• १२ वैशाख २०८३, शनिबार

एक मृत र एक अर्धबेहोस चितुवा भेटियो

blog

बारपाक सुलीकोट गाउँपालिका –८ स्थित ढिकी डाँडाको सामुदायिक वनमा फेला पारिएको अर्धबेहोस चितुवा ।

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर १५ गते । गोरखामा एक मृत र अर्को अर्धबेहोस अवस्थामा चितुवा भेटिएको छ । आइतबार बेलुका बारपाक सुलीकोट गाउँपालिका –८ स्थित ढिकी डाँडाको सामुदायिक वनमा मृत अवस्थामा भाले चितुवा र अर्धबेहोस अवस्थामा भाले चितुवा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनकुमार शाण्डिल्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार सामुदायिक वनको छेउमा मृत चितुवासँगै अर्धबेहोस अवस्थामा झण्डै ५–६ महिना उमेरको अर्को भाले चितुवा स्थानीयले फेला पारेपछि डिभिजन वन कार्यालय गोरखामा खबर गरेको उहाँले बताउनुभयो । 

एउटा चितुवा भिरबाट लडेर मरेको हुनसक्ने हाम्रो अनुमान छ, कार्यालय प्रमुख शाण्डिल्यले भन्नुभयो, ‘अर्को अर्धबेहोस अवस्थामा भेटिएको चितुवालाई कसैले विष खुवाएर लठ्याएको हुनसक्छ, त्यसकारण यसलाई बिस्तारै ठिक भएपछि प्राकृतिक वासस्थानमा छोड्ने, उद्धार केन्द्रमा पठाउने छलफलमा छौँ  ।’ 

मृत चितुवालाई डिभिजन वन कार्यालय गोरखाको टोली घटनास्थल गएर मुचुल्का तयार पारी पोष्टमार्टमका लागि डिभिजन वन कार्यालय गोरखामा ल्याइएको र सोमबार मृत चितुवाको पोष्टमार्टम गरी सम्बन्धित ठाउँमा खाल्डो खनेर व्यवस्थापन गरिने वन कार्यालयका अधिकारीहरुको भनाइ छ ।  

मृत भेटिएको भाले चितुवाको लम्बाइ ४७ इन्च, उचाइ १७ इन्च र जिउँदो चितुवाको लम्बाइ ४१ इन्च, उचाइ १८ इन्च रहेको बताइएको छ ।