- जोर्नीभित्र निश्चित मात्रामा एक प्रकारको चिप्लो खालको तरल पदार्थ पनि हुन्छ । यसलाई ‘साइनोभियल फ्लुइड’ भनिन्छ ।
- मध्यम अवस्थाको समस्या भए व्यायाम, फिजियोथेरापीसँगै खिइएको जोर्नीमा स्टेरोइड सुई लगाइन्छ ।
शरीर जति बुढो हुँदै जान्छ त्यति नै विस्तारै शरीर कमजोर हुँदै जान्छ । यस्तोमा खानपान तथा जीवनशैलीमा ध्यान दिएन भने विभिन्न स्वास्थ्य समस्याले गाँज्दै लान्छ ।
उमेर ढल्किँदै गएपछि बढीजसो सताउने यस्तै समस्यामध्ये जोर्नी खिइने समस्या पनि एक हो । जोर्नी खिइएमा शरीरलाई चुस्त ढङ्गले चलायमान राख्ने र हड्डीको संरक्षण गर्ने जोर्नीको कार्यमा बाधा पुग्छ । कालान्तरमा जोर्नीले काम गर्न सक्दैन । शरीरको गतिविधि नै प्रभावित हुन्छ ।
जोर्नी कसरी निर्माण हुन्छ ?
शरीरलाई चलायमान राख्नका लागि सबैखाले जोर्नीको भूमिका हुन्छ । कुरकुरे हड्डी (कार्टिलेज), जोर्नीभित्रको चिप्लो स्राव (साइनोभियल फ्लुइड), मांसपेशी र टेन्डन (मांसपेशी र हड्डी जोड्ने) जस्ता तन्तुको समूहबाट नै जोर्नीको निर्माण हुन्छ । हरेक जोर्नीलाई सामीप्यमा रहेका कुरकुरे हड्डीले ढाकेको हुन्छ । जोर्नीले हड्डी सर्न, एकआपसमा घर्षण हुन र आपसमा ठोक्किन दिँदैन । जोर्नीको ठिक बाहिरपट्टि कडा खालको लिगामेन्ट हुन्छ । जसले जोर्नीलाई स्थिरता दिन्छ ।
त्यस्तै जोर्नीभित्र निश्चित मात्रामा एक प्रकारको चिप्लो खालको तरल पदार्थ पनि हुन्छ । यसलाई ‘साइनोभियल फ्लुइड’ भनिन्छ । स्वतन्त्र रूपमा चल्ने जोर्नीहरूलाई जाम हुन रोक्न जोर्नीको समूह कुरकुरे हड्डी, मांसपेसी, ‘कार्टिलेज’, ‘साइनोभियल फ्लुइड’ र टेन्डनले संयुक्त रूपमा मद्दत गर्छन् ।
‘साइनोभियल फ्लुइड’ सँगै ‘कार्टिलेज’ को मद्दतले हिँडडुल गर्ने र हलचल गर्ने क्रममा घर्षण हुनबाट जोर्नीलाई बचाउनुका साथै राम्रोसँग चलाउन मद्दत पुग्छ । जोर्नीमा हड्डीसँग जोडिएका बाक्लो र कडा खालको मांसपेशी तन्तुलाई टेन्डन भनिन्छ ।
जोर्नी शरीरको सबै भागमा हुन्छन् । तिनको प्रकार थरीथरी हुन्छ । कुनै जोर्नी चल्ने खालका र कुनै नचल्ने खालका हुन्छन् । जस्तै हातखुट्टा, कम्मर र गर्धनको जोर्नी चल्ने खालका हुन् । जोर्नीको मद्दतले हड्डीलाई चलायमान बनाउँछ । यसैको मद्दतमा निहुरिन, खुम्चन, उफ्रिन, हिँड्न, हातखुट्टा चलाउन, शरीरलाई मोड्न सक्षम भइन्छ ।
जोर्नी खिइने समस्या
मानव शरीरको जोर्नी प्रायः दुई वटा हड्डीको सामीप्यले बनेको हुन्छ । यसरी एकआपसमा सम्मुख हड्डी शरीर चलायमान बनाउने क्रममा रगडिएर नखिइयोस् भन्नका लागि ती हड्डीलाई कार्टिलेज नामक कुरकुरे हड्डीले ढाकेको हुन्छ । जोर्नीको बीच निश्चित मात्रा ल्युब्रिकेन्ट (चिप्लो बनाउने) स्राव पनि रहन्छ ।
जोर्नीलाई वरिपरिबाट मांसपेशीले टेवा दिइराखेको हुन्छ । कुनै कारणवश जोर्नीका तन्तु, त्यहाँको मांसपेशी र कुरकुरे हड्डी पातलिँदै जाने अवस्थालाई बोलीचालीको भाषामा जोर्नी खिइएको भनिन्छ भने चिकित्सा भाषामा यसलाई ‘ओस्टिओआथ्राइटिस’ भनिन्छ ।
जोर्नी खिइने समस्या विश्वभरि नै छ । हाल विश्वका ५५ वर्ष वा सोभन्दा माथिका ८० प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको जोर्नी खिइने समस्याबाट पीडित छ । दी ल्यान्सेट रुमाटोलोजी जर्नलमा प्रकाशित एक अध्ययनको निष्कर्ष अनुसार सन् २०५० सम्ममा विश्वभर करिब एक अर्ब मानिस जोर्नी दुख्ने समस्या (ओस्टियोआथ्राइटिस) बाट प्रताडित हुने अनुमान गरिएको छ ।
उक्त निष्कर्ष विश्वका करिब दुई सय देशमा ३० वर्षसम्म गरिएको जोर्नी खिइने समस्याको अध्ययनको थियो । सन् १९९० मा २५ करोड मानिस मात्र यस समस्याबाट पीडित थिए भने सन् २०२० मा यो सङ्ख्या १३२ प्रतिशतले बढेर साढे ५९ करोड मानिसमा यो समस्या देखियो । बढ्दो आयु, जनसङ्ख्या वृद्धि र मोटोपनाका कारण विगत तीन दशकमा यससम्बन्धी मामिला तीव्र रूपमा बढेको उल्लेख छ ।
कसरी खिइन्छ जोर्नी ?
जोर्नीको वरपर मांसपेशी हुन्छन् । जसको काम जोर्नीलाई आड दिएर सन्तुलनमा राख्नु हो । जब मांसपेशी कमजोर हुँदै जान्छ तब जोर्नी बसेको ठाउँको सन्तुलन बिग्रिन्छ । कुरकुरे हड्डी क्रमशः पातलिँदै जान्छ । सम्मुखका दुई हड्डीलाई मुलायम तवरले अड्याएर राखेको कुरकुरे हड्डी पातलिएपछि हड्डीबीच घर्षण हुन थाल्छ । घर्षण हुँदै गएपछि हड्डीको छेउछेउमा नयाँ हड्डी पलाउँछ । जोर्नीभित्र रहेको एक प्रकारको चिप्लो तरल पदार्थ (साइनोभियल फ्लुइड) हड्डीमा पसेर सिस्ट (फोका) बन्न थाल्छ । अनि हड्डीबीच हुनुुपर्ने अन्तर (ग्याप) हराएर हड्डीहरू जोडिएको जस्तो देखिन्छ । यो नै जोर्नी खिइने प्रक्रिया हो ।
मानव शरीरका कुनै पनि जोर्नी खिइन सक्छ तर सबैभन्दा बढी शरीरको भार थेग्ने भागका जोर्नी जस्तै घुँडा, मेरुदण्ड र कम्मरको जोर्नी बढ्ता खिइन्छ । धेरैलाई सताउने समस्या पनि यी नै हुन् ।
कारण
महिलामा यो समस्या प्रायः रजनोवृत्तिपछि (महिनावारी सुकेपछि) हुन सक्छ । पुरुषमा ६०–७० वर्षको उमेरपछि जोर्नी कमजोर हुन थाल्छ । अर्थात् उमेर ढल्किँदै गएपछि यो समस्याले सताउन थाल्छ । मानिसको उमेर बढेसँगै शरीरका अङ्गको कार्यक्षमता घट्दै जान्छ । दाँतको जराले ठाउँ छाडेर दाँत झर्न थाले जस्तै हाड तथा जोर्नी र शरीरको मांसपेशी पनि विस्तारै कमजोर हुँदै जान्छन् । यी अङ्गमा क्षति हुँदै गएमा विस्तारै जोर्नी खिइन थाल्छ ।
यस्तोमा सामान्य चोटपटक लाग्दा पनि जोर्नी खिइन सक्छ । यसको मुख्य कारण बुढ्यौली भए पनि शतप्रतिशत सबैमा हुन्छ भन्ने हुँदैन । त्यसै गरी धेरै उकालो ओरालो हिँड्ने, लामो समयसम्म निहुरिएर काम गर्ने, अत्यधिक तौल उठाउने र भारी बोक्ने व्यक्तिमा यो समस्या उमेरअगावै पनि देखिन सक्छ । एउटै जोर्नी आवश्यकभन्दा बढी बारम्बार प्रयोग भएमा पनि छिटो खिइन सक्छ । जोर्नीमा क्षयरोग जस्ता सङ्क्रमण भई कुरकुरे हड्डीमा असर गरेमा, बाथ तथा युरिक एसिड बढेर जोर्नीको झिल्ली (कार्टिलेज) मा असर गरेमा, चोटपटकका कारण रक्तप्रवाहमा अवरोध पुगेमा पनि जोर्नी खिइन थाल्छ । अत्यधिक धुमपान तथा मदिरापान गर्नेहरूको जोर्नी पनि छिटो खिइने गरेको छ ।
जोर्नी खिइएपछि देखिने समस्या
जोर्नी खिइने प्रक्रिया सुरुवात भएसँगै हल्का दुखाइ सुरु हुन्छ । विस्तारै जोर्नी खिइएको भाग अररिई जोर्नी चलायमान राख्न कठिन हुन थाल्छ । जसकारण दैनिक रूपमा गर्ने काम गर्न पनि नसक्ने हुन्छ । जस्तै पलेँटी कसेर बस्दा, हिँडडुल गर्दा, बसेपछि उठ्नै नसक्ने, काम गर्दा, भ¥याङ चढ्दा वा ओर्लिंदा असहज हुन्छ ।
जोर्नी दुख्ने क्रम यथावत् रहेमा त्यो दुखाइ बढ्दै जान्छ र सहनै नसक्ने अवस्था आउँछ । जोर्नी खिइने समस्या बढ्दै गएमा डिप्रेसनसमेत गराउन सक्छ । किनकि दैनिक काम गर्न नसक्ने अवस्थामा अरूमा भर पर्नुपर्ने र सहन नसक्ने दुखाइ हुने जस्ता समस्याका कारण मानसिक समस्या देखिन थाल्छ ।
मेरुदण्डको जोर्नी खिइएमा ढाड दुख्ने, धेरै खिइँदै गएपछि ढाडको नसा च्यापिने र विस्तारै हातखुट्टा चलाउन गाह्रो हुँदै जाने हुन्छ । यस समस्याको पहिचानका लागि एक्सरे, एमआरआई, सिटी स्क्यान, डेक्जा स्क्यान र अल्ट्रासाउन्ड गर्न सकिन्छ ।
उपचार
उपचार हड्डीहरू कति खिइएसकेको छ भन्नेमा भर पर्छ । जोर्नी खिइने समस्या सुरुवाती चरणमा छ भने घरेलु उपचार गर्न सकिन्छ । यदि खिइन सुरु मात्र गरेको छ भने घरमै खानपान र जीवनशैलीमा ध्यान दिए केही हदसम्म निको पार्न सकिन्छ । जस्तै फिजियोथेरापी गर्ने, शारीरिक व्यायाम गर्ने, पानी पर्याप्त मात्रामा पिउने, भिटामिनयुक्त खानेकुरा खाने, चिकित्सकलाई देखाएर आवश्यक परे क्याल्सियम सप्लिमेन्ट खाने तथा दुखाइ महसुस भए खाने र लगाउने औषधी प्रयोग गर्नु पर्छ । औषधोपचारका लागि चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।
मध्यम अवस्थाको समस्या भए व्यायाम, फिजियोथेरापीसँगै खिइएको जोर्नीमा स्टेरोइड सुई लगाइन्छ । त्यसै गरी चोटपटक तथा युरिक एसिडको समस्याले जोर्नी खिइएको हो भने त्यसलाई पनि व्यस्थापन गर्नु पर्छ । यदि यी उपचारले आशातित उपलब्धि हासिल नभएमा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन सक्छ ।
कमजोर जोर्नी कसरी बलियो बनाउने ?
नियमित शारीरिक व्यायाम गर्ने, जोर्नीलाई हानि गर्ने र जोखिम पु¥याउने कारक तत्वबाट टाढा रहने, कडा खालको शारीरिक श्रम नगर्ने, शरीरले थाम्न नसक्ने तौल नउठाउने, भिटामिन, फस्फोरस र क्याल्सियमयुक्त खानेकुरामा जोड दिने र जोर्नीमा सङ्क्रमण भएमा तत्काल उपचार गर्नु पर्छ ।
के हो जोर्नी प्रत्यारोपण ?
जोर्नी खिइएको समस्याको अन्तिम विकल्प भनेको जोर्नी प्रत्यारोपण मात्रै हो । प्रत्यारोपण भनेको खिइएको जोर्नी निकालेर त्यसको ठाउँमा धातुको (कृत्रिम) जोर्नी राख्नु हो । प्रत्यारोपित जोर्नीले प्रत्यारोपणपछि १५ देखि २० वर्षसम्म प्राकृतिक जोर्नीले जस्तै सहज ढङ्गले काम गर्न सक्छ । यद्यपि तत्काल सङ्क्रमणमा रहेको जोर्नीको प्रत्यारोपण गर्नु हुँदैन । सङ्क्रमण भएमा औषधीले निको पारेर मात्र जोर्नी प्रत्यारोपण गर्नु पर्छ ।
–युवामञ्च