सिन्धुपाल्चोक, साउन २३ गते । सिन्धुपाल्चोक सुकुटेस्थित भोटेकोशी आसपासका रिसोर्टले सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ । अधिकांश रिसोर्टले थोरै जग्गा किनेर भोटेकोशीछेउको सार्वजनिक जग्गा प्रयोग गर्दै आइरहेको पाइएको हो ।
भोटेकोशी आसपास रहेका सुनकोशी बिच रिसोर्ट, स्यान्डी बिच रिसोर्ट, सुकुटे रिभर साइड, ट्याङ्गल रिसोर्ट, सुकुटे होलिडे रिसोर्ट, सुकुटे बिच रिसोर्ट, माया बिच रिसोर्टलगायतले सार्वजनिक जग्गा अतिक्रमण गरेको सिन्धु पर्यटन व्यवसायी सङ्घले दाबी गरेको छ । सङ्घले अधिकांश रिसोर्टले सार्वजनिक जग्गा हडपेको जनाएको छ । सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जिल्ला प्रशासन कार्यालय र चौतारा साँगाचोकगढी नगरपालिकाले समेत सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन पत्राचार गर्दा पनि रिसोर्टहरूले अटेरी गरिरहेको बताउनुभयो ।
सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाले आफूले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्ने जानकारी प्राप्त गरेको तर आफ्नो क्षेत्र शान्ति सुरक्षा कायम गर्ने भएकाले पर्यटन र जग्गा अतिक्रमणतर्फ ध्यान दिन नसकेको तर्क गर्नुभयो । चौतारा साँगाचोक नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले भोटेकोशी आसपासमा रहेका रिसोर्टले व्यापक मात्रामा जग्गा अतिक्रमण गरेर व्यवसाय सञ्चालन गरिरहेकाले यो विषयमा अब सबैले गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो ।
प्रमुख सापकोटाले भन्नुभयो, “नगरपालिकाले अतिक्रमण हटाउन लाग्दा ती रिसोर्ट अदालत जाने गरेका छन् ।” सार्वजनिक जग्गा अतिक्रमण गर्नु कानुनविपरीत आपराधिक कार्य भएको जानकारी दिँदै उहाँले त्यस्ता अतिक्रमित जग्गा फिर्ता ल्याउन नगरपालिकाको तर्फबाट पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार भोटेकोशी आसपासमा रहेका रिसोर्टलाई छुट्टै पर्यटन कर लिने व्यवस्था गरिए पनि करसमेत बुझाएका छैनन् ।
व्यक्तिगत जग्गा पनि अतिक्रमण
यहाँका रिसोर्टले व्यक्तिगत जग्गासमेत हडपेको आरोप लागेको छ । सुकुटे बिच रिसोर्टले भोटेकोशी नदीनजिकै रहेको व्यक्तिको जग्गा जबरजस्ती हडपेको भन्दै पीडित परिवारले नगरपालिका, जिल्ला प्रशासन कार्यालय र स्वयम् व्यवसायीलाई पटक पटक जग्गा खाली गरिदिन माग गरेका छन् ।
रिसोर्टले आफ्नो जग्गा जबरजस्ती प्रयोग गर्दै आएको र छाड्न अटेरी गरिरहेकोले खाली गरिदिन माग गरिएको हो । २०५४ सालदेखि सुकुटे बिच रिसोर्टले प्रवीन श्रेष्ठ तथा उहाँका बुवाको नाममा रहेको जग्गा प्रयोग गर्दै आइरहेको पीडित श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सुरुमा रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाले मौखिक सहमतिमा २० हजार रुपियाँ दिएर केही वर्षका लागि सो जग्गा प्रयोग गर्न सुरु गरेको जानकारी दिनुभयो । त्यतिबेला सो जग्गा खेतका रूपमा रहेको र रिसोर्टले सो जग्गा बिस्तारै आफ्नो मानेर रिसोर्टको नाममा प्रयोग गरिरहेको उहाँ बताउनुहुन्छ ।
श्रेष्ठले सो जग्गाबापतको भाडा नदिएको आरोप लगाउँदै जग्गा फिर्ता माग्दा प्रहरी प्रशासन लगाई पक्राउ गरी मानसिक र शारीरिक यातनासमेत दिने काम गर्दै आएको आरोप लगाउनुभयो । उहाँले हाल जग्गा खाली गराइदिनेबारे जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, नगरपालिका, प्रहरीलगायतले बेवास्ता गरेको गुनासो पनि गर्नुभयो ।
जग्गाधनी श्रेष्ठले बारम्बार ताकिता गर्दासमेत कुनै सुनुवाइ नहुँदा पुनः २०७८ सालमा वडा कार्यालय, जिल्ला प्रशासन, नगरपालिका र यस क्षेत्रको क्रियाशील पर्यटन गतिविधिमा संलग्न संस्था सिन्धु पर्यटन व्यवसायी सङ्घमा समेत निवेदन दिइएको बताउनुभयो । पछिल्लो पटक २०८२ असार ९ गते वडा कार्यालयमा निवेदन दर्ता गरी छलफलका लागि बोलाइए पनि जग्गा हडप्न खोज्ने होटेलका सञ्चालक उपस्थित नभएको दाबी उहाँको छ ।
सिन्धु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष नारायण श्रेष्ठले उक्त जग्गा व्यक्तिको हो भन्ने सबै प्रमाण सुरक्षित हुँदा पनि जग्गा फिर्ता नगरेको बताउनुभयो । उक्त जग्गाको नक्सा, लालपुर्जा, तिरो तिरेको प्रमाण सबै छ तर व्यक्तिको जग्गा रिसोर्टले फिर्ता नगर्नु अन्याय भएको उहाँको भनाइ छ । जग्गा अतिक्रमण गरेको आरोप लागेका व्यवसायी महेन्द्रसिंह थापा जग्गा अतिक्रमण नगरेको दाबी गर्नुहुन्छ । उहाँ आफूले नगरपालिकासँग भाडामा लिएर रिसोर्ट सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले नगरपालिकासँग भाडामा जग्गा लिएर चलाएको हुँ । मलाई व्यक्तिगत जग्गा हडपेको आरोप लागेको छ । यो मैले बर्सौं पहिले कागज गराएर लिएको जग्गा हो ।”