला सदस्य शरदचन्द्र बर्मा, नेपालगञ्ज २० का बुथ सभापति जोगेन्द्रप्रसाद यादव, डुडुवा ६ का बुथ सभापति बाबुलाल यादव, नरैनापुर ६ का बुथ सभापति मुनब्बर अली मुकेरी, वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष विन्दुभूषण बस्नेत, पूर्व महाधिवेशन प्रतिनिधि सतेन्द्रकुमार चौधरीलगायत पनि स्पष्टीकरण सोधिनेहरुको लिष्टमा परेका छन् ।