• ३ असार २०८१, सोमबार

कालीगण्डकी क्षेत्रमा विमानस्थल निर्माणका लागि अवलोकन

blog

रेखीराम राना

पाल्पा, जेठ ३० गते । पाल्पा, स्याङ्जा र तनहुँ जिल्लाका बासिन्दालाई मध्यनजर गर्दै विमानस्थान निर्माण गर्न स्थान छनाेटको काम सुरु भएको छ । तीन जिल्ला समेटिएको कालीगण्डकी क्षेत्रमा विमानस्थल आवश्यकता महसुस गरी विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अवलोकन थालिएको हो । 

पाल्पा, स्याङ्जा र तनहँ जिल्लामा पर्ने गण्डकी बेँसी क्षेत्रका जनतालाई सहज रुपमा हवाई सेवा प्रदान गर्न भन्दै नागरिक उड्ययन प्राधिकरणले सम्भावित स्थानको अवलोकन सुरु गरेको हो । कालीगण्डकी बेँसी क्षेत्रमा बढ्दो शहरीकरणसँगै हवाई सुविधाको माग विगतदेखि नै उठिरहेको छ । 

यस क्षेत्रका जनप्रतिनिधि तथा नागरिक उड्ययन प्राधिकरणका कर्मचारीसहितको टोलीले चापाकोट नगरपालिका र रामपुर नगरपालिकाका सम्भावित स्थानको अवलोकन गरेको छ । उक्त टोलीले रामपुर नगरपालिका वडा नं. ६ को विट्टार, वडा नं. १० को कुमाल गाउँ र चापाकोट नगरपालिका ८ को मचेडाँडाकोस्थलगत अवलोकन गरेको प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपानेले बताउनुभयो । 

न्यौपानेले धावनमार्गका लागि एक हजार पाँच सय मिटर लम्बाइ र तीन सय मिटर चौडाइ भएको स्थान उपयुक्त हुने उहाँले बताउनुभयो । विमानस्थल निर्माणको लागि सरकारी वन, व्यक्तिको जग्गा नभएको स्थान उपयुक्त हुने टोलीले ठहर गरेको छ । विमानस्थल निर्माणका लागि रामपुर र चापकोट नगरपालिकाले सहयोग गर्ने जनाएका छन् । यस क्षेत्रमा विमानस्थलको अवश्यकता रहेको बताउँदै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्राधिकरणलाई आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।