• १७ साउन २०८२, शनिबार

बेवास्तामा परेको जेरियाट्रिक हेल्थ

blog

कसलाई दीर्घायु हुन मन लाग्दैन र ? तर लामो आयु अर्थात् दीर्घजीवनसँगै विविध खालका स्वास्थ्य समस्या वा रोग पनि जोडिएर आउँछन् । बुढ्यौलीकै कारण कतिपय पृथक् एवं फरक खाले स्वास्थ्य समस्या देखा पर्छन् । यही बुढ्यौली बेलाका स्वास्थ्य समस्याको व्यवस्थापन गरिने चिकित्सा विज्ञानको फरक विधा हो– जेरियाट्रिक ।

जेरियाट्रिकसँग जेरेन्टोलोजी भनिने विषय झुक्किने खालको छ । जेरेन्टोलोजी खासमा एक बहुविधागत अध्ययन हो । यसमा बुढ्यौली प्रक्रियाको बहस गरिन्छ । यसमा मानवीय अङ्गको चोट, रोगव्याधि, वातावरणीय जोखिम एवं व्यवहारजन्य जोखिमका कारण बुढ्यौलीमा देखिने स्वास्थ्य समस्याको कुनै सरोकार छैन । 

जेरियाट्रिक विधा अन्तर्गत प्रौढ व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्याको रोकथाम, समयमै निदान (डायग्नोसिस) एवं उपचारको कुरा गरिन्छ । नेपालको हकमा यो विधा नौलो जस्तो लागे पनि विकसित देशमा यो निकै अगाडिदेखि अभ्यासमा रहेको छ । 

विश्व परिवेश

संयुक्त राष्ट्र सङ्घको परिभाषा अनुसार ६० वर्षभन्दा माथिकोलाई प्रौढ मान्ने गरिन्छ । विश्वका मानिसको औसत आयुमा सन् १९९० को ६४.२ वर्षबाट सन् २०१९ मा ७२.६ वर्ष पुगेर वृद्धवृद्धाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । सन् २०५० सम्ममा ७७.१ वर्षसम्म पुग्ने अनुमान गरिएको छ । 

यसरी विश्वमा सन् २०१५ मै करिब ९० करोडभन्दा बढी मानिस ६० वर्षमाथिका थिए भने यो सङ्ख्यामा सन् २०१५ देखि २०३० सम्ममा ५६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । युरोप र उत्तरी अमेरिकामै ६० वर्षमाथिका प्रौढको हिस्सा २५ प्रतिशतभन्दा बढी पुगिसकेको छ । विश्वमा २५ वर्षपछि एक अर्ब ३० करोड मानिस बुढ्यौलीमा पुग्ने छ । 

उत्तर अफ्रिका, पश्चिमी एसिया र ल्याटिन अमेरिकामा बुढ्यौली जनसङ्ख्याको वृद्धि गति तीव्र छ । अब सय वर्षसम्म बाँच्ने मानिसको सङ्ख्या तीन गुणाले बढ्ने अनुमान गरिएको छ तर पनि यस अवधिमा सामान्यभन्दा अधिक प्रगति भएको देखिएको भए पनि विशेषतः अल्प विकसित देशमा असमानता अझै पनि कायम छन् ।

सन् २०३० सम्मको दिगो विकास लक्ष्य अन्तर्गतका २७ शीर्षकमध्ये १२ शीर्षक जेरियाट्रिकसँग जोडिएको छ भने गरिबी निवारण (पहिलो शीर्षक), राम्रो स्वास्थ्य एवं स्वस्थता (तेस्रो शीर्षक), असमानतामा कमी (दशौँ शीर्षक) र दिगो शहर एवं समुदाय (एघारौँ शीर्षक) जेरियाट्रिकसँग प्रत्यक्ष जोडिएको छ । सुखद कुरा यी दिगो विकास लक्ष्य प्राप्त गर्ने दिशामा नेपालले पनि प्रतिबद्धता जनाएको छ । त्यसो भएर नेपालले जेरियाट्रिकलाई लिएर विगतमा ढिलासुस्ती वा नपुग तयारी गरेको भए पनि अब त्यो छुट छैन ।

नेपालको अवस्था

नेपालीको आर्थिक स्तरमा सुधार, खानपानमा सुधार एवं स्वास्थ्य सेवामा पहुँचका कारण नेपालीको सरदर आयु पनि बढ्दो छ । हाल नेपालीको औसत आयु ७० (महिला) र ६७ (पुरुष) वर्ष छ । २०६२ सालमा ल्याइएको ज्येष्ठ नागरिक ऐनले ६० वर्षपछिको उमेर समूहलाई ज्येष्ठ नागरिकका रूपमा परिभाषित गरेको छ । २०६८ र २०७८ को जनगणना अवधिको बीचमा नेपालको पहाडी क्षेत्रमा वृद्धवृद्धाको जनसङ्ख्या उल्लेखनीय वृद्धि भएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार नेपालमा बालबालिकाको जन्मदर भने घट्दै गएको छ । २०६८ सालमा नेपालमा ६० वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्या ८.१ प्रतिशत थियो तर २०७८ मा यो समूहको जनसङ्ख्या १०.२ प्रतिशत पुग्यो । २०७८ को राष्ट्रिय जनगणनाले नेपालमा बुढ्यौली सूचकाङ्क बढ्दै गएको देखाएको छ । २०७८ को जनगणना अनुसार प्रौढको सङ्ख्या करिब १०.२१ प्रतिशत छ । जुन २०६८ सालको दाँजोमा ३८.२ प्रतिशतले बढी हो । 

विक्रम संवत् २१११ सम्ममा नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ । तथ्याङ्क अनुसार २०४८ सालदेखि बुढ्यौली उमेर समूह लगभग तीन गुणाले बढेको छ । यसले नेपालको जनसङ्ख्या युवा बहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको छ । यसरी मुलुकमा एकातिर जन्मदर र मृत्युदर घटिरहेको छ भने अर्कोतिर वैदेशिक रोजगार एवं समुद्रपारतर्फको प्रवासनका कारण नेपालमा जनसङ्ख्या सङ्क्रमणकालतर्फउन्मुख भइरहेको छ ।

२०७८ सालको जनगणना अनुसार कुल वृद्ध जनसङ्ख्यामध्ये ६.९ प्रतिशत अपाङ्गता भएका व्यक्तिको छ । नेपालमा आधाभन्दा बढी वृद्धको मृत्यु नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, क्यान्सर) का कारण भएको पाइएको छ । विशेषगरी उमेर बढ्दै जाँदा प्राकृतिक प्रकोपले वृद्ध व्यक्तिको जनसङ्ख्यालाई ठूलो बनाइरहेको देखिन्छ । यसरी नेपालमा बुढ्यौली जनसङ्ख्या बढ्दै जाँदा यसबाट आश्रित जनसङ्ख्याका लागि अतिरिक्त भार सिर्जना गर्ने देखिएको छ । जसका कारण आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरणपोषणमा पृथक् चुनौती सिर्जना हुने देखिन्छ । यसैकारण होला नेपालमा ज्येष्ठ नागरिक भत्ताको उमेर ६८ बाट बढाएर ७० वर्ष पुर्‍याइएको छ । 

नेपालमा आर्थिक वर्ष २०६१/६२ देखि नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सुरुवात गरेको थियो । आव २०७०/७१ देखि ५० बेडको अस्पतालमा वृद्धवृद्धाका लागि छुट्टै ओपिडी सेवा र सय बेडयुक्त अस्पतालमा जेरियाट्रिक वार्डको व्यवस्था हुनुपर्ने व्यवस्था गरिएको छ । २०७७ सालमा प्रौढ व्यक्तिका लागि खोलिएको केयर होम र सेन्टरको निर्देशिका तयार गरी २०७८ सालमा आवश्यक परिमार्जन गरिएको छ । 

यसैगरी आव २०७९/८० मा एक दशकका लागि (आव २०८७/८८) जेरियाट्रिक स्वास्थ्य सेवा रणनीति ल्याइएको छ । हाल नेपालमा ४८ जिल्लाका ६१ वटा अस्पतालमा जेरियाट्रिक स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको छ । यसबीच २०८०/८१ सम्ममा दुई सयभन्दा बढी स्वास्थ्य जनशक्ति (चिकित्सक, नर्स एवं पारामेडिक्स) लाई जेरियाट्रिक स्वास्थ्य सेवा तथा हेरचाहसम्बन्धी विशेष तालिम दिइएको छ ।

पेडियाट्रिक (बालरोग) जस्तै जेरियाट्रिक पनि भिन्न तरिकाले समाल्नुपर्छ । यस विधामा लाग्ने चिकित्सक, नर्सले विशेष तालिम लिनु पर्दछ । त्यसो त अमेरिका, क्यानडा पाँच वटा ‘एम’ – माइन्ड, मोबिलिटी, मल्टिकम्प्लेक्सिटी, मेडिकेसन्स र म्याटर्समा फोकस गरेर जेरियाट्रिकमा लाग्ने स्वास्थ्यकर्मीलाई पोख्त बनाई प्रौढको हेरचाह र स्वास्थ्य उपचारमा लगाइन्छ ।

बुढ्यौलीमा के कस्ता स्वास्थ्य समस्या आइपर्छ ?

बुढ्यौलीसँगै डिमेन्सिया, अल्जाइमर्स, पिसाब थाम्न नसक्ने, निष्कासन गर्न नसक्ने, धारो नखुल्ने, कट्टु वा पेन्टमै चुहिने तथा रिँगटा  लाग्ने, ढल्ने, हाडजोर्नी खिइने र मक्किने, मधुमेह, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, कुपोषण, पार्किन्सन, निमोनिया, जोर्नी सुन्निने, जाम हुने, जीर्ण खालको श्वासप्रश्वास समस्या (सिओपिडी), डेलेरियम, निद्रा नलाग्ने समस्या, बहुऔषधि, जीर्ण खालको मिर्गौला समस्या, दृष्टि समस्या, नसासम्बन्धी समस्या, श्रवणशक्ति ह्रास, दाँतको समस्या, पाचन एवं पेटको समस्या, क्यान्सर एवं आत्मविश्वास, आत्मबल, निर्णय क्षमतामा क्षयीकरणलगायतका समस्या निम्तिन सक्छन् ।

हाल नेपालका ज्येष्ठ नागरिकमा मुटु एवं रक्तसञ्चार प्रणाली, श्वासप्रश्वास प्रणाली, मेटाबोलिक, हाड तथा मांसपेशी एवं मूत्र प्रणालीसम्बन्धी समस्या बढी पाइएको छ ।   

 –युवामञ्च