महाभारत पर्वत शृङ्खलाको फेदीमा फैलिएको छ, पनौती । नाला, बनेपा हुँदै बग्ने पुण्यमती र फुलचोकी डाँडातर्फबाट आएको रोशीखोलाको सङ्गममा रहेको पनौती इतिहास, पुरातत्व, सम्पदा, संस्कृति र प्रकृतिले धनी छ । काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पनौती पर्यटकीय हिसाबले महत्त्वपूर्ण गन्तव्य हो ।
हाँडीगाउँको मानेश्वरी, ललितपुरको हरसिद्धि, भक्तपुरको नवदुर्गा गण जस्ता सांस्कृतिक पर्व, परम्परा पनौतीसँग अन्तरसम्बन्धित छन् ।
नेवारी परिकार परम्परामा यःमरी उच्च स्थानमा छ । यःमरीको उद्भव स्थलसमेत मानिन्छ, पनौती । त्यहाँ यःमरीको स्तम्भ नै बनाइएको छ । त्यहाँका पाहुनाघरमा हरेक दिन यःमरी पाक्छ । बाह्रबर्से मकरमेलाले पनौतीलाई धार्मिक गन्तव्यका रूपमा समेत परिचित बनाएको छ ।
पनौतीवरपरका गाउँबस्तीले कृषि र पर्यटनमा उन्नति हुँदै छ । तिनै बस्तीको बिचमा पनौती छ । पनौतीवरिपरिका डाँडा यतिबेला रिसोर्ट र होटेलले भरिन थालेका छन् । कुशादेवी, शङ्खु, बल्थली, चामखर्कका गोरेटा, देउराली, भन्ज्याङ र चौतारीमा पर्यटक देखिन थालेका छन् । पनौतीनजिकै पूर्वतर्फको अर्काे पर्यटकीय केन्द्र हो, नमोबुद्ध । बौद्ध धर्म सम्प्रदायका लागि मात्र होइन; आममानिसका लागि घुम्नैपर्ने स्थलका रूपमा रहेको छ, नमोबुद्ध ।
त्यहाँबाट श्यामपाटी हुँदै थोरै पूर्वतिर अघि बढ्दा दाप्चाबजार पुगिन्छ । पुरानो व्यापारिक थलोका रूपमा रहेको दाप्चा कोटकिल्ला, पुरातात्त्विक सम्पदा र संस्कृतिले भरिपूर्ण छ । पहाडको टापुमा नेवार बस्ती, पुरातात्त्विक मठमन्दिर, जात्रापर्व, नेपाली शैलीका पुराना घर नै दाप्चाको परिचय हो; जहाँ घुम्नका लागि हिजोआज मनग्गे पर्यटक पुग्ने गरेका छन् । फुर्सद भयो कि दाप्चा पुग्ने पनौतीका फोटो पत्रकार प्रशान्त श्रेष्ठ भन्नुहुन्छ, “दाप्चा पुगेपछि बन्दीपुर बिर्साउँछ ।”
पनौती र मकरमेला पर्याय जस्तै लाग्छ । हरेक १२ वर्षमा मकरमेला लाग्छ । आध्यात्मिक तथा धार्मिक दृष्टिले पनौतीको त्रिवेणीघाटमा उत्तर प्रयागका रूपमा प्रत्येक १२ वर्षमा माघमा एकमहिने मकरमेला लाग्छ । पनौतीको वास्तविक नाम ‘पन्ती’ भएको जानकारको भनाइ छ । पनौती पर्यटन केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार नेपाल भाषामा ‘प’ भनेको बाँस र ‘ती’ भनेको राख्नु वा गाड्नु हो । अपभ्रंश हुँदै त्यसको नाउँ पनौती हुन गएको अध्यक्ष कर्माचार्यको बुझाइ छ ।
नेपाली भाषामा पला=पाइला र ती=राख, यसको पूर्ण अनुवाद ‘पाइला राख’ भन्ने हुन्छ । मल्लकालमा काठमाडौँ तथा रोसी उपत्यकाका मानिसमा पुण्यभूमिमा पाइला टेके मोक्ष प्राप्त हुने विश्वास अनुसार यहाँ पाइला राख्न आग्रह गर्ने हेतुबाट तत्कालीन मल्ल राजाले स्थानको नाम नै ‘पलाती’ राखेको किंवदन्ती छ ।
सम्पदाका हिसाबले त्रिवेणीघाट, इन्द्रेश्वर सम्पदा क्षेत्र, धनेश्वर मन्दिर, भालेश्वर, गोरखनाथ मन्दिर पनौतीमा छन् । पनौती जात्रा, गाईजात्रा, नमोबुद्धजात्रा, घण्टाकर्ण, हरिसिद्धि, नवदुर्गा नाच, माधवनारायण पर्वले पनौतीलाई जात्राको सहरका रूपमा स्थापित गरेको छ । त्यसो त पनौतीमा पाटीपौवासमेत प्रशस्त छन् । पनौतीलाई पर्यटकीय सुन्दरता प्रदान गर्न पाटीपौवा, डबली, चैत्य, ढुङ्गेधारा, इनार, वनजङ्गल, खोलानाला, स्मारक, गुम्बा, विहारले ठुलो महत्त्व खेलेको छ ।
४० भन्दा बढी हिन्दु तथा बौद्ध मन्दिर र २८ भन्दा बढी ठुला चाडपर्व पनौतीमा छन् । पनौतीलाई परापूर्वकालमा पञ्चवा, पाञ्चाल, पनवती, पनाती, पुन्तुरी, पलाती आदि नामले पुकारिन्थ्यो ।
पनौतीका साहित्यकार सूर्यप्रसाद लाकोजूले हरेक १२ वर्षमा मकरमेला लाग्ने पनौतीवरपरका डाँडाकाँडामा महाभारतकालीन पञ्चपाण्डवले गुप्तबास बसेको पुष्टि हुने आधार भएको आफ्ना पुस्तकमा उल्लेख गर्नुभएको छ । द्रोपदा मन्दिर, सहुरानी वन, सलन्दु बगर मूर्त एवं अमूर्त सम्पदाहरू पनौतीवरपर रहेका छन् ।
भनिन्छ, भूकम्प नजाने सहर हो– पनौती । एउटै ढुङ्गामाथि अडिएको पनौतीलाई १९९० र २०७२ सालको भूकम्पले खासै असर गरेन । तथापि २०८१ असोज १२ को बाढीले पनौतीआसपासको क्षेत्र तहसनहस बनायो ।
खोजकर्ता बमबहादुर अधिकारीले मिथिलाका राजा जनक र कुशध्वजको शासनकालीन सभ्यता, सिम्रौनगढको तलेजुजात्रा, भक्तपुरको बिस्केटजात्रा र ललितपुरको हरिसिद्धिजात्राका संस्कृतिहरू पनौतीमा पाइने कुरा आफ्नो जर्नलमा उल्लेख गर्नुभएको छ ।
ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा क्षेत्र मानिन्छ । चराको बारेमा अध्ययन गर्नेका लागि यो ठाउँ निकै महत्त्वपूर्ण छ । पटक पटक गरिएका अध्ययनमा यो क्षेत्रमा २८० प्रजातिका चरा फेला परेपछि यसलाई ‘चरा हब’ का रूपमा विकास गरिएको हो ।
भक्तपुर राज्यको अधीनमा रहनुपूर्व तथा एकीकरणपूर्व पनौती सहरको एकल स्वतन्त्रता थियो । प्राचीनकालदेखि स्वतन्त्र अस्तित्वमा रहेको पनौती सहर मध्यकालमा आएर भक्तपुर राज्य अन्तर्गत रह्यो र यसको स्वतन्त्रता अपहरण गरियो । सत्ययुगमा महादेव र पार्वतीले चर्चेको पनौती क्षेत्र किराँतकालीन शैव सम्प्रदायसँग सम्बन्धित छ; जहाँ लीलावती र सुखश्रवा नामक दुई नदीको सङ्गममा रहेको गन्धर्व तीर्थस्थलमा सतीदेवीको निधार पतन भएको थियो । पनौती भ्रमणमा आउने नेपाली तथा भारतीय पर्यटक प्रायः गौतम ऋषिकी पत्नी अहिल्याको सोधीखोजी गर्छन् ।
सत्ययुगमा पनौती
पनौतीको इतिहास सत्ययुगसँग जोडिएको छ । पनौतीमा सुनाइने कथा अनुसार समुद्र मन्थनमा कालकुट विषबाट छट्पटिएर कैलाश फिर्ती सवार महादेवसँग फर्किएका मन्दराचल पर्वतका नेती वासुकी नाग कुञ्ज पर्वत (फूलचोकी) बाट भगवतीमाईको आग्रहमा पार्वतीको सहायताले पनौती समृद्धिका लागि बहेको लीलावती (लक्ष्मी) र स्वर्गका अप्सराका उपवासबाट प्रसन्न हुनुभई मनमाया पर्वत (तपोवन) अर्थात् रत्नागिरि पर्वत हालको नगरकोटबाट बहेर आएका पुण्यमाताको सङ्गममा राज हुनुभयो ।
त्रेतायुगमा पनि यसको चर्चा छ । ज्ञान प्राप्तिका लागि लीलावती र पुण्यमाताको दोभानमा तपस्या गरिबसेका गौतम ऋषिपत्नी अहिल्याको रूपमा लोभिएका स्वर्गका राजा इन्द्रले छल गरी व्यभिचार गरेका थिए । त्यो दृश्य देखेका ऋषिको श्रापले अहिल्या रातो ढुङ्गामा परिणत भइन्; जुन अहिले इन्द्रेश्वर मन्दिरको उत्तरपूर्वमा रहेको छ ।
त्रेतायुगमा पवित्र भूमि (पनौती) मा एक महामानव राजकुमारका रूपमा जन्म भएका महासत्वले हिरण्यगिरि गन्धमान पर्वतमा हिंस्रक जनावर बघिनी र पाँच वटा डमरुलाई आफ्नै शरीर उत्सर्ग गरी बोधिसत्व प्राप्त गरी नमोबुद्धको नामले प्रसिद्धि पाएको इतिहास पनौतीसँग छ ।
द्वापरयुगमा यसको महत्व धेरै छ । नागराज वासुकीले राज गरेको; गौतम ऋषिले तपस्या गरेको; स्वर्गका राजा इन्द्रले लीलावती, पुण्यावती र रुद्रावती नदीको सङ्गम त्रिवेणीमा स्नान गरी मोक्ष प्राप्त गरेको पवित्र तीर्थस्थल उत्तमधाममा हरेक दिन स्नान गर्न द्वापरयुगमा राजा विराट् आफ्नो निवास (हालको खोपासी तल्लो बजार) बाट ४० घोडेबग्गीमा सवार गर्ने किंवदन्ती छ ।
कलियुगमा पनि यो तपोभूमि हो । यस युगको पूर्वार्ध लिच्छविकालमा राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त र ज्यापूश्री ललितसँग कामारु कामाक्ष गएका वासुकी नाग, करुणामय मच्छिन्द्रनाथ ल्याएपछि पाटनका ज्यापूसँगै गएर शङ्खमूल घाटमा बस्न गएका र पनौतीको ज्याःपुन्ही (जात्रा) को चार दिनपहिले हुरीपानीसँग आउने र जात्रा सकेपछि त्यसरी नै फर्कने जनविश्वास अहिलेसम्म कायम छ ।
त्रिवेणीमा हिन्दुहरूको उत्तमधाम बनाउन केदारनाथ, बद्रीनाथ, रणमुक्तेश्वर, पञ्चमुक्तेश्वर, राधा, कृष्ण, रुक्मिणी, दुई तह जलाधारसहितको शिवलिङ्ग, वासुकी नाग, ब्रह्मायणी, सितलामाई, वंशगोपाल, रामलक्ष्मण, सङ्कटानारायण, मत्स्यनारायण, चारनारायण आदि देवदेवीका मूर्ति र मन्दिर स्थापना भएका छन् । भारतस्थित चारधाम जान नसक्ने/नमिल्नेहरू यस त्रिवेणीधामलाई नै चारधाम तीर्थका रूपमा स्वीकार गरी सोही बराबरको आत्मिक एवं मानसिक सन्तोष र पुण्य मिलेको सुखानुभूति प्राप्त गर्छन् ।
चराको चिरबिर
ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा क्षेत्र मानिन्छ । चराको बारेमा अध्ययन गर्नेलाई यो ठाउँ निकै महत्वपूर्ण देखिएको छ । पटक पटक गरिएका अध्ययनमा यो क्षेत्रमा २८० प्रजातिका चरा फेला परेपछि ‘चरा हब’ का रूपमा विकास गरिएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका, काभ्रेको पनौती र ललितपुरको महालक्ष्मी तथा गोदावरी नगरपालिकाले सो क्षेत्रलाई ‘चरा हब’ का रूपमा विकास गर्न साझा अवधारणा अघि बढाएका छन् । त्यसका लागि त्यहाँका पर्यटन व्यवसायी पनि उत्सुक देखिएका छन् ।
केही वर्षअघिसम्म काठमाडौँ उपत्यकामा मात्रै पाँच सयभन्दा धेरै प्रजातिका चरा पाइन्थे । यतिबेला त्यो सङ्ख्या घटेर दुई सयको हाराहारीमा आइपुगे पनि उपत्यकासँग जोडिएको गोदावरी फुल्चोकी क्षेत्रमा अझै धेरै सङ्ख्यामा चरा पाइने भएकाले ‘चरा हब’ का रूपमा विकास गर्न सकिने संरक्षणकर्मी मनोज पौडेलले बताउनुभयो ।
काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा दहमा आउने चराको सङ्ख्यामा कमी आए पनि फुल्चोकी तथा रानीकोट क्षेत्र चराका लागि अझै पनि उत्कृष्ट बासस्थान रहेको पछिल्ला अध्ययनहरूले देखाएका छन् ।
यो क्षेत्रमा नेपालमा मात्रै पाइने काँडेभ्याकुर जस्ता विशेष महत्व बोकेका चरा पाइने चराविज्ञको दाबी छ । चराको संरक्षणसँगै पर्यापर्यटनलाई बढावा दिने पनौतीमा ‘नेचर गाइड’ तालिम प्रदान गरिसकिएको छ ।
‘साइकल ट्रेल’
फुलचोकी डाँडादेखि काभ्रेको पनौती नगरपालिका–२, गुर्दुमडाँडासम्म साहसिक ‘साइकल ट्रेल’ निर्माण गरिएपछि ‘साइक्लिङ’ गर्नेका लागि नयाँ ‘ट्रेल’ थपिएको हो । पनौती नगरपालिका–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीका अनुसार अरू ‘साइकल ट्रेल’ भन्दा यो निकै भिन्न छ । रोचकताले भरिपूर्ण यो ट्रेल विश्वकै उत्कृष्ट छ । अहिले यो क्षेत्रमा साइकल चलाउन आउनेको सङ्ख्या निरन्तर बढेको छ ।
‘रक क्लाइम्बिङ’
तोरीखोरियास्थित नयाँगाउँ रातोपहरामा व्यावसायिक रूपमा साहसिक खेल ‘रक क्लाइम्बिङ’ सुरु गरिएको छ । काठमाडौँबाट नजिक काभ्रेपलाञ्चोकको पनौतीनगरस्थित बसपार्कबाट पश्चिमतर्फ नौ किलोमिटर दुरीमा व्यवस्थित गरिएको उक्त ‘रक क्लाइम्बिङ’ को सुरुवातले नेपालको पर्यटन क्षेत्रमा थप नयाँ गन्तव्य थपिएको व्यवसायीको विश्वास छ । एक पटकमा आठ जना ‘क्लाइम्बर’ चढ्न सक्ने गरी रातोपहरामा ‘रक क्लाइम्बिङ’ निर्माण गरिएको नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घले उल्लेख गरेको छ । साहसिक खेलमा रुचि राख्नेले उक्त क्षेत्रमा पुगी ‘रक क्लाइम्बिङ’ गर्न सक्ने छन् । जर्मनीबाट ल्याइएको एक हजार ‘बोल्ड’ किला ‘रक क्लाइम्बिङ’ का लागि पहराका भित्तामा गाडिएका छन् । यसको सहारामा डोरीको माध्यमबाट ५० मिटरभन्दा धेरै ‘रक क्लाइम्बिङ’ गर्न सकिन्छ । १० लाख रुपियाँबाट हाल ‘रक क्लाइम्बिङ’ पुग्ने स्थानसम्म पदमार्ग तथा पूर्वाधार तयार गरिएको छ । ‘बेस वाल’ निर्माणलगायतका पूर्वाधार निर्माण गर्न बाँकी छ ।
‘प्याराग्लाइडिङ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई कुशादेवी–फुल्चोकी क्षेत्रमा ‘प्याराग्लाइडिङ’ (मनोरञ्जनात्मक उड्डयन) सञ्चालनको अनुमति दिएपछि परीक्षण गरी उडान थालिएको छ । दैनिक १० ‘प्याराग्लाइडिङ’ ले बिहान १० देखि अपराह्न ४ बजेसम्म उडान अनुमति पाएको छ । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबिलिटी’ रहने जनाइएको छ । गुर्दुमडाँडाबाट सुरु गरिने ‘प्याराग्लाइडिङ’ उडान कुशादेवीको बन्चरेटारमा झर्ने छ । गुर्दुमडाँडाबाट बन्चरेटार सडक दुरीका हिसाबले चार किलोमिटर हो । ‘प्याराग्लाइडिङ’ को दुरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार ३५० मिटर उचाइमा छ । झर्ने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ ।
लेउको परिकार
खोलाखालीका ढुङ्गामा लाग्ने लेउको स्वादिलो परिकार पनौतीमै चाख्न पाइन्छ । पनौतीका पहाडवरिपरि बग्ने ससाना ठाडाखोलामा पाइने लेउ साँच्चिकै स्वादिलो हुने भएकाले पाँचतारे होटेलसम्म पुग्ने गरेको छ ।
कात्तिकदेखि फागुनसम्मका पाँच महिनासम्म घाम लाग्ने सफा उच्च प्रवाहमा बग्ने पानीको ढुङ्गामा टाँसिएर रहने सिमाली त्यही लेउ हो । असला माछाको जस्तै स्वाद हुने यो लेउ एक हजार पाँच सयदेखि दुई हजार मिटर उचाइका खोलामा पाइन्छ । नेपालमा ९९८ प्रकारका लेउ पाइन्छन् ।
खोलाको ढुङ्गामा पाइने लेउलाई स्थानीयले सङ्कलन गरी बिस्कुन सुकाउने मान्द्रामा राखेर करिब आठ इन्चको वर्गाकार पापड बनाउने गर्छन् । पापडलाई राम्रोसँग घाममा सुकाएर भण्डारणपछि रुचि र स्वाद अनुसार फरक फरक परिकार बनाइन्छ ।
स्थानीयले घरायसी प्रयोजनसँगै सिमाली लेउ बेचेर आयआर्जन गरिरहेका छन् । वनस्पतिविद् डा. मोहनलाल वनर्जीले सन् १९५५ मा ‘जर्नल अफ दी बम्बे नेचुरल हिस्ट्री सोसाइटी’ मा प्रकाशन गर्नुभएको लेखमा सिमाली इन्द्रचोकको बजारमा पाइने उल्लेख छ । त्यसैलाई पछ्याउँदै ६२ वर्षपछि सन् २०१७ मा राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा त्यसको अनुसन्धान सुरु भएको थियो तर यो अहिले लोप हुने अवस्थामा पुगेको छ ।
पनौती पर्यटन केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार असला माछा लोप हुने अवस्थामा पुगेसँगै सिमाली पनि लोप हुने अवस्थामा पुगेको छ । असला माछाको मुख्य आहार नै सिमाली रहेकाले त्यसको स्वाद असला माछाको जस्तै हुन्छ ।
उहाँका अनुसार २०५५ सालसम्म स्थानीय मास्के धउ बाज्याले राणा र राजाको दरबारसम्म सिमाली लगेर बेच्ने गर्नुहुन्थ्यो । उहाँको निधनपछि पनौतीबाट सिमाली दरबारमा जान छाडेको हो ।
वनस्पति विभाग प्रयोगशाला ललितपुरले गरेको अध्ययन अनुसार सिमालीमा प्रोटिन, कार्बाेहाइड्रेट, बोसो, रेसा, क्षार र फलाम तत्व पाइन्छ । तिहारमा सो क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइलाई तेलमा तारेर पापड बनाए जस्तै गरी बनाएर सिमाली दिने प्रचलन पनि विद्यमान छ । तथापि सिमालीको संरक्षण र प्रवर्धनमा स्थानीय तहले खासै चासो र चिन्ता गरेको देखिँदैन ।
पानीमा बढिरहेको प्रदूषण नै सिमाली लोप हुने अवस्थामा पुग्नुको प्रमुख कारण हो । सिमाली पाइने क्षेत्रमा क्रसर उद्योग स्थापना भएसँगै पानी धमिलो हुन थालेपछि सिमालीको अस्तित्व मेटिने अवस्थामा पुगेको हो । पनौतीका स्थानीय विवेक भट्टराईले ढुङ्गाखानीका कारण रोसीको पानी प्रदूषित हुँदै जाँदा सिमाली लेउ सङ्कटमा पर्दै गएको बताउनुभयो ।
पनौती सङ्ग्रहालय
अनगन्ती सम्पदा, देवीदेवताका मठमन्दिर, मूर्ति, पवित्र तीर्थस्थल र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पनौती नेपालको खुला सांस्कृतिक सङ्ग्रहालय नै हो ।
संरक्षित स्मारक क्षेत्र संरक्षण समितिको प्रयास र पनौती नगरपालिकाद्वारा घोषित स्मारक क्षेत्र पनौतीलाई उजागर गर्ने सोच र विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा थप टेवा पु¥याउन यहाँ फ्रेन्च एकीकृत आयोजनाबाटै निर्माण गरिएको सानो सङ्ग्रहालय छ । पनौती सङ्ग्रहालय विकासको क्रममै छ । सङ्ग्रहालय भवन विस्तार गर्न आवश्यक छ । अहिलेको सङ्ग्रहालय पनौतीको अपार धर्म, संस्कृति र परम्परालाई उजागर गर्न पर्याप्त छैन ।
सङ्ग्रहालयले २०६७ सालदेखि ‘भिजिटर रेकर्ड’ समेत राख्दै आएको छ तर पर्यटक आगमन बाक्लो बनाउन पुरातत्व विभाग, पनौती नगरपालिका, स्मारक समितिसँगको समन्वयलाई अझै बलियो बनाउनुपर्ने देखिन्छ ।
सङ्ग्रहालय सामानले भरिएको छ । सङ्ग्रहालयका लागि पुराना सामान दिएर सहयोग गर्नेको नामै लेखेर राखिएको छ ।
इन्द्रेश्वर मन्दिरपरिसरभित्र रहेको सङ्ग्रहालय सांस्कृतिक र धार्मिक मान्यता जोगाउने प्रयासमा स्थापना भएको हो । विभिन्न किसिमका पत्थर र काठमा कुँदिएका कलाकृति, देवीदेवताका मुखुन्डो, दैनिक प्रयोग गरिने पुराना सरसामान र अन्य थुप्रै सरसामान सङ्ग्रहालयमा राखिएको छ । यही सङ्ग्रहालय अहिले पनौती चिनाउने माध्यम बनेको छ ।
‘हेरिटेज पासपोर्ट’
पनौतीमा पर्यटकलाई ‘हेरिटेज पासपोर्ट’ को सेवा सुरु भएको छ । पर्यटकलाई नगरमा भएका पर्यटकीय क्षेत्रबारे जानकारी प्रदान गर्न सहजताका लागि पनौती पर्यटन विकास केन्द्रले पर्यटकलाई ‘हेरिटेज पासपोर्ट’ को अवधारणा ल्याएको हो । पासपोर्टमा भएको ‘क्युआर कोड’ स्क्यान गरेर पर्यटकले पनौतीमा भएका ऐतिहासिक सम्पदा क्षेत्रबारे जानकारी लिन पाउने छन् ।
यसबाट पर्यटकीय, धार्मिक, ऐतिहासिक एवं पुरातात्त्विक क्षेत्रबारे जानकारी दिने अभ्यास नेपालमै पहिलो पटक गरिएको दाबी केन्द्रको छ ।
पनौतीबारे थप जानकारी दिन पर्यटकलाई ‘हेरिटेज गाइड बुक’, ‘हेरिटेज म्याप बुक’ उपलब्ध गराइने गरिएको छ । सो बुकमा नगर क्षेत्रमा भएका पर्यटकीय, धार्मिक, ऐतिहासिक एवं पुरातात्त्विक क्षेत्रको मार्गनिर्देशनबारे उल्लेख छ ।
सम्पदामैत्री घर
ऐतिहासिक नगरपालिका पनौतीमा सम्पदामैत्री घर बनाउने अभियानलाई निरन्तरता दिइएको छ । विविध जटिलताका कारण रोकिएको सम्पदामैत्री घर निर्माणको कामलाई नगरले निरन्तरता दिएको हो । वडा नं. ७ स्थित पुरातात्त्विक क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्दै आइएको छ । पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न स्थानीयले प्रक्रियाका लागि पहल गर्न नगरपालिकालाई सुझाव दिएका थिए । त्यसपछि विभिन्न जटिलता समाधान गरी सम्पदामैत्री घर पुनर्निर्माण गर्न थालिएको वडाध्यक्ष सबिन ताम्राकारले उल्लेख गर्नुभयो । सम्पदामैत्री घर निर्माण गर्न स्थानीयको पुर्जामा देखिएको क्षेत्रफलको विषय तथा पुरातत्व विभागको मापदण्ड अनुसार निर्माण गर्ने विषयमा देखिएको विवाद समाधान भएको छ । यससँगै संरक्षित क्षेत्र अन्तर्गत ऐतिहासिक पनौती सहरमा पुरातत्व विभागले दिएको मापदण्ड अनुसारको पुरानो शैलीमा निजी आवास बनाउन नगरले ७ नं. वडाका केही स्थानीयलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग पनि गरेको थियो ।
पनौती घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्य तथा पनौतीको महत्वबारे जानकारी दिने उद्देश्यले ‘पर्यटक सूचना केन्द्र’ स्थापना गरिएको छ । केन्द्रले पनौतीमा आउने पर्यटकलाई पनौतीमा रहेका पुरातात्त्विक, सांस्कृतिक तथा ऐतिहासिक विषयको जानकारी दिनुका साथै पनौतीआसपासका पर्यटकीय गन्तव्य, प्राकृतिक गन्तव्य, होटेल, रिसोर्ट तथा घरबास (होमस्टे) का बारेमा जानकारी दिने छ ।
केन्द्रले पनौतीमा आउने पर्यटकका लागि घुम्नुपर्ने पनौतीभित्रका सांस्कृतिक सम्पदा (३३ वटा मन्दिर) तथा त्यहाँसम्म पुग्ने पनौती सांस्कृतिक पदमार्गको नक्सासमेत तयार गरेको छ । पनौतीमा वार्षिक आन्तरिक र बाह्य गरेर करिब १२ हजार पर्यटक आउने गरेकामा ‘होमस्टे’ तथा होटेलको सुविधा थप भएसँगै त्यो सङ्ख्या दोब्बर भएको जनाएको छ ।
होटेल र ‘होमस्टे’
पनौतीमा होटेलको सङ्ख्या बढेका छन् । पछिल्लो समय पनौतीको बल्थली, कुशादेवी, चामखर्क, शङ्खु, बतासे र पनौतीमै होटेल र ‘होमस्टे’ को सङ्ख्या वृद्धि भएको छ । करोडौँ रुपियाँको लगानीका होटेलदेखि समुदायमा आधारित ‘होमस्टे’ पनौतीमा छन् ।
पनौतीका हिमशृङ्खला हेर्न, पदमार्गबाट यात्रा गर्दै आनन्द लिन, ‘साइक्लिङ’ गर्दै मज्जा लुट्न अनि सवारीसाधनबाट सोझै पनौती पुग्न सकिने कुनै विकल्प रोज्दै एक दिनको गन्तव्य बनाउन चाहनेका यो ठाउँ आकर्षक छ । यहाँका हरेक होटेल र ‘होमस्टे’ सुविधासम्पन्न छन् ।
पनौती पर्यटन केन्द्रका अनुसार पनौतीमा एक दर्जन ठुला होटेल सञ्चालनमा छन् । साना र मझौला होटेल पनि पनौतीमा छन् । आधा दर्जन होमस्टे पनौतीमा सञ्चालनमा छन् । एक दिनमा सयौँ पर्यटकलाई पनौतीका होटेलले धान्न सक्ने केन्द्रले जनाएको छ ।