• २३ जेठ २०८२, शुक्रबार

चोरमारा पुल आजबाट सञ्चालन गरिने

blog

नवलपरासी पूर्व (नवलपुरको) मध्यविन्दु नगरपालिकाको ७ र ८ नं. वडा जोड्ने गिरुवारी खोलाको पुल । तस्बिर : ज्ञानु पंगेनी

ज्ञानु पंगेनी 
मध्यविन्दु , जेठ २१ गते ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत चोरमारास्थित गिरुवारी खोला पुल मर्मत सकेर बुधबारबाट सञ्चालन गरिने भएको छ ।

नवलपरासी पूर्व (नवलपुरको) मध्यविन्दु नगरपालिकाको ं७ र ८ नं. वडा जोड्ने गिरुवारी खोलाको पुल वैशाख २९ गते राति बढी तौल बोकेको ट्रक गुड्दा भाँच्चिएको थियो ।

करिब २३ दिनपछि उक्त पुल मर्मत गरेर सञ्चालनमा ल्याउन लागिएको हो । उक्त पुल निर्माण गरिरहेको कम्पनी जलप नेपालका सञ्चालक तारा पौडेलले बुधबार साँझबाट यातायात सञ्चालन  हुने जानकारी दिनुभएको छ ।

भाँच्चिएको पुललाई  मर्मत गरेर आवतजावत गर्न मिल्ने बनाइएको पौडेलले जानकारी बताउनुभयो । पुलको संरचना तलबाट टेको लगाइ बलियो बनाइएको र माथिल्लो भागमा रहेको फलामको संरचना फेरेर पुनः मजबुत रूपमा गाँसिएको पौडेलले बताउनुभयो । दुई सय १६ मिटर लामो फलामे पुल ५२ वर्षअघि निर्माण गरिएको थियो ।

पुल भाँचिएपछि डाइभर्सन मार्फत सवारी सञ्चालन भइरहेको छ । यस क्षेत्रमा दिनहुँ जसो वर्षा भएका कारण हिलो र डाइभर्सन बगाउने समस्याले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । पुल सञ्चालन भएपछि यात्रुले केही भए पनि राहत पाउने छन् ।

पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्ड निर्माणाधिन अवस्थामा रहेका कारण यात्रा गर्न निकै असहज भइरहेको छ । त्यसमाथि एकपछि अर्को गर्दै पुल भाँच्चिएका कारण यात्रा थप कठिन बन्दै आएको छ । यस अघि छ महिना अघि  दुम्कीबासस्थित विनयी खोलामा रहेको फलामे पुल पनि भाँच्चिएको थियो । उक्त पुल अझैसम्म पनि मर्मत हुन सकेको छैन । त्यहाँ डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको छ । केही दिन अघि  विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा तीन दिनसम्म जाम भएको थियो ।