टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), मंसिर १५ गते । गुल्मीको मदन भण्डारी राजमार्गमा पर्ने रुरुक्षेत्र र छत्रकोट गाउँपालिकाको घर टहरा स्थानीय आफैले भत्काउन थालेका छन् । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, गुल्मीले निर्माणको काममा अवरोध भएपछि दुई पालिकालाई घर टहरा हटाउन सहजीकरण खोजेको थियो ।
दुबै पालिकाले बजार क्षेत्रमा पर्ने घर टहरा तथा संरचना हटाउन सार्वजनिक सूचनामार्फत अपिल गरेको थिए । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासले डेढ वर्षदेखि रिडी–तम्घास सडक कालोपत्रेको काम गरिरहेको छ ।
बजार बाहेकका स्थानमा कालोपत्रेको काम भएपनि बजार क्षेत्रमा रहेका अस्थायी संरचनाले नहटेका कारण समस्या भएपछि सार्वजनिक अपिल गरिएको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले जानकारी दिनुभयो । अहिले नागरिकले धमाधम घर टहरा भत्काएर सहयोग गरेको ज्ञवालीले बताउनुभयो । रुरुक्षेत्र गाउँपालिका(१को रिडी बजार वडा नं। ३ को पानी ट्याङ्गकी र वडा नं ४ को आम पोखरा र बलेटक्सार बजारमा सडक क्षेत्रका अस्थायी संरचना र टहराहरु हटाउन पर्ने भएकाले आयोजनाको काम भएको थिएन । उहाँले केही स्थानमा पाइपलाइनको व्यस्थापन बाहेकको अवरोध नभएको बताउनुभयो ।
संरचनाका कारण काम नहुँदा धुलो, फोहोर, निर्माण कार्यमा बाधा पुगेको र संरचनाको क्षतिपूर्तिमा समेत समस्या रहेको थियो । रुरुक्षेत्र गाउँपालिकाका ५० मध्ये ३२ घरटहरा भत्काउन बाँकी रहेका थिए ।
त्यस्तै छत्रकोट गाउँपालिका २ को भेंडुवा बजार क्षेत्र, वडा नं ३ को लुम्छा, वडा नं ४ को धरमपोखरा, पिपलनेटा, श्रृङ्गा बजार लागयतका मदन भण्डारी राजमार्गले समेट्ने क्षेत्रमा सडकको मापदण्डभित्र पर्ने घर टहरा लगायतका संरचनाहरु हटाउन सार्वजनिक सूचना जारी भएको थियो ।
छत्रकोटका पनि समस्या रहेका सबै ठाउँमा घरटहरा हटाउन थालेका छन् । समान्तर एलाइट जेभीले २०८२ फागुनमा सक्ने गरेर एक अर्ब ५० करोड रुपियाँको लागतमा २५ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता २०७९ फागुनमा गरेको थियो ।