• ३१ जेठ २०८२, शनिबार

बसाइँसराइले सुनसान बन्दै बैतडीका गाउँ

blog

नागरिक बसाइँ सर्न थालेपछि रित्तिएको बैतडीको पाटन नगरपालिका–३ को झालिमालि गाउँ । तस्बिर : केशव राज भट्ट

केशव राज भट्ट 
(बाशुलिङ्ग) बैतडी, जेठ ३० गते ।
नेपालका पहाडी जिल्लाका गाउँबस्तीहरू दिनप्रतिदिन रित्तिँदै गएका छन् । रोजगारी, शिक्षा, स्वास्थ्य, सडक र खानेपानीजस्ता आधारभूत सेवाको अभावले गाउँका बासिन्दाहरू विस्तारै बस्ती छाडेर तराई सर्ने क्रम तीव्र बनेको दशरथचन्द नगरपालिका–६ का  अध्यक्ष महेन्द्र सिंह कार्कीले बताउनुभयो ।

अध्यक्ष कार्कीका अनुसार जीवनयापन सहज बनाउन, सन्तानलाई गुणस्तरीय शिक्षा दिन, स्वास्थ्य सेवा नजिक पाउन र रोजगारीका अवसर खोज्न थुप्रै परिवारहरू पहाड छाडेर तराई झरेका हुन् ।

‘‘पहिला चहलपहलले गुञ्जयमा रहने हाम्रो गाउँ अहिले सुनसान छ’’, अध्यक्ष कार्कीले भन्नुभयो, ‘‘खेतबारी बाँझो छ । घरहरूमा ताला लगाइएको छ । अनि गोठहरू खाली छ ।’’

युवाहरू रोजगारीका लागि भारत तथा खाडी मुलुक तिर गएका छन् भने उनीहरूका परिवार पनि सहर वा तराई झर्दै गएपछि गाउँमा वृद्धवृद्धा मात्रै बाँकी छन् । पहिले बुढाबुढी, युवा, बालबालिका सबै भेटिने बस्तीहरू अहिले वृद्ध मात्रै बस्ने थलो बन्दै गएका छन् ।

यस्तै, जनसङ्ख्या घट्दै जाँदा खेतीयोग्य जमिन बाँझो पर्न थालेको छ । पहाडमा उत्पादन नहुँदा आत्मनिर्भर स्थानीय अर्थतन्त्र सङ्कटमा परेको दशरथचन्द नगरपालिका ३ का मोहन देब भट्टको भनाइ छ । ‘‘पहाडमा अब सोचेजस्तो अन्न फल्दैन, मल र पानीको सुविधा पनि छैन’’, भट्ट भन्नुहुन्छ, ‘‘खानेपानीका मुहान सुक्न थालेका छन् । नयाँ पुस्ता अब गाउँमा बस्न सक्दैन्न ।’’

यस्तै, युवाशक्ति हराउँदै जाँदा सामाजिक गतिविधिहरूमा पनि ठुलो असर परेको छ । ‘‘गाउँमा मलामी जान मान्छे पाउन गाह्रो भएको छ, पूजाआजा, मेलापर्वमा समेत रौनक हराएको छ ।’’, डिलाशैनीका  स्थानीय वृद्ध अक्कल रानाको गुनासो गर्नुभयो । राज्यले ग्रामीण विकासका लागि विभिन्न योजना ल्याएको भए पनि व्यवहारमा त्यो गाउँसम्म पुगेको देखिँदैन । पूर्वाधार र अवसरको अभाव, सेवा सुविधाको दूरीका कारण पहाडबाट बसाइँसराइँको लहर नरोकिएको पाटन नगरपालिका–३ का केशव बिष्टले बताउनुभयो ।

विकेन्द्रीकरण र समावेशी विकासका नाराहरूमा मात्रै सिमित नरही अब राज्यले पहाडी गाउँहरू जोगाउन विशेष रणनीति र कार्यक्रम ल्याउन जरुरी रहेको बिष्टले बताउनभयो ।

यसैगरी, यदि अहिले नै प्रभावकारी योजना लागू नगरेमा केही दशकमै नेपालका थुप्रै पहाडी बस्तीहरू मानचित्रबाट हराउने खतरा प्रष्ट रहेको सुर्नया–३ का ज्येष्ठ नगरिक ज्वोतिष लवदेव भट्टले बताउनुभयो ।