केदार तिमल्सिना
बनेपा, जेठ ३० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा उत्पादन भएको शैक्षिक जनशक्तिले देशको पहिचान कस्तो बनाउने ढङ्गले प्रस्तुत हुनुपर्ने बताउनुभएको छ। शुक्रबार काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले नेपालमा उत्पादित जनशक्तिले हरेक क्षेत्रमा कर्तव्यनिष्ठ र विनम्रतापूर्वक आफूलाई प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभएको हो।
दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “विद्याले घमण्डलाई प्रवेश गर्न दिँदैन, विद्याले केवल विन्रमता, मित्रता मात्रै दिन्छ। नेपालमा उत्पादित जनशक्ति अन्य मुलुकमा उत्पादित जनशक्ति भन्दा अब्बल रहेका कारण नै स्वेदशमा अध्ययन गरेर विभिन्न देशमा पुगेका नेपाली जनशक्ति दक्ष र सफल भएको छ।”
उहाँले काठमाडौँ विश्वविद्यालयबाट शुक्रबार दीक्षित भएका विद्यार्थीलाई आफ्ना अभिभावकलाई माया गर्दै अत्यन्तै सामाजिक भएर आफ्नो सेवा क्षेत्रमा काम गर्न निर्देशन दिनुभयो। “सरकार शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्न तयार छ, यी क्षेत्रमा केही परिवर्तन समेत भएको छ, सरकार शिक्षाको क्षेत्रमा सचेत छ, राम्रो र गुणस्तरीय, सहज पहुँचको शिक्षा प्रदान गर्न लागेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो। उहाँले माध्यमिक शिक्षा परिक्षा (एसइई) को परीक्षामा गत वर्षको जस्तो परीक्षाफल नआउने दाबी गर्दै यस वर्ष एसइईमा पास हुने विद्यार्थी प्रतिशत बढ्ने बताउनुभयो।
प्रधानमन्त्री ओलीले सरकारले एसइईमा कम उत्तीर्ण हुने समस्याको कारण खोजेर त्यसको समाधानको लागि कार्यक्रम सञ्चालन गरेकोले एसइईमा उत्तीर्ण हुनेको सङ्ख्या बढ्ने बताउनुभयो। कार्यक्रममा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टमसका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कारले कुनैपनि व्यक्तिको अगाडिको बाटो स्पष्ट नहुने भएकोले आफ्नो आत्मविश्वासले नै मानिसलाई अगाडि बढ्न प्रेरित गर्ने बताउनुभयो। उहाँले बिद्यार्थीहरुले आफूकस्तो भन्ने कुरा पढाइबाट नै प्रमाणित गरिसकेकोले आफ्नो अगाडि रहेका हरेक चुनौतीलाई आफू एक्लैले मात्रै सामना गर्न नसक्ने भएकोले सबैसँग साझेदारी गरेर अघि बढेको खण्डमा सबै खाले चुनौतीलाई सामना गर्न सकिने बताउनुभयो। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले विश्वविद्यालय स्थापना भएदेखि हालसम्म ४७ हजार ८३१ शैक्षिक जनशक्ति उत्पादन भएको बताउनुभयो।
शुक्रबार भएको ३० औँ दीक्षान्त समारोहको दोस्रो चरणमा एक हजार १२९ विद्यार्थी दीक्षित भएका छन्। समारोहमा स्कुल अफ आर्टस्का १६३, स्कुल अफ एजुकेशनका १०२, स्कुल अफ इन्जिनियरिङका ६८, स्कुल अफ म्यानेजमेन्टका ११० विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ।
यस्तै समारोहमा स्कुल अफ मेडिकल साइन्सेजका ६६१ जना र स्कुल अफ साइन्सका २५ विद्यार्थी दीक्षित भएका हुन्। समारोहमा स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र स्कुल अफ साइन्स सङ्कायका पीएचडी तहका १४, डीएम तहका आठ, एमसीएच तहका दश जना, एमफिल तहका ६९ जना विद्यार्थी दीक्षित भएका छन्। दीक्षान्तमा स्नातकोत्तर तहका ५१३ जना, पीजीडी तहका चार जना र स्नातक तहका ५११ जना दीक्षित भएका हुन्। दीक्षित हुनेमा भुटान, भारत, श्रीलङ्का र माल्दिभ्सका ११८ जना विदेशी विद्यार्थीसहित ५७५ जना पुरुष र ५५४ जना महिला रहेका छन्।
३० औँ दीक्षान्त समारोहको दोस्रो चरणमा केयूको इतिहासमा पहिलो पटक स्कुल अफ इन्जिनियरिङतर्फ डक्टर्स अफ फिलोसोफी इन जियोमेट्रिक इन्जिनियरिङमा एक, स्कुल अफ मेनेजमेन्ट अन्तर्गत ब्याचलर अफ प्रोफेशनल हस्पिटालिटीमा २० जना दीक्षित भएका विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताउनुभयो।
त्यसैगरी स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत डक्टर्स अफ मेडिसिन इन क्रिटिकल केयर मेडिसिनमा एक जना, डक्टर्स अफ मेडिसिन इन पुल्मोनरी क्रिटिकल केयर एण्ड स्पिल मेडिसिनमा एक जना विद्यार्थी दीक्षित भएका छन्। समारोहमा केयुको इतिहासमा पहिलो पटक एमएस्सी इन कम्युनिटी हेल्थ नर्सिङमा एक जना, एमएस्सी इन साइट्राट्रिक नर्सिङ मा दुई जना र मास्टर्स अफ फिजियोथेरापीका पाँच जनालाई उपाधि प्रदान गरिएको प्रवक्ता पुनले बताउनुभयो। विश्वविद्यालयबाट हालसम्म ४७ हजार ८३१ शैक्षिक जनशक्ति उत्पादन भएका छन्।
दीक्षान्त समारोहमा दयाराम सिंखडालाई चान्सलर स्वर्णपदक, एजल सुजखूलाई भाइस चान्सलर स्वर्णपदक, कृष्णबाबु भट्टराईलाई जुद्धबहादुर श्रेष्ठ स्वार्णपदक, तरुण अग्रवाललाई रणबहादुर शाह स्वर्णपदक प्रदान गरिएको थियो। त्यस्तै सुयश तिमल्सिनालाई रमेशप्रसाद सिंह स्वर्णपदक, युरिशा उपाध्यायलाई महेशनाथ पराजुली स्वर्णपदक र एजल सुजखूलाई प्रेमराज पन्त स्वर्णपदक प्रदान गरिएको थियो।