• २९ फागुन २०८२, शुक्रबार

पूर्व नगर प्रमुख थापाको निधनमा आइतबार पोखरा महानगरमा शोक बिदा

blog

पोखरा महानगरपालिका भवन ।

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन २९ गते । पोखरा महानगरपालिकाका पूर्व प्रमुख एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्ण थापाको असामयिक निधनप्रति शोक व्यक्त गर्दै महानगरपालिकाले चैत १ गते आइतबार मातहतका सबै कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पूर्व प्रमुख थापाको निधनले महानगरलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । शोक स्वरूप एक दिन महानगरपालिकाका सम्पूर्ण प्रशासनिक र मातहतका कार्यालयहरू बन्द रहने भए तापनि स्वास्थ्य संस्था, फोहरमैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवा भने सुचारु रहने महानगरले जनाएको छ । यसैगरी, विद्यालयका पूर्वनिर्धारित परीक्षाहरू पनि यथावत् सञ्चालन हुने प्रस्ट पारिएको छ ।

६५ वर्षीय थापाको बिहीबार दिउँसो कास्की क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा बैठकमा आफ्नो धारणा राखिसकेलगत्तै हृदयघात भएको थियो । उहाँलाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्वर्गीय थापाका छोरा अध्ययनका क्रममा भारतमा र भाइ बेलायतमा रहनुभएकाले उहाँहरू आएपछि मात्र अन्त्येष्टि गरिने भएको छ । एमाले कास्कीका सचिव दर्शन लामाका अनुसार छोरा शुक्रबार आइपुग्ने र भाइ शनिबार बेलायतबाट आइपुगेपछि शनिबार नै अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

थापा वि.सं. २०५४ मा पोखरा उपमहानगरपालिकाको प्रमुख (मेयर) निर्वाचित हुनुभएको थियो । एमाले कास्कीका इन्चार्ज समेत रहनुभएका उहाँ वि.सं. २०७४ मा गण्डकी प्रदेश सभा सदस्य बन्नुभएको थियो । २०७९ को स्थानीय निर्वाचनमा पोखरा महानगरको प्रमुख पदका लागि एमालेका उम्मेदवार बन्नुभएका थापा झिनो मतान्तरले पराजित हुनुभएको थियो । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कास्की–२ बाट उम्मेदवारका रूपमा चर्चामा रहनुभएका थापा पार्टीको केन्द्रीय राजनीतिमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । स्वर्गीय थापाका श्रीमती र एक छोरा हुनुहुन्छ ।