• ८ असार २०८२, आइतबार

२० अर्बको बिजुली बेच्ने लक्ष्य : उत्पादन बढाउन सुझाव

blog

काठमाडौँ, असार ८ गते ।  नेपाल सरकारले असार १ गतेदेखि ४० मेगावट विद्युत् बङ्गलादेश निर्यात गर्दै आएको छ । वर्षायाममा बढी भएको विद्युत् निर्यात गर्ने सम्झौता अनुरुप नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिनाका लागि सो विद्युत् निर्यात् गरेको हो । 

नेपाल विद्युत प्राधिकरणका निर्देशक एवम् प्रवक्ता राजन ढकालका अनुसार अहिले भारत र बङ्गलादेश गरी समग्रमा पाँचदेखि ६ सय मेगावट विद्युत् निर्यात भएको अवस्था छ । 

उहाँले भन्नुभयो, “बङ्गलादेशमा जुन १५ देखि नोभेम्बर १५ सम्मको लागि हो । यस्तै, इन्डियाको हरियाणा, विहारसँग पनि निर्यातका लागि सम्झौता भएको छ । विहार राज्यलाई जुन १५ देखि अक्टोबर ३० सम्म दिन्छौं ।” नेपालमा खपत नभएको विद्युत् विदेशमा निर्यात भएको उहाँको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाका अनुसार उक्त विद्युत् बिक्रीमार्फत नेपालले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् एक अर्ब २९ करोड नेपाली रुपियाँ आम्दानी गर्ने छ । 

उहाँका अनुसार बङ्गलादेशमा पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ । सो विद्युत् ६.४० अमेरिकी प्रतियुनिटका दरले बङ्गलादेशमा विद्युत् बिक्री गर्ने सम्झौता भएको छ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेस्नबाट भारतको मुजफरपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्ने छ । 

प्राधिकरणका प्रवक्ता ढकालका अनुसार यो आर्थिक वर्षमा २० अर्ब रुपियाँ बराबरको विद्युत् बिक्री गर्ने लक्ष्य रहेको छ ।  उहाँले भन्नुभयो, “यो आर्थिक वर्षमा २० अर्बको बिजुली बेच्ने लक्ष्य लिएका छौं । विगतमा असोजको बाढीले केही नोक्सानी   पुर्‍यायो । यसकारण, असार अन्तिमसम्म १८ अर्ब बराबरको विद्युत् निर्यात गर्छौं होला ।”

अर्थविद् डा. चन्द्रमणि अधिकारीले विद्युत् निर्यातले व्यापार घाटामा सहजीकरण गरेको बताउनुभयो । नेपालले सकेसम्म कम लागतमा बिजुली उत्पादन गर्ने र सो विद्युत् उत्पादन क्षेत्रमा यही खपत गर्नुपर्नेमा उहाँको जोड छ । 

उहाँले भन्नुभयो, “पहिलो प्राथमिकता के हुनुपर्छ भने सकेसम्म कम लागतमा बिजुली उत्पादन गर्ने, त्यो बिजुली यही खपत गर्ने र एउटा निश्चित बिन्दुपछि खपत नभएको बिजुली समय अनुसार बाहिर बेच्नुपर्छ । औद्योगिक, शिक्षा, स्वास्थ्य, सेवा, हवाई, यातायातको क्षेत्रमा जति बिजुलीको प्रयोग गर्छौं, उत्पादन लागत घट्छ र हाम्रो अर्थतन्त्र बलियो हुँदै जान्छ । मान्छेले रोजगारी पाउँछन् । प्रतिव्यक्ति आय पनि बढेर जान्छ ।”

उहाँले विगतमा २४ प्रतिसम्म चुहावट हुने गरेकोमा अहिले यो घटेको भन्नुहुँदै विद्युत् प्रणाली सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विद्युत् निकासी भएकाले थोरे भए पनि व्यापार घाटामा सहजीकरण गरेको छ । विदेशी मुद्रा आएको छ, यसलाई राम्रो मान्नुपर्छ तर निकासीमै अत्यन्त धेरै भर पर्नु हुँदैन । हिजो २४ प्रतिशतसम्म विद्युतको चुहावट थियो । अहिले घटेर कम भएको छ । चुहावट अझै घटाउन बाँकी छ । यसका लागि प्रणालीमा सुधार गर्नुपर्छ । ट्रान्सफर्मरहरू गुणस्तर बनाउने र आवश्यक ठाउँमा राख्नुपर्छ । प्रणाली खराब हुँदा विद्युतीय उपकरण बिग्रने हुन्छ यसले क्षति पनि पुर्‍याउँछ । प्रणाली सुधार गर्न बाँकी छ ।”

उहाँले नेपालका नागरिकले कम मूल्यमा गुणस्तरीय विद्युत उपभोग गर्न पाउने अवस्था निर्माण भए यसले सामाजिक न्यायसमेत गर्ने भनाइ राख्नुभयो । यसका लागि विद्युतको क्षेत्रमा अझै स्तरोन्नति गर्दै लानुपर्ने उहाँको भनाइ छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।