• १५ मंसिर २०८२, सोमबार

एक मृत र एक अर्धबेहोश चितुवा भेटियो

blog

बारपाक सुलीकोट गाउँपालिका –८ स्थित ढिकी डाँडाको सामुदायिक वनमा फेला पारिएको अर्धबेहोश चितुवा ।

गुणबहादुर रोका 

सुलीकोट, मंसिर १५ गते । गोरखामा एक मृत र अर्को अर्धबेहोश अबस्थामा चितुवा भेटिएको छ । आइतबार बेलुका बारपाक सुलीकोट गाउँपालिका –८ स्थित ढिकी डाँडाको सामुदायिक वनमा मृत अबस्थामा भाले चितुवा र अर्धबेहोस अबस्थामा भाले चितुवा भेटिएको डिभिजन बन कार्यालय गोरखाका प्रमुख मदनकुमार साण्डिल्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार सामुदायिक वनको छेउमा मृत चितुवासँगै अर्धबेहोश अबस्थामा झण्डै ५–६ महिना उमेरको अर्को भाले चितुवा स्थानीयले फेला पारेपछि डिभिजन वन कार्यालय गोरखामा खबर गरेको उहाँले बताउनुभयो । 

एउटा चितुवा भिरबाट लडेर मरेको हुनसक्ने हाम्रो अनुमान छ, कार्यालय प्रमुख साण्डिल्यले भन्नुभयो, ‘अर्को अर्धबेहोश अबस्थामा भेटिएको चितुवालाई कसैले बिष खुवाएर लठाएको हुनसक्छ, त्यसकारण यसलाई बिस्तारै ठिक भएपछि प्राकृतिक बासस्थानमा छोड्ने, उद्धार केन्द्रमा पठाउने छलफलमा छौ  ।’ 

मृत चितुवालाई डिभिजन वन कार्यालय गोरखाको टोली घट्नास्थल गएर मुचुल्का तयार पारी पोष्टमार्टमका लागि डिभिजन वन कार्यालय गोरखामा ल्याइएको र सोमबार मृत चितुवाको पोष्टमार्टम गरी सम्बन्धित ठाउँमा खाल्डो खनेर ब्यबस्थापन गरिने वन कार्यालयका अधिकारीहरुको भनाइ छ ।  

मृत भेटिएको भाले चितुवाको लम्बाई ४७ इन्च, उचाई १७ इन्च र जिउँदो चितुवाको लम्बाई ४१ इन्च, उचाई १८ इन्च रहेको बताइएको छ ।