• १३ असोज २०८१, आइतबार

नाढीमन तालमा देखिन छाड्यो चहलपहल

blog

सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल । तस्बिर - जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ ३१ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित पर्यटकीय स्थल नाढीमन ताल पछिल्लो समय सुनसान देखिन थालेको छ । २०७२ साल चैतमा नेपाली सेनाले तालमा विभिन्न पर्यटकीय संरचना निर्माण गरी तत्कालीन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो । त्यसपछि तालमा डुङ्गा चढ्नेलगायत ताल अवलोकनका लागि पुग्नेहरु ह्वात्तै बढेका थिए । 

त्यही ताल अहिले भने सुनसान देखिन्छ । चन्द्रनगर गाउँपालिकाको मातहतमा आएको त्यस तालमा अवलोकनका लागि मानिसहरु जान छाडिसकेका छन् । बिग्रिएर लामो समय थन्काइएका बोटहरु केही साता अघिबाट सञ्चालनमा ल्याइएको थियो । तालमा डुङ्गा सञ्चालन हुँदा मानिसको चहलपहल केही थियो । 

चन्द्रनगर गाउँपालिका–६, का स्थानीय पुनीत पासवानले तालमा सञ्चालन हुने डुङ्गा बिग्रिएको लामो समयसम्म सञ्चालन नगर्दा र तालको सरसफाइसहित अन्य विकासमा ध्यान दिन नसक्दा ताल घुम्न आउनेहरु घटेको बताउनुभयो ।

“कोरोना सङ्क्रमणले गर्दा बीचमा ताल अवलोकनमा नै बन्देज लगाइयो, सङ्क्रमण सामान्य भएपछि पनि तालका डुङ्गाहरु मर्मत गरेर सञ्चालन गर्न वास्ता गरिएन,” पासवानले भन्नुभयो, “यसअघिका जनप्रतिनिधिले तालको विकासमा बेवास्ता गर्दा यस्तो अवस्था आएको छ । प्रदेशकै पर्यटकीय स्थल ओझेलमा परेको अवस्था छ ।” 

सुरुमा टाढा–टाढाका मानिसहरु ताल घुम्न आउँदा गाउँमा चहलपहल बढेपछि खुसी भएका स्थानीय अहिले निराश भएका छन् ।

सरकारले एकसयवटा उत्कृष्ट पर्यटकीय स्थलको रुपमा नाढीमन ताललाई समेत समेटेको छ । ५२ बिघामा फैलिएको यो ताल अहिले अतिक्रमणका कारण करिब ३२ बिघामा खुम्चिएको छ । 

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आफू भर्खरै निर्वाचित भएर आएको र आगामी दिनमा तालको विकासमा लागि पर्ने बताउनुभएको छ । “अहिले डुङ्गाहरु सञ्चालनमै छन्, तर तालको अवलोकनका लागि आउनेहरु कम छन्,” गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो, “हामी निर्वाचित भएर आएको दुई÷तीन हप्ताजति मात्रै भयो, अब तालको विकास हुने गरी काम गछौँ ।” 

नाढीमन ताल ओझेलमा परे पनि सर्लाहीमा अहिले बागमती नगरपालिकाले माछापालन गर्ने उद्देश्यले निर्माण गरिरहेको १२१ बिगाहको कृत्रिम तालमा भने मानिसको चहलपहल बढ्दो छ ।