सात वर्षअघि मध्य पुसको ठिहीमा देशभरका जिल्ला विकास समितिका प्रमुख र उपप्रमुख सिन्धुपालचोकको गुफा डाँडामा भेला भए । भेला सामान्य थिएन, जलवायु सम्मेलन थियो । जलवायु विज्ञ र उच्च सरकारी अधिकारीको बाक्लै उपस्थिति हुने नै भयो । काठमाडौँबाट दुई घण्टामै पुग्न सकिने मेलम्ची नगरपालिकाबाट १९ किलोमिटर उत्तरपूर्वी दिशामा लमतन्न बसेको सुन्दर पर्वतीय क्षेत्र अर्थात् गुफाडाँडाले देशीय जलवायु सम्मेलन सजाउँदा सम्भावनाका अनेक आयाम खुल्ने आशा बढ्यो । समुद्री सतहबाट दुई हजार २५० मिटरको उचाइँले हिउँदमा शून्य डिग्री वरपर तापमान बोकिरहेको थियो । तापमान चिसो भए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको सम्मेलनको रापताप भने उच्च हुने नै भयो । सम्मेलन सामान्य थिएन, भव्य थियो । सङ्घीय सरकारको सक्रिय सहभागितासँगै पूर्वाधार विकासको गहन प्रतिबद्धता थियो । स्थानीयले प्रशस्त आश्वासन पाए । विसं २०७५ को पुस १६ र १७ गते आयोजना गरिएको त्यस सम्मेलन जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका महासन्धि (कोप) को नेपालको पूर्वतयारीसमेत थियो । कोप पूर्वतयारीका निम्ति गरिएको सम्मेलनमा पर्यटकीय पूर्वाधार विकासलगायतका कार्यसूची समेट्दै १० बुँदे घोषणापत्र पनि जारी भयो ।
यो सात वर्षमा मेलम्चीमा धेरै पानी बग्यो । सम्मेलनको तीन वर्षपछि बाढीले सुन्दर मेलम्ची बजार स्थानीयले हेर्दाहेर्दै ध्वस्त भयो । अझै राम्ररी उठ्न सकेको छैन । अथक प्रयास गर्दै छ । सङ्घ र प्रदेश सरकारले नीति, योजना र बजेटमा गुफा डाँडाको त्यो भव्य सम्मेलनका प्रतिबद्धता चटक्कै बिर्र्सिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । मेलम्ची बजारकै पुनर्निर्माणमा पनि राम्ररी ध्यान पुग्न नसकेको गुनासो छ । राजधानी काठमाडौँबाट नजिकै अनेक सम्भावनाको खोजीमा सञ्चारकर्मीलाई जोड्न सम्पादक समाज नेपालले प्रयास गरिरहेको छ । त्यसै क्रममा असार २८ गते शनिबार सम्पादक समाजको अगुवाइमा राजधानीमा काम गर्ने मूलधारका एक सय जनाभन्दा बढी सञ्चारकर्मीलाई गुफाडाँडाको पदयात्रामा पु¥यायो । नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकका सञ्चारकर्मीले कार्यक्रमलाई थप सहभागितामूलक बनाए । वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदानलाई स्थलगत अनुभूति र अन्तर्क्रियाका साथ मिडिया सामग्री सम्पे्रषणमा सहयोग पु¥याउने उद्देश्य आफैँमा सिर्जनशील देखिन्छ ।
सम्पादक समाजको यस्तो सिर्जनशील क्रियाशीलतामा गुफाडाँडा दोस्रो संस्करण हो । यसअघि अघिल्लो वर्षको भदौमा सम्पादक समाजले नुवाकोटको लौके झरनामा राजधानीको १५० हाराहारी सञ्चारकर्मी लगेर पर्यावरणीय अवस्थितिको गहन अवलोकन गरेको थियो । त्यसयता लौके झरना र वरपर पर्यटकीय आकर्षणसँगै पूर्वाधार विकास हुन थालेको सन्देश सुखद छ । यस्ता सुकार्यले स्वाभाविक रूपमा देशकै पर्यटकीय विकासका निम्ति सानो भए पनि योगदान पुग्न सक्ने छ । यस्ता कार्यमा सरकारकै पर्यटन र पर्यावरणसम्बद्ध निकायले अगुवाइ गरे अझ कति उत्तम हुने थियो ? लौके झरना र गुफाडाँडा जस्ता राजधानी नजिकैका अनेकौँ स्थानले पर्यटकीय आयाम फराकिलो बनाउन सम्भव हुने थियो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ जलवायु सम्मेलन गरिएको गुफाडाँडामा सङ्घ र प्रदेश सरकारले ध्यान दिन नसकेको जानकारी दिनुहुन्छ । उहाँ सङ्घ र प्रदेशले जलवायु जोखिममा रहेको यो क्षेत्रलाई नीति, योजना, कार्यक्रम र बजेटमा समेट्न अब ढिला गर्न नहुने बताउनुहुन्छ । सङ्घ र प्रदेशले पर्यटकीय सम्भावनाको यो क्षेत्र समेट्न नसके पनि स्थानीय सरकारको क्रियाशीलतामा केही पूर्वाधार बन्ने क्रम भने अगाडि बढेको छ । मेलम्चीसँग १९ किलोमिटर कच्ची सडकले गुफाडाँडा जोडिएको छ । पदयात्रा मार्ग बन्ने क्रममा छन् । घरबास खुल्न थालेका छन् । स्थानीय तामाङ संस्कृति र संस्कारलाई संस्थागत गर्ने प्रयास अगाडि बढेको छ । सम्मेलनस्थलमा पार्क बन्दै छ । पहिलो सम्मेलनमै देशकै ७७ जिल्लाका झन्डा फहराइरहेका छन् । कपडाको झन्डा फेरिरहने झन्झटले अब फलामकै दिगो झन्डा राख्ने योजना पनि अगाडि बढेको छ । मेलम्ची वडा नं. ९ का वडाध्यक्ष किरण खड्का स्थानीयवासीको सक्रियतामा सुन्दर गुफाडाँडालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।
डाँडाको माथि झन्डै एक सय मानिस अटाउन सक्ने गुफा छ । गुफा धार्मिक र सांस्कृतिक महìवको छ । डाँडाको माथि विकट स्थानमा रहेको त्यही गुफाका नामले ठाउँकै नाम गुफाडाँडा भएको रहेछ । असार २८ गते सबै सञ्चारकर्मी भने गुफामा पुग्न सकेनन् । तलकै सम्मेलनस्थलमा बनेको पार्कवरपरको मनोरम सुन्दर प्रकृतिको रस्वादन र स्थानीयसँग औपचारिक वा अन्तर्क्रियाले नै समय धेरै लियो ।
वास्तवमा पर्यटकीयस्थल गुफाडाँडा आफैँमा जलवायु परिवर्तनको मार खेपेको ठाउँ भन्न सकिने रहेछ । त्यस डाँडाबाट छ्याङ्ङ खुलेको बेला उत्तरतर्फ चाँदी जस्तै टल्कने हिमशृङ्खला देख्न सकिने छ । राजधानी नजिकैको जुगल हिमाललाई राम्ररी नियाल्न सकिन्छ । जुगल हिमालसँगै दोर्जे लाक्पा र लाङटाङ हिमशृङ्खलासमेतले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने छ । अपार सम्भावना भएको मनोरम स्थलले पर्यटक आकर्षण गर्न सक्ने भए पनि कुनै आवश्यक पूर्वाधार यहाँ बन्न सकेको छैन । वातावरणलाई जोगाउँदै होटेल र रिसोर्ट स्थापना र विस्तारका निम्ति अब स्थानीय सरकारले निजी क्षेत्र र लगानीकर्तासँग सघन गृहकार्य गर्नुपर्ने देखिन्छ । यसमा सङ्घ र प्रदेशका सम्बद्ध निकायको ध्यान पनि पुग्नु पर्छ ।
बाढी, पहिरो, भूकम्प आदिले सिन्धुपाल्चोक जिल्ला आफैँमा जलवायु परिवर्तनका जोखिमबाट पीडित छ । त्यसो त जलवायु परिवर्तनका असरको कारकमा नेपाल जस्ता देशको कुनै ठुलो दोष छैन । विश्व तापमान बढाउने कार्बन उत्सर्जनमा नेपालको योगदान अति न्यून छ । चीन, अमेरिका र भारत जस्ता देशले अझै पनि व्यापक मात्रामा कार्बन उत्सर्जन गरिरहेका छन् । औद्योगिक क्रान्तिपछि जैविक इन्धनको व्यापक दोहनले समृद्धि हासिल गरेका विकसित देशले कोप सम्मेलनलगायतमा जलवायु वित्तको प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तो जलवायु वित्त नेपालले पनि प्राप्त गर्न सक्ने बाटो खुलेको छ तर त्यसमा गहन अध्ययन र अनुसन्धानको खाँचो छ । जलवायु परिवर्तनका असरबाट गम्भीर क्षति पुगेको मेलम्चीका साथै सिन्धुपाल्चोक जिल्लामा परेको जलवायु असर गहन अध्ययनको खाँचो छ । त्यस्तो अध्ययन र गृहकार्यले जलवायु वित्तले समेट्ने हानिनोक्सानीको वित्त सिन्धुपाल्चोक जस्ता जिल्लाको पुनर्निर्माणमा प्राप्त हुन सक्ने छ । गुफाडाँडा जस्ता पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणमा जलवायु वित्तको हक राख्ने देखिन्छ । मेचम्चीको बाढी व्यवस्थापन तथा पुनर्निर्माणमा पनि जलवायु वित्तको पहुँच पु¥याउन स्थानीय सरकारदेखि सम्बद्ध निकायले ध्यान दिनु आवश्यक छ ।
देशको समृद्धिमा पर्यटन, कृषि र जलस्रोत नै मूल खम्बा हुन् । राजधानी उपत्यकाको ठुलो जनसङ्ख्या आन्तरिक पर्यटनका निम्ति नजिकै भौतारिरहेको छ । नगरकोट, धुलिखेल, चन्द्रागिरि आदिको सीमित पर्यटकीय स्थलले मात्र बढ्दो पर्यटकीय माग र आकाङ्क्षा धान्न सक्दैन । राजधानीको उपत्यका वरपरका जिल्लाहरूमा अनेक पर्यटकीय गन्तव्य छन् । तिनको खोजी गर्न अब ढिला गरिनु हुन्न । राजधानीबाट तीन/चार घण्टामा पुग्न सकिने गुफाडाँडा जस्तै अनेकौँ पर्यटकीय स्थलको खोजी गरी पूर्वाधार विकासमा लाग्नु पर्छ । सडक, पिउने पानी, विद्युत्लगायतको पूर्वाधार विस्तारले पर्यटकीय उत्पादन विकास गर्न निजी क्षेत्र आकर्षित हुन सक्ने छ । स्थानीय सरकार सकारात्मक हुँदा पर्यटकीय पूर्वाधार विकासका योजना अगाडि बढाउन सहज हुने छ ।
उपत्यकाका विद्यालय तथा कलेजका विद्यार्थी नजिकैका गाउँमा पुगेर त्यहाँको जनजीवनमा केही दिन घुलमिल हुन सक्दा सिकाइका नयाँ आयाम विस्तार हुने छ । नेपाली जनजीवन बुझिने छ । त्यसै गरी सरकारी, सङ्घ संस्था तथा निजी क्षेत्रकै कर्मचारीलाई पनि दुई/तीन दिनको प्याकेजमा उपत्यका वरपरका गाउँमा पुग्ने वातावरण बनाउन सक्नु पर्छ । केही संस्थाले यस्तो प्रयास गरेका पनि छन् । यसले सहरलाई गाउँसित जोड्दै आर्थिक तथा सामाजिक विकासका नयाँ चरण आरम्भ गर्न पनि सघाउ पुग्ने छ ।
पर्यटकीय विकासमा सकभर गाउँकै उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने छ । कृषि उत्पादनमा पनि अर्गानिक उत्पादनलाई जोड्दै ग्रामीण पर्यटन अगाडि बढाउँदा देशभित्रै रोजगारीका अनेक आयाम खुल्ने छन् । राजधानी काठमाडौँ वरपर मात्र होइन, देशकै ठुला सहरका वरपरका गाउँलाई पर्यटन र उत्पादनबाट सहरसित जोड्न सक्दा रोजगारी र स्वरोजगारीको अनेकौँ बाटा खुल्ने छन् । स्थानीय कृषि उत्पादन, खानाको पनि विविधता, सांकृतिक विविधतासँगैको खानाको परिकारले पर्यटनको विस्तार हुन सक्ने छ । आन्तरिक पर्यटनको पहुँच विस्तारले फैलने पूर्वाधार विस्तारले बाह्य पर्यटकका निम्तिसमेत पूर्वाधार बन्दै जाने छ । देश राजधानीमा र अन्य सहरमा अवस्थित ठुलठुला तारे होटेलले राजधानीको ५० किलोमिटर वरपर ससाना होटेल खुलाउँदै जाने र तिनलाई ग्रामीण पर्यटनसित जोड्न सक्दा पर्यटन बजारको विस्तार हुन सक्ने छ ।
ठुला तारे होटेलले आफ्ना बाह्य पर्यटकलाई नेपालभित्र बढी दिन टिकाउन, बसाइ लम्ब्याउन सक्दा आयमा वृद्धि हुने छ । त्यसका निम्ति त्यस्ता राजधानी केन्द्रित तारे होटेलले गुफाडाँडा जस्ता अनेक उर्वर पर्यटकीय स्थलमा ससाना होटेल, रिसोर्ट विस्तार गरे आन्तरिक तथा बाह्य पर्यटनको नयाँ अवसर प्राप्त हुने छ । त्यसमा पदमार्ग जोड्न सकिन्छ । पदयात्राको विकासले पर्यटकीय बजार विस्तार हुने छ । पदयात्रा, खेल पर्यटनलगायतका निम्ति पर्यटकीय पूर्वाधार त्यसै अनुरूप विस्तार गरिनु भने आवश्यक छ । हाइकिङ प्रवृत्ति अहिले नयाँ पुस्तामा पनि बढ्दो छ । अध्ययन अनुसन्धान, गोष्ठी आदिमा पनि ठुलो समूह राजधानी नजिकै पुग्न चाहन्छन् तर चाहना अनुसारको पूर्वाधार विकास हुन सकेको छैन । सीमित स्रोतसाधनका कारण सरकारले मात्र पर्यटकीय पूर्वाधार विस्तार गर्न पनि सक्दैन । निजी सार्वजनिक साझेदारीका माध्यमबाट पर्यटनको पूर्वाधार विस्तार गर्न सकिन्छ । कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान बढाउन सकिन्छ ।