• ३० जेठ २०८२, शुक्रबार

लसुन खाएर विश्व कीर्तिमान

blog

विश्व रेकर्ड अनेक छन् । कैलालीका भरत विष्टले ४२ वटा लसुनका पोटी एक मिनेटमा खाएर विश्व रेकर्ड बनाउनुभएको छ । घोडाघोरी नगरपालिका–२ (साबिक साढेपानी गाविस)का विष्टले २०७३ साल पुस १७ गते लसुन खाएर विश्व रेकर्ड राख्नुभएको हो । विद्यालय पढ्दादेखि नै सामान्य ज्ञानमा विशेष चासो राख्नुहुने विष्टले केही नयाँ काम गर्नु पर्छ भन्ने सोच राख्नुभएको थियो । विश्वका विभिन्न व्यक्तिले बनाएको नयाँ नयाँ कीर्तिमान पढ्दा रमाइलो लागेपछि आफूले नयाँ रेकर्ड राख्ने योजना बनाएको उहाँको भनाइ छ । “विद्यालय पढ्दादेखि नै सामान्य ज्ञानमा विशेष रुचि थियो । अरूले नयाँ नयाँ काम 

गरेको देख्दा म पनि केही गर्न सक्छु र नाम कमाउँछु भन्ने लाग्थ्यो त्यसको प्रभावले नै लसुन खाएर विश्व रेकर्ड बनाउन पुगेँ,” उहाँले भन्नुभयो । 

२३ वर्षको उमेरमा उहाँले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर विश्व कीर्तिमान बनाउनुभएको हो । उहाँले खाएका सबै लसुनको पोटीको लम्बाइ २.५ र चौडाइ १.५ सेन्टिमिटर थियो । उहाँले यसअघि अमेरिकी नागरिक फ्याट्रिक ल्याटीले एक मिनेटमा ३६ वटा लसुनको पोटी खाएर बनाएको रेकर्ड तोड्नुभएको हो । उहाँलाई विश्व रेकर्ड बनाउन रोहित तिमल्सिना, थानेश्वर गुरागाईं, चित्र कार्की र मनिष श्रेष्ठले विशेष हौसला दिनुभएको थियो । विश्व रेकर्ड राख्नुअगाडि उहाँले पटक पटक लसुन खाएर अभ्यास गर्नुभएको थियो । अभ्यसमा २९ वटा लसुनका पोटी खानुभएका विष्टले रेकर्ड राख्ने बेलामा ४२ वटा खानुभएको हो । यो फरक रेकर्ड राख्दा स्वास्थ्यमा कुनै समस्या नभएको उहाँको अनुभव छ ।  

कैलालीको दशरथ माध्यमिक विद्यालयबाट औपचारिक शिक्षाको सुरुवात गरेर २०६६ सालमा एसएलसी पास गर्नुभएका विष्टले टीकापुर बहुमुखी क्याम्पसबाट उच्च शिक्षा लिनुभयो । छोटो समय रेडियो कैलाली एफएममा काम गर्नुभएका विष्ट त्यसपछि निरन्तर १० वर्ष शिक्षण पेसामा आबद्ध हुनुभयो । 

कैलालीका विभिन्न निजी विद्यालयमा पढाउँदा प्राप्त गरेको ज्ञानलाई उपयोग गर्दै अहिले विष्टले व्यवस्थित पठन र लेखन सिपको प्रशिक्षण दिँदै आउनुभएको छ । विष्ट हातसँगै कुहिनो र मुखले समेत सुन्दर अक्षर बनाएर लेख्न सक्ने क्षमता राख्नुहुन्छ । उहाँ राम्रो लेखन सिपका लागि अक्षर संरचनामा ध्यान दिनुपर्नेमा जोड दिनुहुन्छ । 

”आकर्षक अक्षर बनाउनका लागि सबैभन्दा पहिला अक्षर संरचनालाई ख्याल राख्दै शीघ्र लेखन सिपमा ध्यान दिनु पर्छ । साथै आफ्नो पाठ्यवस्तुमा भएको अक्षर ढाँचालाई मानक मानेर नियमित अभ्यास गर्नु पर्छ,” उहाँ भन्नुहुन्छ । 

लेखन सिपसँगै उहाँले शैक्षिक उत्प्रेरक कार्यक्रमसमेत सञ्चालन गर्दै आउनुभएको छ । उहाँ व्यवस्थित पठन सिप र पाठ्यपुस्तकमा पढेका महत्वपूर्ण विषय कसरी लामो समयसम्म स्मरण गर्न सकिन्छ भनेर अभ्यास गराउँदै आउनुभएको छ । पढेको कुरा सम्झने उहाँका सुत्र छुट्टै छन् ।  

“पहिलो त विद्यार्थी कक्षाकोठामा जिज्ञासु बन्नु पर्छ, नजानेको कुरा शिक्षकलाई सोध्ने वा आधुनिक प्रविधिको सहायता लिने अभ्यासको विकास गर्नु पर्छ’, विष्ट स्मरणशक्ति बढाउने टिप्स दिँदै भन्नुहुन्छ, “बिहानीपख शारीरिक व्यायाम र योगमा ध्यान दिनु पर्छ । जुनसुकै काम भए पनि भोलि गर्छु भनेर राख्नु हुँदैन र पौष्टिक आहारमा ध्यान दिनु पर्छ ।”

विष्ट अब फेरि नयाँ विश्व रेकर्डको तयारीमा हुनुहुन्छ । उहाँले नयाँ विश्व रेकर्ड अमेरिकामा पुगेर राख्ने योजना बनाउनुभएको छ । विष्ट भन्नुहुन्छ, “यही वैशाखमा अमेरिकाको न्युयोर्कमा पुगेर उल्टोबाट शब्द पढेर नयाँ रेकर्ड बनाउने योजना बनाएको छु । एक मिनेटमा उल्टोबाट १३० शब्द पढ्ने योजना छ,” उहाँले योजना सुनाउँदै भन्नुभयो, “नेपाल र नेपालीको नाम विश्व रेकर्डमा राखेर पनि चिनाउन सकिन्छ भन्ने लक्ष्य राखेको छु ।”    

   मुना