काठमाडौँ, साउन १९ गते । भूपरिवेष्ठित विकासशील मुलुकको विद्यमान चुनौतीलाई चिर्दै समृद्ध भविष्य बनाउने उद्देश्यसहित भूपरिवेष्ठित विकासशील मुलुकको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन तुर्कमेनिस्तानको अवाजामा मङ्गलबारदेखि सुरु हुँदै छ । वैश्विक र क्षेत्रीय साझेदारीको खोजी गर्दै सम्मेलनले ३२ मुलुकका ५७ करोड जनताको जीवनमा रूपान्तरणकारी परिवर्तन ल्याउन पहल गर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । कसैलाई पछाडि नपार्ने सङ्घका साझा प्रतिबद्धतालाई पूरा गर्न सम्मेलन कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।
नवीन उत्प्रेरणामार्फत रणनीतिक साझेदारीसहितको लगानी भूपरिवेष्ठित विकासशील मुलुकमा पु¥याउनका लागि सम्मेलन महत्वपूर्ण हुने उच्च जोखिममा रहेका देशका लागि संयुक्त राष्ट्रसङ्घका उच्च प्रतिनिधि रबाब फातिमाले औँल्याउनुभएको छ । उहाँका अनुसार सम्मेलनले ती देशमा विद्यमान विकासका चुनौतीलाई सम्बोधन गर्न र ती मुलुकको पूर्ण क्षमतालाई उजागर गर्न सम्मेलन मार्गदर्शक हुने छ । राष्ट्रसङ्घका अनुसार नेपाल जस्तो भूपरिवेष्ठित विकासोन्मुख मुलुकको समुद्रसम्म प्रत्यक्ष क्षेत्रीय पहुँच नहुँदा अन्तर्राष्ट्रिय व्यापार, सम्पर्क सञ्जाल र आर्थिक विकाससँग सङ्घर्ष गर्नु परिरहेको अवस्था छ ।
विश्वव्यापी बजारबाट पर रहेको, पर्याप्त यातायात र पूर्वाधार विकास नभएका भूपरिवेष्ठित विकासशील मुलुकका लागि दिगो विकास लक्ष्य प्राप्त गर्न फलामको चिउरा चपाउनु सरहको अवस्थालाई अन्त्य गर्न पनि यो सम्मेलन पथप्रदर्शक बन्ने जनाइएको छ । अति कम विकसित मुलुकको घेराबाट सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुन लागेको नेपालका लागि अबका चुनौती र अवसरको खोजी गर्ने सवालमा सम्मेलन पथप्रदर्शक बन्ने अपेक्षा गरिएको छ । सम्मेलनको मर्म अनुसार नेपालले आफ्नो तयारी गरेको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेलले जानकारी दिनुभयो ।
सरकारका विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतले सम्मेलनका लागि आवश्यक तयारी र योजनासहितको सुझाव यसअघि नै मन्त्रालयमा पठाइसकेका छन् । सम्मेलनमा पाँच वटा फरक अन्तर्क्रियात्मक सत्र सञ्चालन हुने जनाइएको छ । उद्घाटनपछिका विविध सत्रमा ‘भूपरिवेष्ठित विकासशील देशहरूमा समृद्धिका आधारका रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, विज्ञान, प्रविधि र नवप्रवर्तन’ शीर्षकमा बहस हुने छ ।
उद्घाटन सत्रको भोलिपल्ट ‘भूपरिवेष्ठित विकासशील देशहरूका लागि व्यापार, व्यापार सहजीकरण र क्षेत्रीय एकीकरणको रूपान्तरणकारी सम्भावनाको सदुपयोग शीर्षकमा गोलमेच सम्मेलनको आयोजना हुने तय भएको छ । सोही दिनको अर्को सत्रमा ‘भूपरिवेष्ठित विकासशील देशहरूमा जलवायु परिवर्तनको जोखिमलाई सम्बोधन गर्ने, अनुकूलन क्षमता वृद्धि गर्दै पुनरुत्थानलाई सुदृढ पार्ने र भूपरिवेष्ठित विकासशील देशहरूमा जलवायु परिवर्तन र प्रकोपहरूको जोखिम सम्बोधन’ शीर्षकमा पनि बहस हुने छ । तेस्रो दिन ‘भूपरिवेष्ठित विकासशील देशका लागि दिगो पूर्वाधार निर्माण, कनेक्टिभिटी सुदृढीकरण र निर्बाध पारवहन प्रणालीको प्रवर्धन’ शीर्षकमा छलफल हुने कार्यसूची छ ।
त्यस्तै सोही दिन ‘भूपरिवेष्ठित विकासशील देशहरूमा दिगो विकासका लागि स्रोतहरूको प्रावधान, परिचालन र विश्वव्यापी साझेदारीमा सुदृढीकरण शीर्षकमा विकासशील मुलुकले आफ्ना धारणा आदानप्रदान गर्ने छन् । प्रत्येक सत्रको बहसका क्रममा २५ देशका विकास साझेदार निकायका आठ जना थप विज्ञले बहस गर्ने छन् । यसअघि सन् २०१४ मा भएको दोस्रो सम्मेलनका निर्णय तथा त्यसपछिको अवस्थाका बारेमा तेस्रो सम्मेलनले समीक्षा गर्ने छ ।