• ७ मंसिर २०८१, शुक्रबार

भिडियो कुराकानी

यौनिक तथा अल्पसङ्ख्यकको ‘गौरवको महिना’

blog

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ 

काठमाडौं, असार ११ गते। अङ्ग्रेजी पात्रो अनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ जुन लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउने गर्छन्। 

एलजीबीटीआईक्यूप्लसका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो उपलब्धिप्रति गर्व गर्ने रूपमा जुन महिनालाई लिने गरिन्छ। विश्वभरका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले यो महिनामा विभिन्न कार्यक्रम गर्दै ‘प्राइड परेड’ गर्ने गर्छन्। 



‘प्राइड मन्थ’को फरक इतिहास

जुन महिनालाई नै गौरवको महिनाको रुपमा मनाउनुमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारको आन्दोलनसँग जोडिएको निलहिरा समाजका अध्यक्ष पिन्की गुरुङले बताउनुभयो। 

सन् १९६९ को जुन २८ मा अमेरिकाको न्यूयोर्क राज्यस्थित ‘स्टोनवाल इन’ नाम गरेको बारमा समलिङ्गी पुरुष र प्रहरीबीच झडप भएको थियो। त्यस बारमा न्यूयोर्कका समलिङ्गी पुरुषको बसोबास थियो। न्यूयोर्कका प्रहरीले त्यहाँका समलिङगीलाई कुटपिट गरे। त्यसपछि समलिङ्गी समुदायलाई आक्रोशित भएर प्रहरीसँग झडप भएको थियो। 

प्रहरी दमनबीच उनीहरुले आफ्नो हकअधिकारको लागि लडेर उनीहरुले विजय प्राप्त गरे। यही दिनदेखि जुन महिनालाई गरिमामय र विजय महिनाको रुपमा विश्वभर मनाउन सुरु गरेको अध्यक्ष पिन्की गुरुङले बताउनुभयो। यसरी नेपालमा पनि सन् २०१९ देखि जुन महिनालाई प्राइड मन्थको रुपमा मनाउने चलन रहँदै आएको छ। 

नेपालमा यौनिक तथा अल्पसंख्यकको संख्या

निलहिरा समाजका अनुसार नेपालमा हाल करिब ९ लाख यौनिक तथा लैङ्गिक अल्पसङ्ख्क रहेको अनुमान छ। तर, अझै पनि पहिचानको कानुन नबन्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले कैयौँ अधिकार प्राप्त गर्न नसकेको यो समुदायको गुनासो छ।

सामाजिक अवहेलना सहनुपर्ने र शारीरिक तथा मानसिक यातना सहनुपर्ने भएकाले धेरै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले आफ्नो पहिचान नखुलाएको देखिन्छ।

नेपालमा अरु कहिले प्राइड परेड हुन्छ ?

नेपालमा गाईजात्राका दिन पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले जुलुस निकाल्ने गर्छन्। गाईजात्रामा यसै पनि केटाहरू केटीको भेषमा वा गाईको भेषमा सडकमा निस्कने परम्परा भएकाले त्यसलाई पछ्याउँदै नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले यस्तो परेड निकाल्ने गरेको अध्यक्ष पिन्कीको भनाइ छ। 


यौनिक तथा अल्पसङ्ख्यक समुदायका मानिसहरुको मृत्यु हुँदा परिवारले वास्ता गर्दैनन्। नेपालमा नेवार समुदायले मनाउने गाईजात्रा पर्वलाई यो समुदायले पनि आफ्नो पर्वको रुपमा लिने गर्छन्। गाईजात्रामा यो समुदायका मानिसहरु आफ्नो पहिचान लिएर समाजको अगाडि आउने गर्छन्। 

समाजमा आफ्नो छुट्टै पहिचान र अस्तित्व दर्शाउनका लागि सजिलो उपाय नै गाईजात्रा पर्व हो। समाजलाई संवेदनशील, जागरुक, जिम्मेवार र सशक्त बनाउनका लागि नै प्राइड परेड वा गाईजात्रा निकाल्ने गरिन्छ। नेपालबाहेक अन्य देशमा पनि जुन महिनाबाहेक अन्य बेलामा पनि प्राइड परेड गर्ने गरिन्छ। 

यो गरिमामय महिनामा यौनिक तथा अल्पसङ्ख्यक समुदायमा आफ्नो पहिचानको र अधिकार स्थापित गर्न र सरकारलाई अधिकार प्रदान गर्नका लागि प्राइड परेड गर्ने उहाँले बताउनुभयो।