• १५ मंसिर २०८२, सोमबार

शिक्षासम्बन्धी समस्या समाधानका लागि बिद्यालय अनुगमन

blog

नरैनापुरको मदरसामा अनुगमन गर्दै अनुगमन टोली । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १५ गते । बाँकेको दुर्गम र पिछिडिएको क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पालिकाभित्रका सबै बिद्यालयको अनुगमन सुरु गरिएको छ । 

गाउँपालिकाको –२ का वडा अध्यक्ष मसुदअहमद साहको नेतृत्वमा पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक र भौतिक अवस्था मूल्याङ्कन गर्न अनुगमन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

बिद्यालय अनुगमनको सुरुआत वडा २ स्थित मदरसा सिराजिया इस्रारुल उलुमबाट गरिएको वडा २ का वडा अध्यक्ष साहले बताउनुभयो । उहाँले पालिकाभित्रका शिक्षण संस्थाहरुको यथार्थ अवस्था बुझ्न अनुगमन सुरु गरिएको जनाउँदै क्रमशः सबै विद्यालयमा अनुगमन गरिने बताउनुुभयो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समिति संयोजक शैयद इस्तियाक अहमद साहले पालिकाभित्रका बिद्यालय र मदरसाहरुमा देखिएका बिभिन्न समस्याहरुको समाधान आवश्यक भएकाले अनुगमन सुरु गराइएको जनाउँदै अनुगमन प्रतिवेदनबाट सुधार गर्ने बाटो खुल्ने बताउनुभयो । 

उहाँले शिक्षा सुधार पालिकाको पहिलो प्राथमिकता भएको हुँदा यसका लागि विशेष समिति गठन गरिएको बताउनुभयो । बिद्यालय अनुगमनमा शिक्षक दरबन्दी, नियमितता, विद्यार्थी संख्या, भौतिक पूर्वाधार, सिकाइ गुणस्तर, परीक्षा प्रणाली र व्यवस्थापन पक्षको पारदर्शितालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । 

शिक्षक र शिक्षा शाखाबीच हालै देखिएको आन्तरिक द्वन्द्वपछि शैक्षिक वातावरण प्रभावित बनेकाले पालिकाले अनुगमनलाई प्राथमिकताका साथ अघि बढाएको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो । 

अनुगमनपछि विस्तृत प्रतिवेदन तयार गरी शिक्षा सुधारका लागि ठोस कार्ययोजना बनाइने अनुगमन समितिका संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष शाहले बताउनुभयो । 

अनुगमनको सुरुवात गरिएको मदरसा सिराजिया इस्रारुल उलुमका प्रधानाध्यापक लाल खाँले विद्यालयको वास्तविक अवस्था बुझ्न निष्पक्ष अनुगमन सुरु हुनु सकारात्मक भएको जनाउँदै यसबाट राम्रो परिणाम आउने आशा रहेको बताउनुभयो ।