काठमाडौँ, साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकाे जन्म १९८१ असार १५ गते भयो । १९९७ सालमा दाजु सहिद गङ्गालाल श्रेष्ठलाई तत्कालीन राणाशाहीले गोली हानी हत्या गरेपछि प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा उहाँ उत्प्रेरित हुनुभयो । सो समय नेपालमा खुला राजनीतिका लागि बन्देज थियो । त्यसैले, २००६ सालमा पुष्पलाल श्रेष्ठ र अरु चार जना निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठसहितको पाँच सदस्यीय नेकपाको संस्थापन समिति भारतमा गठन भयो । नेपाली कम्युनिस्ट आन्दोलन एवम् प्रजातान्त्रिक आन्दोलनका धरोहर पुष्पलालको निधन २०३५ साल साउन ७ गते भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो ।
पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा पुष्पलालका सुपुत्र उद्योगी उमेशलाल श्रेष्ठसँग गरिएको संक्षिप्त संवाद यहाँ प्रस्तुत गरिएको छ ।
बाल्यकालमा बुवासँगको सम्बन्ध कस्तो रह्यो ?
बाल्यकालमा उहाँसँगै रहनै पाइनँ । म सानै (चार, पाँच वर्ष) हुँदा उहाँ निर्वासित जीवन बिताइराख्नुभएको थियो । त्यसैले, उहाँसँग बस्नै पाइएन ।
बुवा पुष्पलाललाई परिवारको दृष्टिले कस्तो व्यक्तित्वको रूपमा सम्झनुहुन्छ ?
उहाँ अत्यन्तै नरम, अत्यन्त सफा हृदयको हुनुहुन्थ्यो । मलाई त्यति थाहा छ ।
पारिवारिक जीवन र राजनीतिक जीवनबिच उहाँ कसरी सन्तुलन मिलाउनुहुन्थ्यो ?
त्यो मलाई थाहै छैन भने नि ! म चार, पाँच वर्षको उमेर हुँदाखेरी उहाँ विदेश जानुभयो निर्वासनमा । अब हामी कहिलेकाहीँ वर्षको एकचोटी जान्थ्यौं । मेरो भेट हुने त्यति मात्रै थियो । सँगै बसेर पारिवारिक जीवन कहिल्यै बिताउनै पाइनँ ।
बुवाको कुनै यस्ता सम्झना योग्य क्षण छन् जुन अझै मनमा गढिएको छ ?
अत्यन्त दयालु हुनुहुन्थ्यो । आजभन्दा ५०, ५५ वर्ष अगाडिको कुुरा हो, एकपटक जाडो महिनामा उहाँको एक जना साथी आउनुभएको थियो । उहाँले आफ्नो साथीलाई त्यो एउटा मात्र कोट निकालेर तपाईं लगाउनुस् ! भनेर दिनुभएको थियो । त्यो म जहिल्यै पनि सम्झन्छु ।
उहाँको भूमिगत राजनीतिक जीवनका कारण परिवारले के–कस्ता चुनौतीहरू भोग्नुपर्याे ?
एउटा मान्छे भूमिगत छ पञ्चायतकालमा । कस्तो–कस्तो कष्ट हामीले खायौं होला विचार गर्नूस् न । मैले बयान गरिराख्नु नपर्ला ।
बुवाले लामो समय देशबाहिर बस्दा तपाईंहरूको जीवनमा कस्तो असर पर्याे ?
अब असर भनेको के र । आमाले बुवा र आमा दुवैको माया, ममता दिनुभएको थियो । अहिले हेर्दाखेरी हामी त्यो बेला सायद, मध्यमवर्गीय अथवा, निम्न मध्यमवर्गीय परिवार थियौं । जिन्दगी जेनतेन चलिहाल्थ्यो । अब बुवाको कमी मसँग हुनु त स्वाभाविक नै हो नि त । त्यसका लागि हामी प्रायजसो वर्षको एकचोटी भारत जान्थ्यौं । पछि अलि बुझ्ने बेला भइसकेपछि अब यस्तै रहेछ भन्ने बुझियो ।
उहाँको जीवनशैलीबाट तपाईंले कस्तो शिक्षा लिनुभयो ?
उहाँको जीवनशैली अहिलेका कम्युनिस्टहरूको जीवनशैलीभन्दा धेरै फरक थियो । साँच्चै नै साधारण । आफूले खान लागेको खाना पनि अरुलाई दिन तयार हुने मान्छे । एकदमै साधारण हुनुहुन्थ्यो ।
तपाईंका नजरमा उहाँको प्रमुख योगदान के–के हुन् ?
मुख्यतः हेर्नुस्, २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भयो । २००७ सालमा प्रजातन्त्रको आन्दोलन भयो । त्यसपछि मेरो बुवाको कुरा गर्ने हो भने जहिल्यै पनि प्रजातन्त्र पुनर्स्थापनामा जोड दिइराख्नुभयो । २०१७ सालमा महेन्द्रले जुन हत्याएको शासणसत्ता, पार्लियामेन्ट थियो त्यसको पुनर्जीवितको कुरा गरिराख्नुभयो । सायद, यसैमा थुप्रै कम्युनिस्टहरू विभाजित पनि भयो जस्तो लाग्छ । म राजनीतिक नभएको कारण म धेरै कुरा बुझ्दिनँ पनि । बुझ्न पनि खोज्दिनँ ।
बुवाको राजनीतिक विचार र कार्यशैलीले तपाईंलाई व्यक्तिगत रूपमा कस्तो प्रभाव पार्याे ?
परेन । केही प्रभाव परेन । अब हेर्नुस् उहाँको अवसानपछि मेरो काम सुरु भएको हो । त्यसले गर्दा खासै केही असर चाहिँ परेन ।
उहाँका विचारहरू अहिलेको समय सन्दर्भमा कति सान्दर्भिक छन् ?
उहाँको विचार सान्दर्भिक देखिएको २०४६ सालमा हो संयुक्त जनआन्दोलन भन्ने विचार । बाँकी कुरा यो कम्युनिस्ट आइडिओलोजी, सबै कुराको विषयमा म खासै कुरा गर्न चाहन्न ।
पुष्पलालको वैचारिक धरोहरलाई अहिलेको कम्युनिस्ट आन्दोलनले कति आत्मसात् गरेको छ भन्ने लाग्छ ?
आत्मसात् गरेको भए देश त उँभो लाग्थ्यो नि त ।