अविनाश चौधरी
धनगढी, पुस १३ गते । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेसनल पार्कमा घाँस–दाउरा लिन जानू भएकी वृद्धाको बाघले ज्यान लिएको हो ।
मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ की ७० वर्षीया सुना निरौला रहनु भएको प्रहरीले जानकारी दिएको छ । पुनर्वास नगरपालिका–६ स्थित आजाद नगरनजिककै जङ्गलमा बाघले आक्रमण गरेर वृद्धाको ज्यान लिएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज लोकेन्द्रसिंह कार्कीका अनुसार शनिबार घाँस–दाउरा लिन जङ्गल जानु भएकी वृद्धा साँझसम्म नफर्किएपछि स्थानीयसहित प्रहरी, आफन्तले खोजतलास गरेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेत खोजीकार्य गर्ने क्रममा आइतबार जङ्गलमा वृद्धाको शव भेटिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुका साथै प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । केही वर्ष अगाडि पनि दुधुवा नेसनल पार्कमा घाँस काट्न गएकी पुनर्वास नगरपालिकाको एक महिलाको बाघले ज्यान लिएको थियो ।