• ११ जेठ २०८१, शुक्रबार

बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

blog

बुटवल समाचारदाता

बुटवल, असार ४ गते । स्वदेशी चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि दुईदिने नेपाली चियाको बृहत् राष्ट्रिय प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमै उत्पादित चिया पिउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै उद्घाटन गर्नुभयो । 

त्यस अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री केसीले चियाको राष्ट्रिय प्रदर्शनीबाट नेपालमै उत्पादित चिया पिउने अभ्यासको विकास गर्न सहयोग पुग्ने बताउँदै अब नेपाली चिया बजारको प्रवद्र्धनसँगै आन्तरिक उत्पादनसमेत बढाउनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने नीति लिएको चर्चा गर्दै मुख्यमन्त्री केसीले नेपाली उत्पादनको बजार प्रवद्र्धन गर्न आउने दशैँ तिहारमा भारतबाट आउने फूलमालालाई प्रतिबन्ध लगाउने बताउनुभयो । कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले आमनागरिकलाई चिया पिउने सही तरिका बताउने र नेपाली चियाको बजार विस्तारमा टेवा पुगोस् भन्ने उद्देश्यले बुटवलमा चिया प्रदर्शनी गरिएको बताउनुभयो । 

प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टी एसोसिएसन, हिमालयन अर्थोडक्समा टी प्रोड्युसर एसोसिएसन नेपाल, नेपाल टी प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी सङ्घ, स्पेसियालिटी टी एसोसिएसन नेपालमा आबद्ध एक सयभन्दा बढी व्यवसायीबाट उत्पादित चियाका ब्रान्डहरू राखिएका छन् ।