रमेश पौडेल
पोखरा, जेठ २१ गते । पछिल्ला दिनमा गण्डकी आयुर्वेद अस्पतालमा बिरामीको आकर्षण बढ्दै गएको छ । पर्वत निवासी ६६ वर्षीय उमाशङ्कर उपाध्याय (नाम परिवर्तन) २० वर्षदेखि जीर्ण घाउबाट पीडित हुनुहुन्छ । उहाँको घाउ विगत लामो समयदेखि कहिले निको हुने कहिले आफैँ बल्झिने गर्दछ । घाउमा थप सुधार ल्याउन आवश्यक जलौका अर्थात् जुकाको टोकाइबाट गरिने उपचार तथा अन्य आयुर्वेद उपचार सेवाका लागि उहाँ गण्डकी आयुर्वेद अस्पताल आउने गर्नुभएको छ । उहाँ विगत पाँच/छ दिनबाट उपचाररत हुनुहुन्छ । घाउमा सुधार भइरहेको र छिट्टै निको हुने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ ।
त्यस्तै पोखरा–२६ की ५८ वर्षीय श्यामा भट्टराई आमवात रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “मलाई आफन्तले यस अस्पतालबारे बताएपछि भर्ना भएर उपचार गराएको छु । एकदम आराम मिलेको छ ।” प्यारालाइसिसबाट पीडित ५० वर्षीय भगवती सिग्देलको हातखुटट नचल्ने, बोल्न नसक्ने, पिसाब नलीमार्फत पिसाब गराउने, आफन्त नचिन्ने समस्या लिएर उहाँका छोरा सुशील सिग्देलले यस अस्पतालमा आएर उपचार गराउँदा आफैँ पिसाब गर्न सक्ने, केही बोल्न सक्ने, आफन्त चिन्ने र आफैँ बस्न सक्ने हुनुभएको छ । सिग्देलले भन्नुभयो, “हामीले आमालाई सुरुमै यहाँ ल्याएको भए हुने रहेछ । अहिले आमाको स्वास्थ्यमा सुधार देख्दा मनमा हर्ष भइरहेको छ ।”
यस अस्पतालबाट उपचार गरी हाल घर फर्किएका स्याङ्जाका विष्णु पुरीले आफ्नो ढाड दुख्ने, धेरै बेर उभिन, हिँड्न नसक्ने समस्याका कारण इन्टरनेटमा भरपर्दो आयुर्वेद उपचारको खोजी गर्दा गण्डकी आयुर्वेद अस्पताल गएर उपचार गरेदेखि आफूलाई राम्रो भएको र केही समयपछि पुनः जाँच गराउन जाने बताउनुहुन्छ ।
उहाँहरू त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरू जस्तै विभिन्न शारीरिक, मानसिक समस्या भएका बिरामी दिनहुँ उपचारका लागि उक्त अस्पतालमा जाने गर्छन् तर बजेट अभावका कारण अस्पतालले विभिन्न समस्या झेल्दै आएको छ । करिब चार रोपनी क्षेत्रफलमा फैलिएको यस अस्पतालमा २५ शøया रहेकामा अहिले संरचना अभावले १० शय्या मात्र सञ्चालनमा रहेको अस्पताल प्रमुख डा. शङ्कर गौतमले जानकारी दिनुभयो । अस्पताललाई आवश्यक पर्ने संरचना अनुसार भौतिक पूर्वाधार, स्रोतसाधन र कर्मचारी अभाव रहेकाले महिला र पुरुषको उपचार कक्ष अलग अलग नहुँदा एकै ठाउँमा उपचार गराउन समस्या भइरहेको उहाँ बताउनुहुन्छ । औषधी भण्डारणको अभाव पनि रहेको उहाँले जानकारी दिनुभयो । डा. गौतमले भन्नुभयो, “सरकारी अस्पताल भएकाले पनि स्वास्थ्य बिमाको सुविधा हुन्छ होला भनेर बिरामी आउँछन् तर यहाँ स्वास्थ्य बिमाको भने सुविधा छैन । यो व्यवस्था लागु गराउन सके नागरिकलाई सुविधा हुने थियो ।”
गण्डकी प्रदेशको स्वामित्वमा रहेको यस अस्पतालमा हाल पाँच जना चिकित्सक चार जना नर्ससहित २० जना कर्मचारी कार्यरत रहेको डा. दीक्षा पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँको सेवा शुल्क न्यून रहेको भन्दै २० रुपियाँको टिकट र पछि फलोअपमा १० रुपियाँ लाग्ने गरेको छ । आवश्यक जडीबुटी पनि यहीँ उत्पादन हुन्छ ।”