• १५ मंसिर २०८२, सोमबार

एचआइभी नियन्त्रणमा के कस्ता चुनौती छन् ?

blog

काठमाडौँ, मङ्सिर १५ गते । एड्सबाट मृत्यु भएका व्यक्तिहरूको सम्झना प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन्छ । 

यो वर्ष पनि ‘अवोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाइदै छ । यो दिवसले एचआइभी र एड्सका बारेमा जनचेतना फैलाउने उद्देश्यले सरकारले प्रत्यक वर्ष विश्व एड्स दिवस मनाउँदै आएको छ । 

यो दिवसले एचआइभी र एड्सका बारेमा जनचेतना फैलाउ मात्र नभइ प्रभावित व्यक्ति, परिवार र समुदायलाई कसरी रोकथाम, उपचार र सहयोग सुनिश्चित गर्न सरोकारवालाको ध्यानाकर्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष विश्व एड्स दिवस मनाउने गरेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सर्वेश शर्मा बताउनुहुन्छ । 

नेपालमा एचआइभीको जोखिम अझै पनि कायम नै छ। व्यक्ति, परिवार र समुदायहरू अझै पनि एचआइभी सङ्क्रमणको जोखिममा रहेको डा. शर्माको भनाइ छ ।

 युएनएड्सको प्रतिवेदनअनुसार विश्वमा सन् २०२४ को अन्त्यसम्म करिब नौ मिलियन एचआइभी सङ्क्रमित उपचारको दायरा बाहिर छन् ।  सन् २०२४ मा १.३ मिलियन व्यक्ति सङ्क्रमित भएका थिए ।

राष्ट्रिय एड्स, तथा यौनरोग केन्द्रको तथ्याङ्क अनुसार नेपालमा सन् २०२४ को अन्त्य ३४ हजार ३३७ जना एचआइभी सङ्क्रमित भएको अनुमान छ, जसमध्ये ७७ प्रतिशतले उपचार पाएका छन् । 

सन् २०२४ मा मात्रै ५६९ व्यक्तिको एड्सका कारणले मृत्यु भएको अनुमान छ । यो सन् २०१० को तुलनामा ८६ प्रतिशतले घटेको हो । 

सरकारले यो रोगलाई रोकथाम गर्न देशका ६४ जिल्लामा ९६ एआरटी केन्द्रबाट एन्टीरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ । 

 उच्च जोखिममा रहेका समूहहरू जस्तै लागुपदार्थको प्रयोग गर्ने यौनकर्मी, पुरुष समलिङ्गी, तथा तेस्रोलिङ्गी यौनकर्मीमा एचआइभी सङ्क्रमण बढी छ । 

अहिलेसम्मको तथ्याङ्क हेर्दा लागूपदार्थ प्रयोग गर्नेमा ३ प्रतिशत, महिला यौनकर्मीमा २.२ प्रतिशत पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा काम गर्न जाने नेपाली कामदारमा ०.२ प्रतिशत रहेको छ ।सरकारले सन् २०३० मा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । 

सन् २०३० सम्मा एड्सको महामारीलाई अन्त्य गर्न एचआइभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर ९५–९५–९५ अवधारण अघि सारेको छ । 

एचआइभी कार्यक्रममा ९५–९५–९५ अवधारण मध्य तेस्रो ९५ को लक्ष्य प्राप्त गर्न कठिन भएको डा. शर्मा बताउनुहुन्छ । 

३८ औँ विश्व एड्स दिवसको अवसरमा एचआइभी र एड्सको विषयमा केन्द्रित भई राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सर्वेश शर्मासँग तयार पारिएको भिडियो संवाद :

भिडियो : मनोजरत्न शाही