• २५ पुस २०८२, शुक्रबार

बुढ्यौलीमा उच्च रक्तचाप र रोकथाम

blog

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले नेपालमा गरेको स्टेप्स सर्भे– २०१९ को नतिजा अनुसार उच्च रक्तचाप र मुटुसम्बन्धी रोगका कारण ३९ प्रतिशत मानिसको मृत्यु भएको पाइएको छ ।

सामान्यतयाः मानिस स्वस्थ रहन रक्तचाप, रगतमा चिनीको मात्राका साथै कोलेस्टेरोल सन्तुलनमा हुनु पर्छ । यीमध्ये कुनै एउटाको स्थिति असामान्य हुनासाथ विभिन्न स्वास्थ्य समस्या निम्तिन थाल्छ । 

यी तीनवटैको सम्बन्ध मुटु र मस्तिष्कसँग हुन्छ । उच्च रक्तचापको असर मिर्गौला, आँखा, कलेजो, रक्तनली र स्नायु प्रणालीमा पनि पर्न जान्छ । विज्ञका अनुसार उच्च रक्तचापले हृदयाघात, मस्तिष्काघात, अन्धोपना र मिर्गौला असफल हुनेलगायतका समस्या निम्त्याउँछ ।

उच्च रक्तचाप समस्यालाई ‘साइलेन्ट किलर’ भनिन्छ । यसले लक्षण, चिह्न कुनै नदेखाई मानिसलाई एकैचोटि मृत्युको मुखमा पु¥याउन सक्छ । त्यसमध्ये यसले मस्तिष्कभित्र अधिक रक्तस्राव गराई मृत्यु गराउनु चाहिँ प्रमुख हो । त्यसो त उच्च रक्तचापकै कारण मुटु र मिर्गाैलामा पनि असर पुगेर कालान्तरमा यी अङ्गको काममा जटिलता आएर पीडित विस्तारै मृत्युको नजिक पुग्छ ।  उच्च रक्तचापलाई सामान्य स्वास्थ्य समस्याका रूपमा लिने तथा यो समस्या भइसकेपछि पनि मद्यपान, धूमपान एवं खराब जीवनशैली जारी नै राख्ने गरेका कारण अन्य स्वास्थ्य समस्या थपिँदै जाने हुन्छ । 

विकासोन्मुख राष्ट्रमा नसर्ने रोगहरू सुषुप्त प्रकोप भएका छन् । नेपालमा नसर्ने रोगका कारण ७१ प्रतिशत मानिसको मृत्यु हुन्छ । उच्च रक्तचाप र मुटुसम्बन्धी रोगका कारण धेरैले ज्यान गुमाइरहेका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले नेपालमा गरेको स्टेप्स सर्भे– २०१९ को नतिजा अनुसार उच्च रक्तचाप र मुटुसम्बन्धी रोगका कारण ३९ प्रतिशत मानिसको मृत्यु भएको पाइएको छ ।

युवावस्थामै ३० देखि ६९ वर्षका २५ प्रतिशत मानिसमा उच्च रक्तचापको समस्या देखिएको छ । १५ देखि २४ वर्षको उमेर समूहमा १० प्रतिशतलाई उच्च रक्तचापको समस्या छ । अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा उच्च रक्तचापको परीक्षण र उपचारभन्दा बाहिर रहेको छ । धेरैले आफूलाई उच्च रक्तचाप समस्या भएको थाहै पाउँदैनन् र उचित उपचारमा ढिलाइ हुन जान्छ । कतिपयले दुष्प्रभाव देखिन्छ भनेर औषधी नै खान मान्दैनन् । कतिपयले औषधी नियमित खाँदैनन् र बीचमै छोड्छन् ।

अहिलेको व्यस्त जीवनशैलीमा उच्च रक्तचाप धेरैमा देखिने दीर्घरोग बनेको छ । उच्च रक्तचाप हुँदा शरीरमा तत्कालै कुनै जटिल समस्या नदेखिने भएकाले धेरैले यसलाई गम्भीरतापूर्वक लिएको देखिँदैन । कालान्तरमा यसकै कारण स्वास्थ्यमा ठूलो समस्या आउन सक्छ । त्यसैले आफ्नो रक्तचाप कति छ भन्ने थाहा पाउन बेला बेलामा परीक्षण गरिरहनु पर्छ । 

उच्च रक्तचापको समस्या प्रायः वयस्कलाई हुन्छ । वयस्क मानिसको सामान्य रक्तचाप १२०/८० मिलिमिटर मक्र्युरी हुनु पर्छ । त्यो भनेको माथि (सिस्टोलिक) १२० सम्म र तल (डायस्टोलिक) ८०–९० भएमा रक्तचाप सामान्य भएको मानिन्छ । माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको अवस्थालाई भने प्रि–हाइपरटेन्सन भनिन्छ । यो उच्च रक्तचाप विकसित हुनुभन्दा अगाडिको अवस्था हो । अतः माथिको रक्तचाप १४० वा सोभन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भएको मानिन्छ । उच्च रक्तचापका कारण रक्तनलीमा दबाब बढ्छ । 

विज्ञका अनुसार उच्च रक्तमुख्यतः दुई, तीन किसिमबाट हुन्छन् । प्राइमरी खालको उच्च रक्तचापमा कुनै प्रस्ट कारण भेटिँदैन तर यो खराब जीवनशैलीसँग सम्बन्धित हुन्छ । सेकेन्डरी प्रकारको उच्च रक्तचाप भने शरीरको अन्य कुनै रोगका कारण विकसित हुन्छ । जस्तै मिर्गौला एवं एड्रिनल ग्रन्थीको समस्या । अर्कोथरी उच्च रक्तचाप गर्भावस्थाको कारण देखा पर्छ र सुत्केरी भएसँगै हराएर जान्छ ।

उच्च रक्तचापको मुख्य कारक तत्वमा मोटोपना, तनाव, अस्वस्थ जीवनशैली वा आनुवंशिक हुन सक्छन् । व्यस्त जीवन, महत्वाकाङ्क्षी सोचाइ, अनियमित निद्रा, सुर्ती सेवन, मदिरापान, अस्वस्थकर एवं जङ्कफुड खानु, शारीरिक निष्क्रियता र प्रदूषणका कारण पनि उच्च रक्तचापलगायतका नसर्ने रोगको समस्या बढिरहेको छ । यसका साथै मधुमेह र उच्च कोलस्टेरोलको समस्याले पनि उच्च रक्तचाप निम्त्याउँछ । 

लक्षण

विज्ञका अनुसार सुरुमा उच्च रक्तचापका बिरामीमा कुनै लक्षण नहुन सक्छ । अर्थात् ९० प्रतिशत उच्च रक्तचापका बिरामी लक्षणविहीन हुन्छन् भने करिब १० प्रतिशतमा मात्रै लक्षण देखिन्छ । चिकित्सकका अनुसार उच्च रक्तचाप हुँदा अत्यधिक टाउको दुख्ने, एक्कासि नाकबाट रगत बग्ने, रिँगटा लाग्ने, थकाइ महसुस हुने, कानमा समस्या आउने, चिन्ता हुने, वाकवाकी लाग्ने, धड्कन बढ्ने र बीच बीचमा धड्कन रोकिए जस्तो हुने लक्षण देखा पर्छ ।

रोकथाम

उच्च रक्तचापलाई लामो समयसम्म नियन्त्रणमा राखिएन भने हृदयाघात, मस्तिष्काघात एवं मिर्गौलासम्बन्धी समस्याको जोखिम बढ्छ । नियमित स्वास्थ्य परीक्षण नगरिए उच्च रक्तचाप सजिलै पत्ता लाग्दैन । जोखिम नियन्त्रणका लागि रक्तचाप मापन गर्नु एक मात्र उपाय हो । डिजिटल उपकरणको सहायताले घरमै पनि नियमित रूपमा रक्तचाप नाप्न सकिन्छ तर कहिलेकाहीँ क्लिनिक वा अस्पताल गएर आफ्नो उपकरण क्यालिब्रेसन अर्थात् ठिक छ छैन जाँच गराउनु पर्छ ।

यसको रोकथामका लागि विद्यालय तहदेखि नै रक्तचाप एवं मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था र समुदायस्तरमै परीक्षण गर्नुपर्ने देखिन्छ । ४० वर्षमाथिका सबैले बर्सेनि कम्तीमा एक पटक रगत र पिसाब पनि परीक्षण गर्नु पर्छ ।

रक्तचाप नियन्त्रण गर्ने खानेकुरा

पोटासियमले सोडियमको प्रभावलाई कम गर्ने हुँदा पोटासियमयुक्त फलफूल, सागसब्जी बढी खानु पर्छ । दुध, दही र मोहीमा क्याल्सियम हुन्छ । जसले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । नुनलाई चटक्कै छाड्न हुँदैन । धेरैले उच्च रक्तचाप भएपछि नुन नै नहाली सागसब्जी खाने गरेका हुन्छन् । जुन गलत हो । उच्च रक्तचाप भएकामा पनि नुन आवश्यक हुने भएकाले नुन खानु पर्छ तर यसको मात्रा घटाउनु पर्छ । 

म्याग्नेसियमको कमीले रक्तचापको समस्या निम्तिने भएकाले म्याग्नेसियमयुक्त खानेकुरा खाएर रक्तचाप नियन्त्रण गर्न सकिन्छ । केरा, ब्रोकाउली, सिमी, काजु, बदाम, एभोकाडो, माछा, ओखर,  सागपात, गेडागुडी, फर्सीको बिउ, भटमास, तिल, तोफुलगायत खानेकुरा म्याग्नेसियमका प्रमुख स्रोत हुन् । यसका साथै स्याउ, अनार, किवी, कागती, सुन्तला, अङ्गुर, खर्बुजा, गोलभेँडा, लसुन, अमिल्याइएको खानेकुरा (तर कम नुनिलो), माछा पनि उच्च रक्तचापका लागि राम्रो मानिन्छ ।

ग्रिन टी, करेला जस्ता तितो खानेकुराले पनि रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ । तितो खानेकुरामा पोटासियम र म्याग्नेसियम हुन्छ । पोटासियमले शरीरमा भएको सोडियमलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । यसले शरीरमा रगतको मात्रा कम गराएर धमनीको भित्तामा हुने चापलाई कम गर्छ । जसको असर केही समयका लागि मात्र हुन्छ । त्यस्तै म्याग्नेसियमले रक्तनलीलाई लचिलो र फराकिलो बनाउँछ तथा रगतको चाप कम गराउँछ तर यी लवणयुक्त खानेकुराको सेवनअघि चिकित्सकको सल्लाह भने लिनु पर्छ ।

चिकित्सकले औषधी खान सुझाएका छन् भने त्यो नियमित रूपमा खानु पर्छ । मद्यपान र धूमपानबाट टाढा रहने, रिस नियन्त्रण गर्ने, योग र ध्यानलाई दैनिकीमा समावेश गर्ने, व्यस्त रहने, हिँडडुल गर्ने, तनावलाई आफूमा हाबी हुन नदिने र खानेकुरा नियमित तालिका बनाएर ठिक्क मात्रामा खाने गर्दा रक्तचाप नियन्त्रणमा ल्याउन सकिन्छ ।

मुटुलाई स्वस्थ राख्ने अनस्याचुरेटेड फ्याट (असंतृप्त चिल्लो) ले उच्च रक्तचापका बिरामीलाई पनि फाइदा पु¥याउँछ । अनस्याचुरेटेड फ्याटले शरीरमा राम्रो कोलस्टेरोल (एचडिएल) बढाएर खराब कोलस्टेरोल (एलडिएल) घटाउँछ । तोरीको तेल, जैतुन, बदाम, भटमास र सूर्यमुखीको तेल अनस्याचुरेटेड फ्याट (असंतृप्त चिल्लो) का स्रोत हुन् ।

के खान हुँदैन ?

उच्च रक्तचाप भएकाले नुन, क्याफिन, मद्यपान र प्रशोधित खानेकुरा कम गर्नु पर्छ । दैनिक खानेकुरामा नुनको प्रयोग कम गर्नु पर्छ किनभने यसले रक्तचाप बढाउन सक्छ । युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडिए) ले १३ वर्षभन्दा माथिकालाई दैनिक २.३ ग्राम नुन खान सल्लाह दिएको छ । 

क्याफिनको पनि केही भूमिका छ । धेरै सेवन गरेमा यसले पनि उच्च रक्तचाप गराउन सक्छ । सन् २०२२ मा जनरल अफ दी अमेरिका हार्ट एसोसियन (एएचए) ले कफी अत्यधिक सेवनले उच्च रक्तचाप भएका व्यक्तिमा हृदयाघातका कारण मृत्यु हुने जोखिम बढेको पत्ता लगाएको थियो । नियमित रक्सी सेवन गर्ने व्यक्तिमा उच्च रक्तचापको जोखिम बढी हुन्छ । 

 –युवामञ्च