सिराज खान
नेपालगन्ज, फागुन २९ गते । बाँकेको जानकी गाउँपालिकास्थित भिखारीपुर्वा–पार्वतीपुर क्षेत्रको नहरमा कत्था उद्योगबाट निस्कने फोहोर पानी विसर्जन गरिँदा स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न भएको छ । उद्योगले प्रशोधन नगरी सिधै नहरमा फालेको दुर्गन्धित र कालो पानीका कारण मानव स्वास्थ्य मात्र नभई पशुचौपाया र कृषि बालीमा समेत नकारात्मक असर परेको हो ।
जानकी–५ का स्थानीय शिया यादवका अनुसार राँझा नहरबाट बनिया गाउँ हुँदै इलाका प्रहरी कार्यालय खजुराखुर्द नजिकको नालासम्म बग्ने पानी अत्यन्त प्रदूषित बनेको छ । "नहरको पानी कालो र गन्हाउने भएपछि दैनिक जीवन कष्टकर बनेको छ," यादवले भन्नुभयो, "यो पानीका कारण पशुपन्छी बिरामी पर्न थालेका छन् भने सिँचाइ गर्दा अन्नबाली समेत सप्रिन छाडेको छ ।"
जानकी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एवं प्रवक्ता टिकानाथ यादवले यसलाई गम्भीर समस्याका रूपमा लिँदै तत्काल समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले जनस्वास्थ्यमा खेलबाड गर्ने गरी उद्योगले गरेको यस्तो कार्यलाई तत्काल नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले जनस्वास्थ्य र वातावरणसँग जोडिएको यस विषयमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले घटनाको सत्यतथ्य छानबिन गरी दोषी पाइएमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले स्थानीयबाट प्राप्त गुनासोका आधारमा अनुगमन टोली गठन गरी वास्तविक अवस्था बुझ्ने तयारी भइरहेको जानकारी दिनुभयो । वातावरणीय मापदण्ड विपरीत कार्य भएको पाइएमा सम्बन्धित उद्योगलाई नियमन र कारबाहीको दायरामा ल्याइने उहाँले स्पष्ट पार्नुभयो ।
स्थानीय बासिन्दाले भने दुर्गन्धका कारण बस्तीमा बस्न सक्ने अवस्था नरहेको भन्दै तत्काल प्रभावकारी अनुगमन गरी प्रदूषण रोक्न माग गरेका छन् ।