काठमाडौँ, जेठ ३० गते । उपभोक्ता अदालतले चाबहिलको ओम हस्पिटललाई ५० लाख ७० हजार रुपियाँ क्षतिपूर्ति तिराउने आदेश गरेको छ ।
२०८० चतै २ गते स्थापना भएको उपभोक्ता आदलतमा पहिलो मुद्दाको रुपमा दर्ता भएको ‘चिकित्सकीय लापरबाही गरी मर्न बाध्य हुनु परेको’ मुद्दामा बिहीबार ओम हस्पिटललाई ५० लाख ७० हजार तिराउने आदेश गरेको हो ।
उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा, सदस्यद्वय गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेको इजलासले उपचारमा भएको लापरबाही मुद्दामा डाक्टरहरुलाई ६ लाख १० हजार रुपियाँ तिराउने आदेश गरेको छ ।
अदालतले लापरबाहीबाट भएको कुल क्षतिको ८० प्रतिशत हस्पिटलबाट अनि २० प्रतिशत चिकित्सकबाट तिराउनुपर्ने आदेश गरेको हो ।
बाबुको उपचारमा लापरवाही भएको भन्दै बुढानीलकण्ठ–९ का बसन्त गौतमले अस्पतालविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।
गौतमले ९८ वर्षीय बाबु हरिहरप्रसाद गौतमको ओम हस्पिटलमा उपचार गराउनुभएको थियो । तर, बाथरुममा लडेका बाबुको हस्पिटलमा उपचार गर्दा कुनै स्वास्थ्य परीक्षण नगरी दुःखाइ घटाउने इन्जेक्सन दिएको र त्यसैका कारण बाबुको मृत्यु भएको भन्दै गौतमले पाँच करोड क्षतिपूर्ति दाबी गर्नुभएको थियो ।