• २३ जेठ २०८२, शुक्रबार

घट्यो स्थानीय तहको अनुदान

blog

काठेखोला समाचारदाता

बागलुङ, जेठ २१ गते । बागलुङका स्थानीय तहको बजेट १८ करोड रुपियाँले घटेको छ । बागलुङका १० स्थानीय तहका लागि सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १८ करोड ११ लाख रुपियाँ घटाएर बजेट विनियोजन गरेको छ । जुन चालु आवको तुलनामा ३.८३ प्रतिशत कम हो । आगामी आवका लागि सङ्घीय सरकारबाट बागलुङलाई वित्तीय समानीकरण, ससर्त, विशेष र समपूरक अनुदान गरी चार अर्ब ५५ करोड ३६ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । चालु आव २०८१/८२ मा बागलुङका स्थानीय तहका लागि कुल चार अर्ब ७३ करोड ४७ लाख रुपियाँ बजेट प्राप्त भएको थियो ।

चालु आवको तुलनामा आगामी आव २०८२/८३ का लागि चार पालिकाको बजेट घटाइएको छ । जिल्लाका बडीगाड, काठेखोला, निसीखोला, तमानखोला, बरेङ र ताराखोला गाउँपालिकाको बजेट बढेको छ भने बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाको बजेट घटेर आएको छ । जेठ १५ गते सार्वजनिक भएको बजेटमा आगामी आवका लागि सबैभन्दा धेरै बागलुङ नगरपालिकाका लागि ९१ करोड ३५ लाख रुपियाँ विनियोजन भएको छ । आगामी आवका लागि पाएको बजेटको आकार चालु आवको तुलनामा २८ करोड ३१ लाख रुपियाँले कमी हो । चालु आवका लागि भने बागलुङ नगरपालिकाले सङ्घीय सरकारबाट एक अर्ब १९ करोड ६६ लाख रुपियाँ बजेट पाएको थियो ।

जैमिनी नगरपालिकाका लागि ५६ करोड ७८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ भने गलकोट नगरपालिकाका लागि भने ५३ करोड ४२ लाख रुपियाँ पाएको छ । आगामी आवमा ढोरपाटन नगरपालिकालाई ४१ करोड ५३ लाख रुपियाँ विनियोजन गरिएको छ । चालु आवमा गल्कोटले ४९ करोड आठ लाख रुपियाँ प्राप्त गरेको थियो भने ढोरपाटनले ५० करोड ४७ लाख रुपियाँ पाएको थियो ।

आगामी आवमा बागलुङका छ वटा गाउँपालिकाले सङ्घीय सरकारबाट दुई अर्ब १२ करोड २८ लाख रुपियाँ बजेट प्राप्त गरेका छन् । यो चालु आवको तुलनामा १० करोड ८१ लाख रुपियाँ बढी हो । बजेट बढेर आउनेमा सबैभन्दा धेरै बडीगाड गाउँपालिकाले आगामी आवका लागि ५५ करोड ४८ लाख रुपियाँ पाएको छ । चालु आवमा भने ५३ करोड ६४ लाख रुपियाँ पाएको थियो । काठेखोला गाउँपालिकालाई ४४ करोड ५५ लाख रुपियाँ र निसीखोला गाउँपालिकालाई ३६ करोड ८३ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । चालु आवका लागि यी दुई पालिकाले क्रमशः ४३ करोड छ लाख रुपियाँ र ३१ करोड ९० लाख रुपियाँ बजेट पाएका थिए ।