काठमाडौँ, जेठ २७ गते । संयुक्त राष्ट्रसङ्घ (युएन) को महासभा कसरी सञ्चालन हुन्छ होला ? सभा सञ्चालनक्रममा के कस्ता गतिविधि होलान् ? त्यहाँको गतिविधिलाई नियाल्न पाउनु विश्वमा प्रतिष्ठित र आनन्ददायी क्षणमध्येमा पर्छ । धेरै युवाको सपना यसैमा अडेको पनि छ ।
राष्ट्रसङ्घको मुख्यालयमा नगए पनि त्यहाँभित्रको कार्यसंरचना र पदाधिकारी तथा कर्मचारीको झल्को दिने गरी युवालाई प्रशिक्षित गरिरहेको छ, नमुना संयुक्त राष्ट्रसङ्घ (मोडेल युएन) अभ्यास कार्यक्रमले । युएनको साङ्गठनिक संरचना, ती संरचनाको कार्यप्रकृति आदिबारे मोडेल युएन कार्यक्रमले युवालाई प्रत्यक्ष रूपमा संयुक्त राष्ट्रसङ्घको महासभामै सहभागिता जनाएको अनुभव दिलाइरहेको छ ।
साथै युवामा नेतृत्व क्षमताको विकास, कुनै पनि समस्याबारे कूटनीतिक तरिकाबाट समाधान गर्ने तथा समस्या समाधानका लागि अग्रसर बन्ने क्षमता विकास आदिबारे यस कार्यक्रमले तालिम प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय कूटनीति तथा प्रतिस्पर्धी क्षमता विस्तार गर्ने काम पनि मोडेल युएनले गर्दै आएको छ । पछिल्लो समय राष्ट्रिय युवा परिषद्को संयोजनमा विभिन्न सामाजिक संस्थाको सहकार्यमा मोडेल युएन कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालमा सन् २०२५ सम्ममा युएन मोडल कार्यक्रमको २५ औँ शृङ्खला समापन भइसकेको छ ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले कार्यक्रममार्फत युवामा राष्ट्रसङ्घीय अभ्यासबारे जानकारी प्रदान गर्ने गरिएको बताउनुभयो । साथै मोडल युएन कार्यक्रममार्फत दिगो विकास लक्ष्य, कूटनीतिक आयाम, साझा अन्तर्राष्ट्रिय सवाल, जलवायु परिवर्तन, मानव अधिकार, सुरक्षा परिषद्लगायतका विषयमा पनि युवालाई प्रशिक्षित गराउने गरिएको बस्नेतले बताउनुभयो ।
पछिल्लो समय यस्ता कार्यक्रमलाई संयुक्त राष्ट्रसङ्घले समेत मान्यता प्रदान गरेको छ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधिको समेत कार्यक्रममा उपस्थिति हुने गरेको बस्नेतले बताउनुभयो ।
हरेक वर्ष हुने यस्ता कार्यक्रममा युएनकै मोडलमा एक जना महासचिव तथा एक जना महानिर्देशक चयन गरिन्छ । साथै युएनका विभिन्न स्थायी समितिको झल्को दिने गरी युएनमा जसरी नै प्रतिनिधि चयन यही कार्यक्रममा गरिन्छ । हरेक सम्मेलनमा तिनै महासचिव र महानिर्देशकद्वारा सभा सञ्चालन गरिन्छ । सभामा विभिन्न मुलुकबाट सहभागी भए जसरी विद्यार्थीबाट त्यतिबेला जल्दोबल्दो भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा छलफल तथा बहस गरिन्छ । र अन्त्यमा घोषणापत्र सार्वजनिक गरेर सभा समापन गरिन्छ ।
काठमाडौँ विश्वविद्यालयका अध्यापक तथा संयुक्त राष्ट्रसङ्घको युवा तथा विद्यार्थी सङ्घका अध्यक्ष मदन राईले यस्ता अभ्यास कार्यक्रमले सहभागीलाई कूटनीतिक लेनादेना तथा संयुक्त राष्ट्रसङ्घको महासभा सञ्चालन पद्धतिबारे भरपूर जानकारी दिने बताउनुभयो । उहाँले भन्नुभयो, “युवालाई कूटनीतिक साक्षरता प्रदान गर्ने र भविष्यमा असल कूटनीतिज्ञ बन्न यस्ता अभ्यास फलदायी रहेको छ ।”
सन् २०२५ को राष्ट्रिय युवा परिषद् नमुना राष्ट्रसङ्घको महासभामा दिवससिंह खड्का महासचिव तथा अनुराधा थापा महानिर्देशक चुनिनुभएको थियो । सम्मेलनमा महानिर्देशकको भूमिका निर्वाह गर्नुभएकी थापाले यस्ता कार्यक्रम अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, नेतृत्व विकास र समस्या समाधानको विषयमा युवाले प्रशस्त ज्ञान हासिल गर्ने उपयुक्त थलो भएको बताउनुभयो ।
मोडल युएनको अभ्यास संयुक्त राष्ट्रसङ्घ स्थापना भएसँग सुरु भएको मानिन्छ । सन् १९४७ मा बेलायतको एक विश्वविद्यालयमा मोडल युएन अभ्यासको आयोजना गरिएको थियो । यद्यपि युएन स्थापना हुनुभन्दा अघि अस्तित्वमा रहेको लिग अफ नेसनको सङ्गठन संरचना रहेको बेलामा सन् १९२१ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पनि अहिलेकै शैलीमा नमुना अभ्यास हुने गरेको थियो ।