• १२ असार २०८१, बुधबार

गुल्मीमा जेसिबी पल्टिदा चालकको मृत्यु

blog

रमेश विश्वकर्मा/गुल्मी समाचारदाता
गुल्मी, जेठ २७ गते ।
गुल्मीमा जेसिबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छातर्फ आउँदै गरेको लु१क ४७७१ नम्बरको जेसिबी सडकदेखि करिब पाँच सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

दाङको शान्तिनगर गाउँपालिका–१ का अन्दाजी ३३ वर्षीय चालक यज्ञ वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

जेसिबी छत्रकोट गाउँपालिका–२, रातापानीस्थित घुर्मीदेखि लुम्छातर्फ आउँदै गर्दा बिहीबार राति करिब ११ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिनुभयो । शुक्रबार बिहान ९ बजे मात्रै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगतै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक नवराज भट्टराई र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक यमलाल बन्जाडेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको खरेलले जानकारी दिनुभयो ।

बिहीबारै गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–३ मा सडक मर्मतका क्रममा जेसिबीले फालेको ढुङ्गाले लागेर विद्यालय जाँदै गरेका मुसिकोट नगरपालिका–२ अर्मझाका १४ वर्षीय  बालक गगन रायमाझीको मृत्यु भएको थियो ।