नेपालमा सयौँ वर्षदेखि केही नेपालीलाई नेपालीले होचो अर्घेलो देख्ने, हेप्ने, तिरस्कार गर्ने जुन सामन्ती सोच र चिन्तन थियो, त्यो खराब चिन्तनमा केही वर्षदेखि न्यूनीकरण हुँदै गएको अनुभव गर्न थालिएको छ । समाजमा सम्मान गर्नुपर्ने शिल्पी जातजातिका मानिसलाई अछुत भनेर सामन्ती समाजले विगतमा जुन विभेदको सुरुवात गरेर पछाडि पारेको थियो त्यो अपराधको भागी हामी सबै हौँ । विगतमा हाम्रा पुर्खाले गरेको अन्याय, अत्याचार र थिचोमिचोको कर्जा हामीले सम्मान गरेर ब्याजसमेत तिर्न सक्नु पर्छ । यो आज युगको माग हो । समस्त दलितमाथिको न्यायको आवाज हो ।
आफ्ना दाजुभाइ दिदीबहिनीमाथि आफ्नै दाजुभाइ दिदीबहिनीले गरेको त्यस्तो उपेक्षा र विभेद देख्दा मलाई सानैदेखि मन ज्यादै कुँडिएको भान हुन्थ्यो । हाम्रा घरमा लुगा सिउने मिसिन लिएर दसैँमा लुगा कपडा सिउनका लागि आउने दर्जी बालाई हामी सम्मानजनक शब्द प्रयोग गथ्र्यौं । दर्जीबा पनि हामीलाई साना भनेर सम्मानजनक सर्वनाम प्रयोग गर्नुहुन्थ्यो । विशेष गरी सबै जातजातिका मानिसलाई हेप्ने, होच्याउने र अपमानजनक शब्द प्रयोग गर्नेविरुद्ध हाम्रा बा सातो बुकाउनुहुन्थ्यो । दर्जी बालाई हाम्रा बाले एकदिन भन्नुभएको थियो, “दर्जी दाइ, आफूलाई ठुलो जात भन्नेहरूले तपाईंलाई तँ तिमी भने भने तपाईंले पनि उनीहरूलाई तँ तिमी नै भनिदिनुहोला । त्यसपछि मात्र समाजमा सकारात्मक परिवर्तन आउँछ ।” हाम्रा बाका कुरा सुनेर दर्जी बा हाँस्नुभएको कुरा आज पनि सम्झिरहेको छु ।
हाम्रा घरभित्र कुकुर बिराला पस्न पाउने तर आफ्नै दाजुभाइ दिदीबहिनी पस्न नपाउने कुराले सधैँ चिमटिरहन्थ्यो । मानिसले आफू जस्तै मानिसलाई किन त्यसरी अपहेलना गरेको हो ? सबैको रगत उस्तै छ, सोच र चिन्तन त्यस्तै छ, सबैमा भोक प्यास, दुःख वेदना पनि समान खालको छ तर मानिस मानिसमा किन विभेद भनेर म आफ्ना अभिभावकसित असन्तोष पोख्थेँ । आरआर क्याम्पसमा पढाउँदाको कुरा सम्झिरहन्छु, बिए तेस्रो वर्षमा अध्ययन गर्ने मेरी एक जना छात्राले एक दिन मलाई उनको विवाहको निम्तो दिइन् । मैले केही कुरा सोधेपछि उनले भनिन्, “दमाईसित बिहे गर्ने भएँ नि सर, हाम्रो बिहेमा आएर आशीर्वाद दिनु पर्छ है । हाम्रो समाज परिवर्तनका लागि हामीले विद्रोह नगरे कसले गर्ने ?” उनको यो भनाइलाई मैले न्यानो समर्थन जनाएँ । समाजका यस्तै युवाले यस्तो विभेदको खियालाई खुर्कीखार्की पारेर सधैँका लागि फ्याक्नु पर्छ । त्यस विवाहमा गएर मैले सुखद दाम्पत्य जीवनको आशीर्वाद दिएँ । आज उनीहरूको दाम्पत्य जीवन निकै सुमधुर, खुसी, सुखी र प्रेमपूर्ण छ ।
नेपालमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस हरेक वर्ष जेठ २१ गते मनाउने गरिन्छ । संसारको जुनसुकै ठाउँमा हुने गरेका जातीय भेदभाव, रङ्गभेद, जातीय आधारमा हुने विभेद तथा छुवाछुत जस्ता अमानवीय सोचको समूल अन्त्यका लागि जनचेतना फैलाउने उद्देश्यले यो दिवस नेपालमा मनाउन थालिएको हो । सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको शार्पभिल भन्ने ठाउँमा रङ्गभेदविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका निहत्था प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा ६९ जना मारिए र सयौँ घाइते भएका थिए । यही घटनाको स्मरणमा संयुक्त राष्ट्रसङ्घले सन् १९६६ देखि यो दिनलाई जातीय भेदभाव उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन सुरु गरेको हो । यसको मूल उद्देश्य आमजनतामा हुने गरेका विभेदका रेखाहरूलाई मेटेर एउटा समतामूलक समाज निर्माणका लागि जनचेतनाको अभिवृद्धि गर्नु हो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश हो, जहाँ ऐतिहासिक रूपमा छुवाछुत तथा जातीय भेदभावले समाजका सबैभन्दा बढी मेहनती, बढी सिप र शिल्प भएका आफ्नै समाजका अति महìवपूर्ण समुदायलाई ठुलो सामाजिक, आर्थिक तथा राजनीतिक रूपमा पछाडि पारिएको छ । अबका दिनमा यी पछाडि पारिएका शिल्पी समुदायलाई राज्यले विविध क्षेत्रका अवसर प्रदान गरेर इतिहासदेखिको क्षतिपूर्ति दिन कन्जुस्याइँ राज्यले कुनै कसर बाँकी राख्न हुँदैन । जुन शिल्पीले एउटा ढुङ्गालाई ईश्वरको स्वरूप दिन्छन्, ती शिल्पीको सिर्जना मन्दिरमा देवता वा देवी भएर बस्ने अनि ती स्रष्टाले आफ्नो सिर्जनालाई छुन हेर्न र पुज्न नपाउने हस्यास्पद चलनलाई अहिले होइन पहिले नै तोड्नु पर्दथ्यो । अबका दिनमा समाजका सबै तह र तप्कामा जनचेतनाको बिगुल फुकेर यस तुच्छ विभेदलाई अन्त्य गर्न ढिलाइ गर्नु हुँदैन ।
नेपालको अन्तरिम संविधान, २०६३ ले नेपालमा छुवाछुतको कुप्रथालाई विधिवत् रूपमा गैरकानुनी घोषणा गरेको छ । २०६८ सालमा छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन लागु गरियो । यो ऐन लागु भएपछि यस क्षेत्रमा केही सुधारका सङ्केत देखिएका छन् । यस कानुनको प्रादुर्भावपछि हाम्रो समाजमा धेरै परिवर्तन भएको छ । यस कुराको आँकडा भविष्यमा आउने नै छ । सङ्घीय राजधानी काठमाडौँलगायत सहरी क्षेत्रमा जातीय विभेदको त्यति प्रभाव नभए पनि मुलुकका ग्रामीण क्षेत्रमा वर्तमान युगमा पनि विशेष गरी शिल्पी समुदायका व्यक्तिले दैनिक रूपमा सामाजिक बहिष्कार, हिंसा तथा विभेदको सामना गरिरहनु परेको छ । यस विभेदले हाम्रो देशको निदारमा कलङ्कको कालो टीको लागेको तितो महसुस भएको छ । शिल्पी समुदायलाई दलित समुदाय भनिन्छ । पहाडिया दलित र मधेशी दलित सबै यही शब्दभित्र समेटिएका छन् । दलितभित्र पनि तीव्र रूपमा भएको विभेद आजसम्म पनि छ । छुवाछुतको विभेद अन्त्य गर्न युवा जागरुताको खाँचो छ ।
छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउनुको प्रमुख कारण नै नेपाली समाजमा हुने जातीय भेदभाव, छुवाछुत जस्ता अमानवीय असभ्यताको अन्त्यको माग गर्नु हो । दलितभित्र वा दलित बाहिरको समाजमा पाइने भेदभाव अन्त्य गर्नु आवश्यक छ । नेपालका सबै जातजाति धर्म, वर्ण र सम्प्रदायका मानिसहरूमा समानता, न्याय र मानव अधिकारको सुनिश्चितताको शङ्खघोष गर्नु यसको अर्को मूलभूत ध्येय हो । सामाजिक विभेदलाई जरैदेखि उखेलेको मूला झैँ उखेलेर पर फ्याँकी नेपाली समाजमा सामाजिक समावेशीकरण र सबै समुदायबिच सद्भाव, भाइचाराको भावको समुचित विकास गर्नु यस दिवसको प्रमुख ध्येय हो ।
नेपाली समाजका यी शिल्पी समुदायका बालबालिकादेखि वयस्कसम्मलाई राज्यले निःशुल्क शिक्षा, स्वास्थ्य र आवासको व्यवस्था मिलाउन कन्जुस्याइँ गर्नु हुँदैन । दलित वा शिल्पी समुदायका युवामा शिक्षाको भरपुर विकास हुने हो भने विभेद समुद्रमा एक थोपो रगतको अस्तित्व नभए जस्तै भविष्यमा हराएर जाने कुरामा विश्वस्त हुन सकिन्छ । एक जना परियार थरकी महिला डाक्टर हुनुहुन्छ । उहाँले म दमाईकी छोरी हुँ भन्नमा मलाई कुनै पछुतो नभएर गौरव छ, मेरो परिवार र समुदायले भोगेको दुःख, पीडा र घृणा मैले आफैँ पनि विगतमा अनुभूत गरेकी छु, भन्नुभएको कुरा सामाजिक सञ्जालमा भाइरल बनेको कुरा यहाँ उल्लेखनीय ठहर्छ । उहाँ डाक्टरसाहेबबाट प्रेरणा लिएर हरेक शिल्पी समुदायका व्यक्तिहरूले आफ्नो समुदायप्रति लज्जित बन्ने होइन आत्मगौरव गर्ने प्रवृत्तिको यत्रतत्र सर्वत्र विकास हुन थाल्यो भने यस क्षेत्रमा रहेको विभेद स्वतः समाप्त हुने कुरामा कुनै शङ्का रहँदैन ।
नेपालमा भएका सबै जातजाति, धर्म, वर्णका सबै मानिस बराबर हुन्, कसैमाथि छुवाछुतको विभेद गर्दै नगरौँ । मुलुकमा सबै समुदायका मानिसका लागि मानव अधिकार समान हुन्छ, मानव अधिकार सबैका लागि हो । विगतमा कोरिएको विभेदका रेखाहरूलाई सधैँका लागि मेटेर स्वतन्त्रता, समानता र न्यायका लागि सबै तह र तप्काबाट आवाज बुलन्द गरौँ । क्षेत्रीय, जातीय, लैङ्गिक विविधतामा रमाउँदै हामी सबै नेपाली एउटै फूलबारीका थरीथरीका फूल हौँ । हामी एउटै थालीमा रङ्गीचङ्गी अक्षताहरू हौँ । हामीले यही माटोमा आपसका विभेदहरूलाई हटाएर सुन्दर भविष्यको निर्माण गर्न सकौँ । अनि यो जातीय भेदभाव उन्मूलनका दिशामा नवीन कदम हुने छ ।