• १३ असोज २०८१, आइतबार

पर्यटन प्रवर्धनका लागि तानसेनमा बन्यो खुला ‘नाचघर’

blog

तानसेनको बतासेडाँडामा बनेको खुल्ला नाच घर ‘श्रीनगर सांस्कृतिक डबली’ । तस्बिर - रेखीराम राना

रेखीराम राना

पाल्पा, असार १२ गते । तानसेनको बतासेडाँडामा बनेको ‘श्रीनगर सांस्कृतिक डबली’ निर्माणको काम सकिएको छ । जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण थालिएको सांस्कृतिक डबली निर्माणको काम सकिएको हो । 

लुम्बिनी प्रदेश सरकारको लगानी छ करोड ८१ लाख रुपियाँ लगानीमा सांस्कृतिक डबली (खुल्ला नाच घर) निर्माणको काम सकिएको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो । वि.स. २०७७ असारदेखि सुरु भएको सांस्कृतिक डबली (खुला नाच घर) निर्माण सम्झौताको म्यादभन्दा एक वर्ष ढिला गरी सकिएको डिभिजन प्रमुख पाण्डेयले बताउनुभयो । डबली निर्माणको काम सकिएको छ अब सञ्चालनका लागि कार्यविधि बनाएर अघि बढ्छौँ, प्रमुख पाण्डेयले भन्नुभयो । 

सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङस्थल, बाउण्ड्री, बस्ने स्थल, हरियाली बगैँचा चिटिक्क पारिएको छ । यस्तै, स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरमा समेत रङ्गरोगन गरेर निर्माण भइसकेको छ । डबलीभित्र बसेर पाँच सय जना मानिसहरूले विभिन्न जातजाति तथा भाषाभाषीको नाच तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न सक्नेछन् । 

जिल्लाभित्र भित्रिने आन्तरिक तथा बाह्य मुलुकका पर्यटकलाई लक्षित गरेर सांस्कृतिक डबलीको निर्माण गरिएको हो । यसले जिल्लाको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेयले बताउनुभयो । तानसेन घुम्न आउने र खास गरेर रानीमहल आउने पर्यटकका लागि सांस्कृतिक डबलीमा नाच, गीत तथा अन्य सांस्कृतिक प्रस्तुति देखाउन सकिन्छ, उहाँले भन्नुभयो । 

लुम्विनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका अन्य पर्यटकीय पूर्वाधारसहित सांस्कृतिक डबलीमा लगानी गरेको जनाएको छ । सांस्कृतिक डबलीभित्र लुम्विनी प्रदेशभित्र बसोबास गर्ने विभिन्न जातजातिभित्र प्रचलित नाच तथा भेषभूषा प्रदर्शन गर्न सकिनेछ । 

सांस्कृतिक डबली सञ्चालनपछि स्वदेश तथा विदेशबाट पर्यटक आवागमनमा वृद्धि हुने र आन्तरिक रोजगारी बढ्ने अपेक्षा गरिएको छ । सांस्कृतिक नाच घर बनेपछि पाल्पाका लोप हुँदै गएका नाचको संरक्षण हुने र त्यसबाट जिल्लाको पर्यटन क्षेत्रले गति लिने पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले बताउनुभयो ।