• २१ असोज २०८२, मङ्गलबार

पर्यटन सुस्ताउने जोखिम

blog

भदौ २३ र २४ गतेको आन्दोलनले नेपाल भ्रमणमा रहेका कुनै पनि पर्यटकको जिउधन तलवितल परेन । विश्वका कतिपय विद्रोह तथा आन्दोलनमा पर्यटक नराम्ररी प्रभावित हुने गर्छन् । आन्दोलनका बेला नेपाल भ्रमणमा रहेका पर्यटकलाई केही दुःखपीडा त भयो नै । हिल्टन जस्तो होटेल जल्यो । त्यहाँ बसिरहेका पर्यटकलाई सकुशल व्यवस्थापन गर्न कम कठिन कहाँ भयो होला र ? पर्यटकले दुःखपीडा झेले पनि दुःखद खबर आउने गरी कुनै हताहती नहुनु भने सन्तोषको विषय हो । पर्यटन उद्योगले क्षति भने ठुलै बेहो¥यो । नेपालमा पर्यटन सिजन सुरु हुनै लाग्दा नवपुस्ता अर्थात् जेनजी विद्रोहका कारण धेरै पर्यटकले यो सिजनमा नेपाल आउने योजनामा फेरबदल गरे । जेनजी विद्रोहको ताजै रहँदा असोज १७ गतेदेखि तीन दिनको अविरल वर्षाले पर्यटकलाई अझ ठुलो दुःख दियो । पदयात्रामा रहेका हजारौँ पर्यटकले पीडा भोग्नु प¥यो । हिमाल आरोहणका कतिपय योजना रद्द भए । बाटोघाटो बिग्रिए । विमान सेवा अवरुद्ध भए । लुक्ला जस्तो दिनमै दर्जनौँ उडान हुने विमानस्थल अवरुद्ध हुँदा पर्यटकलाई ठुलो सास्ती भोग्नु प¥यो ।  पछिल्ला यस्ता परिवेशले नेपालको पर्यटन उद्यम सुस्ताउने जोखिम बढेको छ । जोखिम न्यूनीकरणका निम्ति पर्यटक पुनः आकर्षणका नीति, योजना र कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिएको छ । 

जेनजी विद्रोहका कारण नेपाल आउने योजनामा रहेका पर्यटकले धमाधम प्याकेज रद्द गरेको पाइयो । असोज लागेसँग शारदीय मौसम पर्यटकको सिजन मानिन्छ । यताका वर्षमा असोज लागेपछि झनै बर्सातको उर्लंदो रूप देख्न थालिएको छ । गत वर्षको असोज १० देखि १२ गतेसम्म त काठमाडौँ उपत्यका र वरपर वर्षाले वितण्डा नै मच्चाएको थियो । कैयौँको ज्यान गयो । ४६ अर्ब रुपियाँ बराबरको पूर्वाधार क्षति भयो । त्यतिबेला क्षति भएको सडक पूर्वाधर अझै बन्न सकेको छैन । फेरि यो वर्षको असोज १७ गतेदेखिको बर्सातले सडक र पुल पूर्वाधारको क्षति तीव्र बनाएको छ । आन्दालनकै कारण कतिपय पर्यटकीय गन्तव्य सिजन लाग्नु सुरु गर्दा सुनसासन जस्तै थिए । नेपाल आउने पर्यटकको आगमन कमीले चहलपहल घट्ने नै भयो । त्यसमा पनि प्रतिकूल मौसमले फेरि पर्यटन व्यवसायमा ठुलो असर परेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपाल आउने पर्यटक जेनजी आन्दोलका कारण ३० देखि ४५ प्रतिशतले कमी आयो । नेपालमा पर्यटन सुरु हुनै लाग्दा विश्व पर्यटन दिवस पनि पर्छ । हरेक वर्ष २७ सेप्टेम्बरमा मनाइने पर्यटन दिवस नेपालमा पनि यो वर्ष खल्लो तरिकाले केही दिनअघि मनाइयो । पर्यटन दिवस  पर्यटकीय प्याकेजमा सेवाप्रदायकले आकर्षिक सुविधा र छुट दिएर अकर्षित गर्ने अवसर पनि हो । यो वर्ष अघिल्ला वर्ष जस्तो उल्लास रहेन । विदेशी पर्यटक नै धेरै आएका थिएनन् । आन्दोलनका कारण गत वर्षको तुलनामा पर्यटकको आगमनमा यो वर्षको सेप्टेम्बरमा कमी आयो । गत वर्ष असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या तीन हजार चार सय हाराहारी थिए तर यो वर्ष सोही अवधिमा एक हजार छ सय हाराहारी मात्र आएको देखियो । यसले पनि पर्यटकीय सिजनकै आरम्भमा नेपालमा बाह्य पर्यटन आगमनमा प्रतिकूल असर परेको स्पष्ट देखिन्छ । जेनजी आन्दोलनको दुष्प्रभावबाट थलिएको पर्यटन असोज १७ पछिको बर्सात, डुबान, बाढी र पहिरो अर्को वज्रपात भयो । यसले नेपालको पर्यटन व्यवसाय थप नकारात्मक सन्देश जान सक्ने देखिएको छ ।

यो बेला बाह्य पर्यटनको सिजन मात्र त सुरु हुने होइन, आन्तरिक पर्यटनको पनि चहलपहल बढ्ने बेला हो । धेरै नेपाली, विशेष गरी युवाले दसैँतिहारका बिदालाई घुमफिरको संस्कृतिमा रूपान्तरण गर्न थालेका थिए । पदयात्रा पर्यटनमा रमाउने बेला पनि हुँदै थियो । कतिपय आन्तरिक पर्यटनका क्रममा यो बर्सातले पदयात्रामै अड्किए । केही युवा बेपत्ता भए । यसले पनि पर्यटन व्यवसायमा प्रतिकूल असर पर्न थालेको छ । बर्सात सकिने, जाडो सुरु नहुने, आकाश खुल्ने र हिमाल र प्राकृतिक मनोरम देखिने कारण नै असोज, कात्तिकलाई नेपालमा पर्यटक सिजनका रूपमा लिने गरिन्छ । यो वर्ष अति नै प्रतिकूल मौसम भयो । त्यसले धेरै असर परेको छ । काठमाडौँ उपत्यका जोड्ने मूल राजमार्ग सबै अवरुद्ध हुन पुगे । खुलाउन समय लाग्नु स्वाभाविक हो । यसले पर्यटनमा दीर्घकालीन असर परेको छ । बडादसैँका अवसरमा गाउँघर पुग्ने र काममा सहरबजार फर्कने यात्रुले ठुलो दुःख पाए । सायद यस्तो दुःख र पीडा विगतमा कमै भोगिएको थियो । पर्यटन क्षेत्रमा यो असर कम गर्न धेरै मेहनत गर्नु पर्छ ।

असोज १७ पछिको सडक अवरोधले दुई/तीन दिनमा लाखौँ यात्री प्रभावित भए । यो अवरोधमा बाह्य पर्यटक पनि परेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार त हाल नेपालमा करिब २० हजार विदेशी पर्यटक काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा रहेका छन् । यो जटिल अवस्थामा पर्यटकको सुरक्षा तथा सहयोगमा स्थानीय समुदाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायको ठुलो भूमिका हुने छ । पर्यटकलाई खाना, बास र आवश्यक सहयोग उपलब्ध गराउनु आवश्यक छ । कतिपय ठाउँमा मूल्यवृद्धि नगरी सहयोगी भाव देखाउन पनि आवश्यक छ । कतिपय विदेशी पर्यटकले आफूखुसी यात्रा गर्दा पनि समस्या भएको छ । खोज र उद्धारमा समस्या भएको छ । त्यसैले हुनु पर्छ, पर्यटन बोर्डले विदेशी नागरिकलाई नेपालको कानुन अनुसार दर्ता भएका ट्राभल कम्पनी र लाइसेन्स प्राप्त गाइडसँग मात्र यात्रा गर्न सुझाव पनि गरेको छ । यात्रापूर्व गन्तव्य र सडक अवस्थाको जानकारी लिनु आवश्यक हुन्छ ।  यसमा पर्यटन बोर्डको भूमिका र सञ्चार आवश्यक हुन्छ । त्यस्तै पर्यटक पथप्रदर्शकको भूमिका पनि महत्वपूर्ण हुन्छ । उनीहरूको सहयोगमै पर्यटक पदयात्रालगायतमा जानु उचित हुन्छ ।

 सङ्कटका बेला विदेशी पाहुनालाई सहयोग अपरिहार्य हुन्छ । पाहुनाको सुरक्षा र सहजता नेपाल र नेपालीको पहिलो प्राथमिकता हुनु पर्छ । कम लगानीमा बढी प्रतिफल दिने पर्यटन व्यवसाय सुस्ताउँदा मुलुकको अर्थतन्त्रमा गम्भीर र बहुआयामिक दुष्प्रभाव पर्ने छ । नेपालको अर्थतन्त्रमा कृषि, जलस्रोत र पर्यटननै मूल खम्बा हुन् । आर्थिक समृद्धिको महत्वपूर्ण पर्यटन थला प¥यो भने यसले थप बेरोजगारी बढाउने छ । नेपालको मुहार फेर्ने क्षेत्र पर्यटन क्षेत्र नै हो । कोभिडअघि वार्षिक पर्यटन आगमन वार्षिक १२ लाख हाराहारी पुगेको थियो । वार्षिक २० लाख पु¥याउने लक्ष्य थियो तर कोभिडले संसारभरि नै पर्यटन व्यवसायलाई थला बसायो । संसारभरकै पर्यटन व्यवसाय सुस्तायो । धेरै मुलुकले कोभिडको चार/पाँच वर्ष अर्थात् २०२३ पछि पहिलेकै अवस्थामा पु¥याउन सक्षम भए । नेपालमा भने अझै पनि पूर्ववत् अवस्थामा पु¥याउन सकिएको छैन । वार्षिक १० लाख हाराहारीमै सीमित रहेको पर्यटन आगमन पछिल्ला घटनाक्रमले अझै खुम्चने जोखिम बढेको छ ।

नेपाल पर्यटनको ठुलो सम्भावना भए पनि त्यसको प्रभावकारी सदुपयोग गर्न सकिएको छैन । कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशतको हाराहारीमा योगदान रहेको पर्यटन रोजगारी र स्वरोजगारीको महत्वपूर्ण र विस्तारित क्षेत्र हो । पर्यटनलाई गाउँस्तरदेखि सहरी अर्थतन्त्रसम्म थप विस्तार गर्न सकिने अनन्त सम्भावना छ । पछिल्लो दशकमा होटेल, रिसोर्ट, होमस्टे, पर्वतीय पदयात्रा, हिमाललगायतका माध्यमबाट पर्यटकीय सुविधा र गन्तव्य बढे पनि पनि पर्यटक सङ्ख्यामा भने सो अनुरूप विस्तार हुन सकेको छैन । नेपालमा वार्षिक ३५ लाख बाह्य पर्यटक स्वागत गर्न सक्ने होटेल पूर्वाधार बनिसकेको भनिन्छ । होटेल, रिसोर्टलगायतका आवासको पूर्वाधारमा लगानी यताका वर्षमा झनै व्यापक हुँदै छ । मौजुदा तीन प्रतिशतबाट कुल गार्हस्थ उत्पादनमा वार्षिक १० प्रतिशतको योगदान पु¥याउन सकिने लक्ष्यमा अब पर्यटनमैत्री नीति, योजना र कार्यक्रमका साथ काम गर्नु जरुरी छ ।

नेपाली मौलिकता झल्कने गरी पर्यटन पूर्वाधार विस्तारलाई जोड दिनु आवश्यक छ । युरोप र अमेरिकाका गुणस्तरीय पर्यटक आकर्षण गर्न त्यसै अनुसारका पर्यटकीय उत्पादन आवश्यक पर्ने छ । यताका वर्षमा भारत र चीनबाट ठुलो सङ्ख्यामा पर्यटक आइरहेका छन् । त्यसलाई अझ बढाउन सकिने छ । ठुलो सङ्ख्यामा पर्यटक ल्याउने नीतिसँगै बढी खर्च गर्ने, बढी समय नेपालमा बिताउने गुणस्तरीय पर्यटक पनि ल्याउनु जरुरी छ । पर्यटकलाई नेपाली उत्पादनमै रमाउने वातावरण पनि बनाउनु आवश्यक छ । आयातित खाना, बसोबासका नाना र पूर्वाधारले मात्र पर्यटक प्रवर्धनमा सहयोग हुन सक्दैन । देशीय उत्पादन र मौलिकतामा ध्यान दिनु जरुरी छ । 

नेपालमा पर्यटन ल्याउन सक्ने अनेक विविधता छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, पुरातात्त्विक सांस्कृतिक सम्पदा एवं धार्मिक, भाषिक र जातीय विविधतायुक्त आकर्षण मुलुकका सम्पत्ति हुन् । यी सबै विशेषताको संयोजन अन्य मुलुकसँग कमै मात्र छ । यसले नेपाललाई विश्व पर्यटनको आकर्षणको बन्न सक्ने छ । पर्यटनको व्यापक प्रवर्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता दिन जटिल अवस्थामा प्रवर्धनतर्फ झनै ध्यानु पर्छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक भनिएको छ । वार्षिक ३५ लाख पर्यटक ल्याउने लक्ष्य पनि छ तर त्यस अनुरूपका पर्यटनमैत्री योजनाको कमी छ । देशबाट झन्डै ८० लाख नेपाली बाहिर छन् । रोजगारीको अभावमै नेपाली युवा बाहिर जानु परेको छ । अहिलेको नवपुस्ताको आन्दोलनको मुख्य माग देशभित्रै रोजगारी सिर्जना हो । पर्यटनलाई कृषिसँग आबद्ध गर्दै अगाडि बढ्दा रोजगारी र स्वरोजगारी व्यापक हुन सक्ने छ । यसमा सरकार र सम्बद्ध निजी क्षेत्रको समयमै ध्यान जानु जरुरी छ । जेनजी आन्दोलन र पछिल्लो बाढी, पहिरो र बर्सातले सुस्ताएको पर्यटनलाई लयमा ल्याउन एकीकृत पर्यटनमैत्री कार्ययोजना वाञ्छनीय छ ।


Author
जुनारबाबु बस्नेत

उहाँ गोरखापत्र दैनिकको नि. प्रधानसम्पादक हुनुहुन्छ ।