सुनवल समाचारदाता
सुनवल, जेठ २१ गते । नवलपरासीपश्चिमको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ स्वीकृत गरेको छ । जिल्लाका सरोकारवाला सम्मिलित सोमबारको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ लाई अद्यावधिक गरी अनुमोदन गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले यस वर्षको मनसुनमा अत्यधिक वर्षा हुने प्रक्षेपण गरिएकाले सबै स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, विषयगत सरकारी कार्यालय, गैरसरकारी सङ्घ/संस्थासँग समन्वय गरी विपत्को पूर्वतयारीलाई चुस्त बनाई धनजनको क्षति हुन नदिने निर्णय गरिएको जानकारी दिनुभयो । बैठकमा सहभागीले नवलपरासी जिल्ला बाढीबाट बढी प्रभावित हुँदै आएकाले पूर्वतयारी र विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन जोड दिएका थिए । जिल्लाभित्र भएर बग्ने खोला तथा नाला सफाइ एवं निकासको व्यवस्थापन गर्न जरुरी रहेकोमा सहभागीले जोड दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशमा अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको भन्दै बैठकले सबै स्थानीय तहलाई मनसुनजन्य विपत्बाट प्रभावित र विस्थापित हुन सक्ने नागरिकलाई सुरक्षित साथ राख्न सक्ने स्थानको अविलम्ब पहिचान गरिराख्न आग्रह गरेको छ ।
जिल्लास्थित सबै स्थानीय तहले स्थानीय विपत् आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सुदृढ बनाई विपत्को समयमा सक्रिय रूपमा परिचालित गरी विपत्का घटनाको सूचना सङ्कलन, आदानप्रदान तथा उद्धारको कार्यमा समन्वय एवं सहकार्य गर्ने निर्णय गरेको छ । मनसुन अवधिमा बाढी तथा डुबानका कारण ठुलो जनधनको क्षति हुने सम्भावनालाई हेरेर सबै स्थानीय तहबाट स्थानीय विपत् व्यवस्थापन कोषमा यथेष्ट मौज्दात रकमको व्यवस्था गर्न जिल्लास्थित सबै स्थानीय तहलाई बैठकले अनुरोध गरेको छ ।
यस्तै बैठकले बाढी, पहिरो, चट्याङ, डुबान जस्ता विपत्का घटना र सोबाट हुन सक्ने सम्भावित जाखिमबाट बच्न र क्षति न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायबाट विद्यालय तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने निर्णय गरेको छ । विपत्का समयमा पीडित र प्रभावितका लागि आवश्यक पर्ने खाद्यान्न, औषधी सुरक्षित आश्रयस्थल, खानेपानी तथा सरसफाइको आवश्यक व्यवस्था तथा राहत वितरणमा एकद्वार प्रणालीको अवलम्बन गर्ने र विपत्का समयमा पानीजन्य रोगको सङ्क्रमण फैलिन सक्ने सम्भावना रहेकाले स्वास्थ्य कार्यालयबाट आवश्यक औषधीलगायतका स्वास्थ्य सामग्रीको प्रबन्ध गर्ने निर्णय गरेको छ ।