काठमाडौँ, जेठ २२ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा गत वर्ष एक्कासि आएको भेल पहिरोले सुन्दर हिमाली बस्ती थामे गाउँ क्षणभरमा स्वाहा भयो । २०७८ मा सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा पहाडबाट गेग्य्रानसहित खसेको बाढीले अस्वभाविक बितण्डा मच्यायो । यी दुई घटना पछिल्ला वर्षमा घटेका असामान्य प्राकृतिक प्रकोप मध्येका हुन् ।
जल तथा मौसम विज्ञान विभागले योे वर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरेको छ ।
यस वर्ष विपद्को जोखिम थप बढेको भएपनि स्थानीय निकायको पूर्वतयारी भने निकै फितलो देखिएको सरोकारवालाको भनाइ छ ।
कहाँ सार्ने जोखिमपूर्ण बस्ती ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले सोलुखुम्बुको क्षतिग्रस्त थामे गाउँको अवलोकन पश्चात् प्रतिवेदन जारी गरेको थियो । उहाँका अनुसार थामे गाउँमा अधिकांश घरहरू त्यहाँबाट सार्न प्राधिकरणले सुझाव दिइसकेको छ ।
उहाँले भन्नुभयो, “एउटा मोरिन् भन्ने ताल छ । त्यहाँबाट पानी निकालेर रिचार्ज गर्ने भन्ने कुराहरू गरेको अवस्था छ । यो अत्यन्तै खर्चिलो छ । थामेको हकमा मोनिटरिङ सिस्टम जडान गरिनुपर्छ भनेर सुझाव दिएका छौं । त्यो भयो भने त्यसले ताल फुट्न लाग्यो, पानी, बाढी आउँदैछ भन्ने कुरा देखाउँछ । थामेमा झण्डै ५० वटा घर क्षति हुनसक्ने आँकलन गरिएकोले भूगोलका हिसाबले अधिकांश घर त्यहाँबाट सारिनुपर्छ भनेका छौं ।”
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले बस्ती स्थानान्तरणका लागि उपयुक्त स्थान पहिचान हुन नसकेको बताउनुभयो ।
अध्यक्ष शेर्पाले भन्नुभयो, “बस्ती स्थानान्तरण गर्ने सुझाव मात्रै दिएर कहाँ भयो र ? कहाँ साने ? ठाउँ देखाउनपर्यो । विपद्मा साइरन राख्ने हो भने पनि अध्ययन गर्नुपर्यो । प्रक्रिया पुर्याउनुपर्यो । कुनै सामान थपक्क लगेर राखेजस्तो होइन ।”
स्थानीय तहमा कस्तो छ पूर्व तयारी ?
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका विपद् फोकल पर्सन अन्जना कार्कीका अनुसार मनसुनजन्य विपद्का लागि साइरन जडान, वर्षा मापन प्रणाली जडान तथा सतर्कताका लागि अटोमेटिक एसएमएस अलर्ट जडान गरिएको छ ।
उहाँका अनुसार सिन्धुपाल्चोकको मेलम्ची, बाहुनेपाटी, तालामाराङमा स्वचालित साइरन जडान गरिएको छ । खुला क्षेत्र निर्माण, विद्यालय, खानेपानी कार्यालय, आर्मी ब्यारेक लगायतका केही ठाउँलाई सुरक्षित स्थान भनेर छुट्याइएको छ ।
उहाँले भन्नुभयो, “बाढी, पहिरो गयो र मान्छेलाई सार्नुपर्यो भने सुरक्षित स्थानको सूची बनाएका छौं । हाम्रो विपद् व्यवस्थापन समितिबाट नै निर्णय भएको छ । राहत तथा उद्धारको सामाग्रीका लागि मेलम्चीमा अर्जेन्ट सामानहरू ब्लाङ्केट, लुगा, भाडाकुडाहरू स्टोर गरेका छौं । लोकल इमर्जेन्सी अपरेसन सेन्टर छ ।”
अघिल्लो वर्ष २०८१ को बाह्र महिनाको अवधिमा मनसुनजन्य विपद्का कारण ११ हजार १४८ परिवार प्रभावित भएको थियो । गत वर्ष मात्रै बाढीबाट ९९१, पहिरोबाट १८८४, भारी वर्षाबाट १३६ र चट्याङ्गबाट १२६२ जनाले ज्यान गुमाउनुपर्यो ।
विपद् विज्ञ एवम् पूर्व प्रमुख सेनानी रामहरि केसीले विपद्का अवस्थामा खासगरी, बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती तथा सुत्केरी महिला लगायतलाई मध्यनजर गरेर पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि नेपालको संविधानले स्थानीय सरकारलाई अधिकार प्रदान गरेको उहाँ बताउनुहुन्छ ।
उहाँले मनसुनजन्य विपद्का लागि स्थानीय तहमा योजनाबद्ध रूपमा पूर्वतयारी हुन नसकेको बताउनुभयो । कतिपय स्थानमा आपत्कालीन सञ्चालन केन्द्र स्थपना गरेको भए पनि यसको जिम्मेवारी र परिचालनमा स्पष्टता नदेखिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “इमर्जेन्सी अपरेसन सेन्टर छ भनेर देखाउनुहुन्छ । तर, कसरी परिचालन हुन्छ ? कसले परिचालन गर्छ ? को जिम्मेवार हुन्छ ? भन्ने किसिमको तयारी देखिएन । कुन ठाउँमा कति डुबान हुन्छ ? नयाँ बस्तीमा कति असर पर्छ ? कति जनता पीडित हुन्छन् ? भन्ने विश्लेषण पूर्वतयारीमा आउनुपर्छ ।”
उहाँले विपद्को पूर्वतयारी अग्रक्रियात्मकरूपमा हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सञ्चार, समन्वय र सहयोग अग्र–क्रियात्मक तयारी छैन । घटना घटिसकेपछि हामी के गर्न सक्छौं भन्ने खालको प्रतिक्रियात्मक रूपमा छ ।”
सहरी क्षेत्रमा डुबानको जोखिम
त्यसो त, मनसुनजन्य विपद्को असर हिमाली तथा पहाडी भू–भागमा मात्र नभइ पछिल्लो समय सहरी क्षेत्रमा समेत बढ्दै गएको छ । काठमाडौं उपत्यकाको कलङ्की, बल्खु, शङ्खमुल लगायतका क्षेत्रमा नै बर्सेनि बढ्दै गएको डुबानको विषय थप चिन्ताजनक छ ।
पानी तथा सहरी योजनाकार पद्मसुन्दर जोशीले हामीले विपद्बाट कहिल्यै पाठ नसिकेको बताउनुभयो । हरेक वर्ष विपद् पर्खनु र विपद्ले पुर्याएको क्षति सहनुबाहेक अरू काम हुन नसकेको उहाँको भनाइ छ ।
जोशीले भन्नुभयो, “विपद्लाई सहने अनि पर्खने हो । त्यो युएन पार्कमा गएको साल बाढीले संरचना भत्कायो । अब अहिले त्यतिकै साँघुरो बनाइसकेको छ । हामीले केही पनि सिकेका छैनौं । अलिकति निराशाजनक स्थिती छ ।”
उहाँले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएपछि स्वभाविक रूपमा सहरी क्षेत्रमा समेत डुबानको जोखिम बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ठुलो पानी परेपछि सहरी क्षेत्र पनि डुबानमा पर्छ नै । खोला सबै मिचेका छौं । ढल बनाएका छौं । पानी जानलाई बाटो त खोजिहाल्छ नि ! हामीले भूकम्प भुल्यौं । गत सालको बाढी पनि भुल्यौं । खासगरी, संरचनागत रूपमा नै तयारी हुनुपर्ने हो । त्यो नभइसकेपछि अगाडि के हुन्छ भन्दाखेरी पशुपतिनाथले रक्षा गरुन् भनेर बस्नु बाहेक अरू के उपाय छ र ?”
उहाँले मेलम्ची क्षेत्रको मात्र नभई कुनै पनि खोलाको किनारमा अहिले बस्ती बसिसकेको अवस्थामा बाढीको जोखिम रहेको बताउनुभयो । यसकारण, जोखिम न्यूनीकरणका लागि विषय विज्ञहरूले भू–उपयोग योजना बनाएर पूर्वतयारी गरिनुपर्ने उहाँको सुझाव छ ।
प्राधिकरणका सहसचिव बमले जोखिम तथा क्षति न्यूनीकरणका लागि हिजोका दिनमा खोज, उद्धार र पुर्नस्थापनामा बढी केन्द्रीत हुने गरेकोमा पछिल्लो समय पूर्वतयारीमा ध्यान दिनुपर्ने विषयमा जोड दिइएको बताउनुहुन्छ । यसका लागि प्रारम्भिक चेतावनी, जनचेतनाका कार्यक्रम, विपद् सञ्चार लगायतका क्षेत्रमा ध्यान दिइएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “हाम्रो हरेक ठाउँको हिमाल, पहाड र तराईमा भूगोल फरक छ । जलवायुको अवस्था फरक छ । हरेक ठाउँमा एकै प्रकृतिको मौसम नभएकाले कुन ठाउँमा समस्या हुन्छ भनेर यकिन गर्न सकिरहेका छैनौं ।”